३० किलोमिटर रुसी सीमाभित्र पसेर युक्रेनी सेनाको आक्रमण

३० किलोमिटर रुसी सीमाभित्र पसेर युक्रेनी सेनाको आक्रमण

एजेन्सी : युक्रेनी सेना रुसको ३० किलोमिटर भित्र पसेको छ।

फेब्रुअरी २०२२ मा युद्ध सुरु भएयता युक्रेन पहिलो पटक रुसमाथि हावी भएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ।

शुक्रबारसम्म, रुसले युक्रेनी सीमा क्षेत्रमा कम्तिमा २५० वर्ग किलोमिटर क्षेत्र गुमाइसकेको समाचारमा उल्लेख छ। युक्रेनी सेनाको अर्को लक्ष्य रुसी सहर सुदजा हो।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा युक्रेनी सैनिकले भवनहरूबाट रुसी झण्डा हटाइ आफ्नो देशको झण्डा राखेका छन्।

युक्रेनी आक्रमण रोक्न रुसले प्रयास जारी राखेको छ। सेनाले टोलपिनो र ओब्ची कोलोड्जेको रुसी गाउँमा युक्रेनी सेनासँग लडाइँ गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ।

रुसको कुर्स्क क्षेत्रमा छैटौं दिन पनि युक्रेनी आक्रमण जारी छ। रुसले यस क्षेत्रमा अगस्ट ८ मा संकटकाल लगाएको थियो।

प्रतिवेदनका अनुसार २४ घण्टामा युक्रेनी सेनाले कुर्स्क क्षेत्रमा दुईवटा ठूला फोर्टिफिकेशन लाइनहरू ध्वस्त पारेको छ, जसलाई निर्माण गर्न रुसले १७ करोड डलर खर्च गरेको थियो।

लडाइँ भइरहेको क्षेत्र कुर्स्क आणविक प्लान्ट नजिकै छ। यो पावर प्लान्ट रूसको सबैभन्दा ठूलो आणविक प्लान्टहरू मध्ये एक हो।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)का प्रमुख राफेल ग्रोसीले आणविक दुर्घटना रोक्न प्रयास गरिनुपर्ने बताएका छन्। यदि कुनै दुर्घटना भए यसको गम्भीर परिणाम हुने उनको चेतावनी छ।

अमेरिकाको टाइम्स म्यागेजिनले यो घटनाको बारेमा लेख्दै रसियामा युक्रेनी सेनालाई निकै सानो सफलता मिलेको भए पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि यो लज्जास्पद अवस्था भएको उल्लेख गरेको छ।

रुसी समाचार एजेन्सी टासका अनुसार युक्रेनी सीमा नजिक बसोबास गर्ने ७६ हजार मानिसलाई सुरक्षित क्षेत्रमा पठाइएको छ।

युक्रेनी सेना अगस्ट ६ मा कुर्स्क क्षेत्रमा प्रवेश गरेको थियो। रुसले मंगलबार ट्याङ्क र आर्टिलरीसहित करिब १ हजार युक्रेनी सैनिक कुर्स्कमा प्रवेश गरेको बताएको छ।

रुसभित्र युक्रेनी सैनिकको तस्बिर र भिडियो बाहिर आएपछि पनि युक्रेनी अधिकारीहरूले रुसको सीमा पार गर्ने विषयमा मौन बसेका छन्।

साउन २७, २०८१ सोमबार १०:३७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।