राशिद खानको बलमा पोलार्डको लगातार पाँच छक्का
एजेन्सी : वेस्ट इन्डिजका पूर्व अलराउन्डर र हाल मुम्बई इन्डियन्सका सहायक प्रशिक्षक किरोन पोलार्डले राशिद खानमाथि लगातार पाँच छक्का प्रहार गरेका छन्।
द हन्ड्रेडमा ट्रेन्ट रकेट्स विरुद्धको खेलमा पोलार्डले सदर्न ब्रेभ्स टिमका लागि पाँच छक्का प्रहार गरेका हुन्। पाँच छक्कासँगै उनको टोलीले खेल दुई विकेटले जितेको थियो।
पोलार्डले इनिङ्सको १७औं सेटमा पाँच छक्का हानेका हुन्। त्यतिबेला ब्रेभ्सको टोली ८० बलमा ६ विकेट गुमाएर ७८ रनमा बनाएर खेलिरहेको थियो। पोलार्ड पनि संघर्षरत थिए। उनले पहिलो १४ बलमा ६ रन मात्र बनाउन सकेका थिए।
त्यसपछि भने पोलार्डले राशिदको पाँच बलमा लगातार पाँच छक्का प्रहार गर्दै ब्रेभको आशालाई पुनर्जीवित गरेका थिए।
उनले राशिदको गुगलीमा दुई छक्का लगाउँदा इनकमिङ बलमा एक, लङ अफमा दुई र एक्स्ट्रा कभरमा एक छक्का प्रहार गरे। पोलार्डको विस्फोटक ब्याटिङसामू राशिद निरीहजस्तै बने।
पोलार्ड २३ बलमा ४५ रन बनाएर रनआउट भए पनि क्रिस जोर्डनले एक बल बाँकी रहँदा चौका प्रहार गर्दै टोलीलाई जित दिलाए। यो जितसँगै ब्रेभ्स अंक तालिकाको शीर्ष स्थानमा रहेको ओभल इन्भिन्सिबलसँग बराबरी भएको छ।
पोलार्डले यो उपलब्धि पहिलो पटक हैन। यसअघि उनले मार्च २०२१ मा पनि श्रीलंका विरुद्धको टी-२० मा अकिला धनञ्जय विरुद्ध लगातार ६ छक्का प्रहार गरेका थिए।
साउन २७, २०८१ सोमबार १०:०४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।