ग्लोबल टी-२० लिगमा रोहितआबद्ध टोरोन्टोले जित्यो उपाधि
काठमाडौं : क्यानडामा जारी ग्लोबल टी-२० लिगको उपाधि टोरोन्टो नेशनल्सले जितेको छ।
आइतबार राति भएको फाइनल खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध रहेको टोली टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।
यद्यपि रोहित भने दुई खेलमा बाहेक प्लेइङ ११ मा परेनन्। फाइनल खेलमा पनि उनी प्लेइङ ११ मा थिएनन्।
९७ रनको लक्ष्य टोरोन्टोले मात्र २ विकेटको क्षतिमा ३० बल बाँकी हुँदै पूरा गरेको हो। टोरोन्टोका लागि आन्द्रिस गोसले ५८ र रासेइ भान डेर दुसेनले ३० रन बनाए।
मोन्ट्रियलका अजमतुल्लाह ओमर्जाई र कोर्बिन बोशले एक/एक विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको मोन्ट्रियलले ९ विकेट गुमाउँदै जम्मा ९६ रन बनाएको थियो। जसमा कोर्बिनले सर्वाधिक ३५ रन बनाउँदा जसकरण सिंहले १६ र अनुप रविले १० रन बनाए।
टोरोन्टोका जसन बेहरेन्डोर्फ ३, रोमारिओ शेफर्डले २, जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्दरपाल मथारुले एक/एक विकेट लिए।
नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आवद्ध भएको टोली भने लिगको अन्तिममा रहँदै बाहिरएको थियो।
साउन २७, २०८१ सोमबार ०७:२८:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।