सञ्चारमन्त्री गुरुङ भन्छन् ‘आदिवासी जनजातिहरूले सत्ता राजनीति बुझ्दैनन्’

सञ्चारमन्त्री गुरुङ भन्छन् ‘आदिवासी जनजातिहरूले सत्ता राजनीति बुझ्दैनन्’

काठमाडौँ : सूचना तथा सञ्चार, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिको आन्दोलनलाई कमजोर बनाउन विभिन्न षड्यन्त्र गरिएको दाबी गरेका छन्।

आइतबार काठमाडौँमा आयोजित आदिवासी जनजाति पत्रकार महासङ्घको रजत समारोहमा बोल्दै उनले जनजातिको आन्दोलनलाई कमजोर बनाउन थारु समुदायलाई अलगै अधिकार दिने नाममा अलग गराइएको र आन्दोलनलाई टुक्रा टुक्रा गर्न आदिवासीहरूलाई भ्रममा पार्ने खेल भएको दाबी गरे।

‘आदिवासी जनजातिको आन्दोलनलाई कमजोर बनाउन थारु समुदायलाई अलग्गै अधिकार दिने नाममा थारु आयोग बनाइयो। त्यति मात्र होइन आदिवासी जनजातिका नेताहरूलाई छिन्नभिन्न बनाइयो,’ उनले दाबी गरे ‘सशक्त आदिवासी आन्दोलनलाई टुक्रा टुक्रा गर्ने काममा सुनलाई पित्तल भनिदियो भ्रममा परे आदिवासीहरू। जसले आन्दोलनलाई सशक्त पार्यो त्यसलाई गद्दार भनेर घोषित गर्ने काम भयो।’

उनले  आदिवासी जनजातिहरू पहिले देखिनै बहिस्कार र भेदभावमा परेको समुदाय भएकाले उनीहरूले  सत्ता र राजनीति नबुझ्ने दाबी गरे।

उनले आन्दोलनमा हुनेहरूभित्र सङ्कीर्णता  र सरकारमा हुनेहरूभित्र अहङ्कार रहेको भन्दै शोषण, दमन र उत्पीडनबाट मुक्ति हुने पहिचानको आन्दोलन धेरै कठिन पूर्ण रहेको बताए।

‘आदिवासी जनजातिहरू भनेको मूलधारबाट अलगअलग भएका समुदायहरू हुन्। पहिलेदेखि नै बहिस्कारमा, भेदभावमा परेको समुदाय हो। त्यो त्यसैले सत्ता राजनीति धेरै बुझ्दैनन्। उनीहरूभित्र धेरै ठुलो सङ्कीर्णता छ । जो यस्तो खालको आन्दोलनमा हुन्छ उनीहरूभित्र सङ्कीर्णता हुन्छ र जो सरकारमा हुन्छ उनीहरूमा अहङ्कार हुन्छ,’ उनले दाबी गरे।

साउन २६, २०८१ आइतबार २२:२५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।