संसदीय समितिले कार्यान्वयन नै गर्न नसकिने निर्देशन दिने गरेको राष्ट्रिय सभा सचिव सचिव डा.सुरेन्द्रको दाबी

संसदीय समितिले कार्यान्वयन नै गर्न नसकिने निर्देशन दिने गरेको राष्ट्रिय सभा सचिव सचिव डा.सुरेन्द्रको दाबी

काठमाडौं : राष्ट्रिय सभा सचिव सचिव डा.सुरेन्द्र अर्यालले संसद् र संसदीय समितिहरूले दिएको निर्देशन सरकारले पूर्ण कार्यान्वयन नगरेको बताएका छन्।

आइतबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै डा.अर्यालले समितिले अव्यवहारिक र कार्यान्वयन गर्नै नसकिने निर्देशन दिने गरेको दाबी समेत गरे।

‘संसद् र संसदीय समितिले दिएको निर्देशन कार्यान्वयनको अवस्था नाजुक छ। चार-पाँच वर्षभन्दा पहिले संसदीय समितिले दिएको निर्देशनको कार्यान्वयनको अवस्थाबारे अध्याय गरेका थियौँ। ३० प्रतिशत पूर्ण कार्यान्वयन, ५० प्रतिशत आंशिक कार्यान्वयन र अधिकांश निर्देशनहरू कार्यान्वयन नहुने देखिएको थियो’ उनले भने। उनले अहिलेको अवस्था पनि यो भन्दा फरक नभएको बताए।

संसदीय समितिले दिएका निर्देशन कार्यान्वयन नहुने गरी दिइने वा अव्यवहारिक र कार्यान्वयन गर्नै नसकिने गरी निर्देशन दिइदैछ कि भनेर अध्ययन गर्न उनले सुझाव दिएका थिए।

उनले कुनै पनि विधेयक समितिमा आउन नपाउँदै संशोधनको प्रस्ताव लिएर सम्बन्धित मान्छेहरूले समिति सदस्यलाई भेट्ने गरेको समेत बताए। समितिमा छलफल गरेर विधेयक पारित गर्ने संस्कृति कति व्यवहारिक छ भनेर सोच्ने बेला आएको उनको मत थियो।

‘म समिति सचिव भएको अनुभव पनि छ। विधेयक समितिमा आएर दर्ता हुन पाएको छैन त्यसको सम्बन्धित पक्षको टोली समितिमा विधेयक दर्ता भएकै दिन आउने र माननीयज्यूहरूलाई यी विषयमा संशोधनको प्रस्ताव राख्नुस् भनेर भन्ने गरेको पाइन्छ। समितिमा छलफल गरेर जुन विधेयक पारित गर्ने अभ्यास छ, त्यो अभ्यास कतिको व्यवहारिक छ भन्ने कुरा सोच्नुपर्ने आवश्यकता छ’ उनले भने।

साउन २६, २०८१ आइतबार १८:२६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।