राष्ट्रपति पौडेल र भारतीय विदेश सचिवको भेटमा जलवायु परिवर्तनबारे छलफल

राष्ट्रपति पौडेल र भारतीय विदेश सचिवको भेटमा जलवायु परिवर्तनबारे छलफल

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपतिको कार्यालय शीतल निवासमा आइतबार भएको शिष्टाचार भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

भेटका क्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल भारत मिलेर काम गर्नुपर्ने बताएका थिए।

‘हिमाल र पानीको सुरक्षामा नै मानवजातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनीकरणमा दुवै देश मिलेर काम गर्न जरुरी छ’, राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भने।

राष्ट्रपति पौडेलले नेपाल भारतबिच अनादिकादेखि जनस्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठुलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा दुवै देश बिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए।

राष्ट्रपति पौडेलले आपसी हित र समृद्धिका लागि दुई देशबिचको मित्रता र सहकार्य अझ मजबुत बनाउनुपर्ने बताउँदै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत, व्यापार, लगानी, पर्यटन तथा मानव संसाधन विकास नेपालको प्राथमिकता रहेको बताए।

उनले नेपालमा जलविद्युत विकास, दिगो एवम् सहज ऊर्जा व्यापारका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गरे।

सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकोले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल सरकारका  योजनामध्ये ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकता भारत पनि काम  गर्न इच्छुक रहेको उनको  भनाइ छ। 

साउन २६, २०८१ आइतबार १६:३५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।