पर्यटनमन्त्री पाण्डेको दाबी ‘तारागाउँबारे अब एक्सनमा काम हुन्छ’

पर्यटनमन्त्री पाण्डेको दाबी ‘तारागाउँबारे अब एक्सनमा काम हुन्छ’

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले तारागाउँ विकास समिति साथै तारागाउँ रिजेन्सी होटल्स लिमिटेडबारे मन्त्रालय चाँडै एक्सनमा जाने बताएका छन्।

आइतबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडबारे भएको छलफलमा उनले दुबैबारे सबै सूचना र तथ्यहरू लिएर मन्त्रालयलाई जवाफ आइसकेको जानकारी गराए।

उनले मन्त्रालय  र तारागाउँ समितिको काम गर्ने सिलसिलामा ढिलासुस्ती र पहलकदमीको कमी देखिएको बताए।

‘राज्यलाई क्षति पुर्याउनेगरी विभिन्न निकायहरू गलत अभ्यासहरू संस्थाकै रूपमा अगाडि बढेको देखिन्छ,’ उनले समितिको बैठकमा भने ‘तारागाउँ रिजेन्सी होटल्सलगायतसँगको सबै वास्तविकता र तथ्यहरू मन्त्रालयलाई जवाफ पनि आइसकेको अवस्था छ। अख्तियारमा पनि उजुरी परेको र अख्तियारले केही निर्देशन मन्त्रालयलाई र तारागाउँ समितिलाई दिइसकेको छ।’

मन्त्रालय  र तारागाउँ समितिले काम गर्ने सिलसिलामा पहलकदमीको कमी देखिएकाले यसको विस्तृत अध्ययन गर्नुपर्ने, निचोडमा पुग्नुपर्ने र गैर कानुनी ढङ्गले अरू कोही पोसिने र राज्य लुटिने अवस्थाबाट मुक्त गरिनुपर्छ मन्त्री पाण्डेले बताए।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तारागाउँको नाममा धेरै जग्गा जमिन हेटल र रिसोर्ट राखेको र त्यो सबै सरकारको निम्ती बोझ भएको छ या छैन, केही कर्मचारीलाई रोजगारी प्रदान गर्ने र राज्यले पाल्ने मात्रै भएको छ कि? भनेर जानकारी राख्नुपर्ने सुझाव दिए।

बैठकमा तारागाउँको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने, निजी क्षेत्रलाई दिने हो भने दिनुपर्छ, होइन भने सरकारले पूरै प्रयोग गर्नुपर्ने सांसदहरूले आफ्नो धारणा राखेका थिए।

तारागाउँको जग्गाको विषय उठिरहेको र हायात होटलले राज्यको सेयर घटाउँदै २२ प्रतिशतबाट ९ प्रतिशतमा झारेको विषयमा अध्ययन गर्न सांसदहरूले माग गरेका थिए।

साउन २६, २०८१ आइतबार १६:२९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।