२५ अर्ब ७७ करोड कारोबारको रेकर्ड राखेर २८ सय पार पुग्यो नेप्से

२५ अर्ब ७७ करोड कारोबारको रेकर्ड राखेर २८ सय पार पुग्यो नेप्से

काठमाडौँ : २ हजार ७ सय ८० अङ्कबाट खुलेको सेयर बजार दिनभरको कारोबारमा ९४.५३ अङ्क बढेर २ हजार ८ सय ६०.९१ अङ्कमा बन्द भएको छ। उतारचढाव पूर्ण रहेको बजार एक बजेबाट उकालिएर एकै दिन ९४ अङ्क बढेर बजार बन्द हुँदा कारोबार रकममा नयाँ रेकर्ड राख्दै २५ अर्ब ७७ करोडको कारोबार भयो।

यो साताको पहिलो दिनको कारोबारमा २ सय २५ कम्पनीको शेयरको मूल्य बढ्यो भने १५ वटाको घट्यो। दुई वटा कम्पनीको शेयर मूल्य यथास्थितिमा रह्यो।

सेयर मूल्य सकारात्मक सर्किट लेभलमा बढेका कम्पनीको वित्तीय विवरण भने गतिलो छैन। तर उनीहरूकै मूल्य १० प्रतिशतको दरमा बढेको छ। बजारमा कम संख्यामा सेयर रहेका कम्पनीको मूल्य बढेकाले चलखेलको संकेत देखिन्छ।

आइतबार २५ अर्ब ७७ करोड ९४ लाख ५३ लाख ५०९ रुपैयाँको ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयर कारोबार भयो।

आइतबार  १३ वटै उपसमूहको सूचक सकारात्मक देखियो । माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट उपसमूहको सूचक ४ प्रतिशतभन्दा धेरैले बढ्यो। कारोबारमा आएका ९ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १७ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ।

निरन्तर उकालो लागिरहेको कुथली बुखरी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो।  युनिलिभर नेपालको ३.८५ प्रतिशत र ओरियन्टल होटलको २.४८ प्रतिशतले घट्यो।

आइतबार हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै १ अर्ब ५२ करोडको शेयर कारोबार भयो। शिवम् सिमेन्टको १ अर्ब १६ करोड र नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको ६८ करोडको कारोबार भएको थियो।

बजार पूँजीकरणमा आइतबार नयाँ रेकर्ड कायम भयो। आइतबार कुल बजार पूँजीकरण ४५ खर्ब ४१ अर्ब पुगेको छ। यसअघि ४४ खर्ब ६८ अर्बसम्म बजार पूँजीकरण पुगेको थियो।

साउन २७, २०८१ आइतबार १५:३१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।