पार्टी अध्यक्षले नै आफू र वर्षमान विरुद्ध दुष्प्रचार गराएको भन्दै जनार्दनले प्रचण्डलाई नेतृत्व छाड्न गरे प्रस्ताव

पार्टी अध्यक्षले नै आफू र वर्षमान विरुद्ध दुष्प्रचार गराएको भन्दै जनार्दनले प्रचण्डलाई नेतृत्व छाड्न गरे प्रस्ताव

काठमाडौँ : माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पार्टी फुट्दैछ भनेर हल्ला चलाएको गम्भीर आरोप लगाएका छन्। साउन २५ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा उनले पेस गरेको लिखित प्रस्तावमा ‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइएको’ उल्लेख गरेका छन्।

पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार शीर्षकमा पेस गरेको प्रस्तावमा फलानो एमालेमा जाँदैछ भनेर चलाएको प्रचारबाजीलाई मद्दत पुग्ने गरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि पार्टीका कार्यकर्ताहरूलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने भएको उल्लेख गरेका छन्।

‘देशभर यसको असर देखा पर्न थाल्यो। फुटाउने कसले हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ,’ उनले लेखेका छन् ‘यस विषयमा देशभरिबाट दैनिक सयौँले फोन गरी पार्टी फुट्दैछ र भनी सोध्ने गरेका छन्। यो कुरा अन्य राजनैतिक दल, सुरक्षा निकाय, व्यूरोक्रेसीसमेतमा चासोको विषय बनेको छ।’

मूल नेतृत्वबाटै यस प्रकारको गतिविधि हुनुको पछाडि केही प्रश्न रहेको उनले उल्लेख गरेका छन्। तर ती प्रश्नहरूको जवाफ दिने झन्झटतिर लाग्नुभन्दा आम पङ्क्तिलाई तरङ्गित पार्ने विषय हालिदिएर ध्यान अर्कैतिर मोड्ने उद्देश्य रहेको र स-साना अन्तर्विरोध समाधान गर्न झन् ठुलो अन्तर्विरोध सृजना गरिदिनुपर्छ भन्ने अध्यक्षको मान्यताले काम गरेको उल्लेख गरेका छन्।

उनले - सरकारमा रहँदा बालुवाटारबाटै कहिले आफू त कहिले वर्षमान पुनका विरुद्धमा दुष्प्रचार गरिएको समेत उल्लेख गर्दै नेतृत्वलाई केही प्रश्न सोधेका छन्।

प्रचण्डलाई जनार्दनको १० प्रश्न

- आठौँ महाधिवेशनको समापन पूर्व नै विशेष महाधिवेशनको घोषणा गरेर आठौँ महाधिवेशनको महत्वलाई हलभित्रै समाप्त पारेको सम्बन्धमा प्रश्न,

- पार्टीलाई विधि र पद्धतिमा लैजाने सङ्कल्पको रूपमा आयोजना गरिएको विधान महाधिवेशन हलमा उत्साहका साथ भएका छलफल र हलको अभिमतलाई अस्वीकार गर्दै फरक खालको घोषणा र विधान सम्मेलनभन्दा महाधिवेशन ठुलो हो, जे गर्नु छ त्यहीँबाट गर्नुपर्छ भनी विधान महाधिवेशनको महत्वलाई ठाउँको ठाउँ समाप्त गरेको र सो अधिवेशनमा बोल्न समेत नदिइएकोबारे प्रश्न,

- प्रतिशोध साँध्न पार्टीभित्र राज्य शक्तिको प्रयोग गर्न खोजेको बारे प्रश्न,

- पार्टीभित्र विभिन्न तहका नेताहरूलाई जुटाउन हैन फुटाउनको लागि गरिने मेहनतबारेको

प्रश्न,

- नेतृत्व तहबाटै समानान्तर कमिटीहरू सञ्चालन गरिएकोबारे प्रश्न,

- सरकारको गठबन्धन बारम्बार फेरिरहेको बारे गरिएको प्रश्न,

- प्रधानमन्त्री र गृहमन्त्री हाम्रै पार्टीको हुँदा प्रदेशलाई प्रहरी हस्तान्तरण गरौँ भन्ने प्रस्ताव,

- प्रधानमन्त्री, अर्थमन्त्री र योजना आयोग हाम्रै पार्टीसँग हुँदा साना तथा मझौला आयोजना र बजेट स्थानीय तह र प्रदेशलाई हस्तान्तरण गरौँ भन्ने प्रस्ताव,

- कोशी प्रदेश नामकरण हुँदा किराँत पनि जोड्ने कुरामा हाम्रो असहमति किन भनी उठाएको प्रश्न,

- प्रश्न गरेकै कारण कार्यक्षेत्रबाट बेदखल गरी देखाइदिएँ भनी दिएको अभिव्यक्तिप्रतिको प्रश्न

उठेका प्रश्नबारे समीक्षा, स्पष्ट छलफल, आलोचना-आत्मालोचनातिर नलागी पार्टी फुट्दैछ भनेर आम पङ्क्तिलाई भ्रमित गर्ने, त्रसित गर्ने, सांसदहरूले मेरा विरुद्ध हस्ताक्षर गरिसके भनेर अफवाह फैलाउन कामले पार्टी र नेतृत्वलाई नै ठुलो क्षति पुर्याइरहेको उनले लेखेका छन्।

शङ्काले लङ्का जलाउने, चियाको कपमा तुफान सृजना गर्ने भनेझैँ पार्टीलाई नै क्षति हुनेगरी सार्वजनिक रूपमा भ्रम सृजना गर्ने, मूल नेतृत्वले बोलेका सबै कुराहरू सही नै हुन्छ भन्ने स्कुलिङमा हुर्केको पार्टी पङ्क्तिमा पर्न गएको भ्रम र त्रासबाट पार्टी चलाउने हो भने पार्टी कसरी बन्छ? भन्ने प्रश्न गर्दै उनले यसबारे गम्भीर समीक्षाको माग गरेका छन्।

पार्टी नेतृत्व हस्तान्तरण प्रस्ताव

उनले लिखित प्रस्तावमा पार्टीको नेतृत्व हस्तान्तरण गर्ने विषयमा तीन विकल्प समेत उल्लेख गरेका छन्। मार्क्स, एंगेल्स, लेनिनका पनि कमी कमजोरी भएको र स्तालिनको ३० प्रतिशत कमजोरी भनेर माओले भनेको भन्दै उनले माओको पनि पार्टी निर्माण, विकास र समृद्धिको बाटो तय गर्ने सन्दर्भमा कमी कमजोरी देखिएको भन्दै पार्टीको नेतृत्व हस्तान्तरणका तीन मोडल प्रस्ताव गरेका छन्।

१. नेतृत्व हस्तान्तरण: अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित साङ्गठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने। वा,

२. नेतृत्व पुस्तान्तरण: अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने। हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्याङ्कन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरूलाई कार्यकारी साङ्गठनिक नेतृत्व हस्तान्तरण गर्ने। वा,

३. हालको केन्द्रीय कमिटी भङ्ग गरी क. प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्ने।

साउन २६, २०८१ आइतबार १४:५९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।