सहकारीमा राखेको पैसा फिर्ता नपाएपछि उपचार नपाएर स्थापितको मृत्यु, शवसहित प्रदर्शन

सहकारीमा राखेको पैसा फिर्ता नपाएपछि उपचार नपाएर स्थापितको मृत्यु, शवसहित प्रदर्शन

काठमाडौं : सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएको छ। 

वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु उनको पारिवारिक स्रोतले जनाएको छ। 

स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन्। 
सहकारीका अध्यक्ष ‘अलाइभ ग्लाइडर’ भनिने किसन राई हुन्। 

निःसन्तान स्थापित दम्पतीलाई बैंकले भन्दा बढी ब्याज दिने र बुढेसकालमा सुविधाका लागि आवश्यक व्यवस्था गरिदिने प्रलोभन दिँदै बैंकबाट सहकारीमा बचत गर्न लगाएर ठगी गरेको आफन्तले बताए। 

राजेन्द्रकी श्रीमती जसबाटी बाबा बज्राचार्यले बैंकमा राखेको १ करोड ३३ लाख रुपैयाँ झिक्न लगाएर राईलगायतले सहकारीमा राख्न लगाएको पीडितका आफन्तले बताए। 

स्थापित लामो समयदेखि बिरामी परेका र उपचारका लागि पाँच लाख रुपैयाँ भए पनि जम्मा गरिदिन आग्रह गर्दासमेत सञ्चालक राईले नटेरेको आफन्तको दाबी छ। 

स्थापितको एक करोड बढी सहकारीमा भएपनि उपचार गर्न पाँच लाख रुपैयाँ नभएकै कारणले मृत्यु भएको सहकारी पीडितका आन्दोलनका अगुवा कुशलभ श्रेष्ठले बताए। 

उनले भने, ‘उहाँलाई आफ्नै ज्यानको उपचार गर्ने पैसासमेत उहाँ आबद्ध सहकारीले खाएका कारण आज मृत्यु भएको छ। सरकारले सोह्र महिनादेखि निरन्तर गरेको सम्झौता कार्यान्वयन आएको छैन। हामी आन्दोलन गर्न थालेको आज ८० दिन हुँदा कार्यान्वयनमा आएको छैन।’

स्थापितको मृत्युपछि सहकारी पीडित र आफन्तहरूले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका छन्। उनीहरुले मृतक र सहकारी पीडितले न्याय पाउनुपर्ने माग राख्दै रत्नपार्कमा प्रदर्शन गरेका छन्। 
-नेपाल न्युज बैंक  

साउन २६, २०८१ आइतबार १३:३५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।