चन्द्रलक्ष्मीको प्रसव पीडा र खुसी : डेलिभरीको बेला छोरी मान्छेलाई घरबाट जति साथ भएपनि माइतीको आश हुने रहेछ
काभ्रेको साँगामा जन्मिएकी चन्द्रलक्ष्मी श्रेष्ठ नेपाल टेलिकममा सिनियर इन्जिनियरको रुपमा काम गरिरहेकी छिन्। यहाँ लगभग १५ वर्ष अनुभव बटुलेकी उनले यसअघि नेपाल प्रहरी हेड क्वार्टरमा पनि प्राविधिक इन्जिनियर भएर काम गरिसकेकी छिन्। उनी सुरूमा अन्तराष्ट्रिय फोन संवादको रोमिङमा जोडिइन्। अहिले भने टेलिफोनको सिस्टम हेर्ने गर्छिन्।
बाल्यकालमा उनलाई पढाइमा त्यति रुची थिएन। बीचबीचमा 'ज्ञाप' राख्दै भएपनि उनले एसएलसी पास गरिन्, त्यो पनि पहिलो श्रेणीमा। त्यसबेला एसएलसीमा पास भएपछि विज्ञान विषय पढ्नुपर्छ भन्ने मानसिकता थियो।
उनका दाइ इन्जिनियर थिए। त्यसैले दाइले उनलाई पनि इन्जिनियर नै पढ्न सुझाए। कालान्तरमा, उनी काठमाडौँ विश्वविद्यालयकै टपर भइन्। महेन्द्र विद्याभुषण पदक लगायतका पुरष्कारहरूसमेत पाइन्। अनि विश्वविद्यालयमै रिसर्चर भएर पनि काम गरिन्।
कम्युनिकेसन इन्जिनियरमा स्नातकोत्तर गर्दैगर्दा उनी प्रहरीमा जागिर गर्थिन्। पछि नेपाल टेलिकममा जागिरको लागि आवेदन खुलेको थाहा पाएपछि उनी यहाँ जोडिइन्।
स्नातकोत्तर गर्दैगर्दा उनले आफ्ना श्रीमानलाई भेटेकी रहिछन्। उनको श्रीमान आर्मी र उनी आफैं पनि प्रहरी भएको कारण दुवैको कार्यक्षेत्र सँगसँगै मन मिल्न धेरै समय लागेन। पढाइ सकिएसँगै उनीहरू विवाह बन्धनमा बाँधिए। अहिले उनीहरूको दुई सन्तान छन्।
उनै चन्द्रलक्ष्मीले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी साटिन् :
000
स्नातकोत्तर गर्ने क्रममा मैले आफ्नो जीवनसाथी पनि भेटें। उहाँ आर्मी हुनुहुन्छ। म प्रहरी थिएँ। तर, हाम्रो कार्यक्षेत्र लगभग उस्तै थियो। स्नातकोत्तरको परीक्षा सकिएपछि हाम्रो विवाह भयो।
बिहे भएको साढे दुई बर्षपछि हाम्रो पहिलो सन्तान भयो। विवाह अगाडि नै पढाइ अनि काम सकिएको थियो, त्यसैले पनि मलाई चै अब छिट्टै बच्चा जन्माउनु पर्छ भन्ने लागेको थियो। मेरो साढे दुई वर्षसम्म त गर्भ बनिरहेकै थिएन। अनि हामीले डाक्टरको परामर्श लियौं। केही समय औषधि पनि खानुपर्यो।
अरूको बच्चाहरू देख्दा ‘मेरो किन ढिला भइरहेको छ’ भनेर रुन मन लाग्थ्यो। त्यतिबेलासम्म सासुआमालाई पनि एक्लो छोरा, नातिनातिनी भइहाले हुन्थ्यो भन्ने लागेको रहेछ। तर, मेरो रिपोर्ट सकारात्मक आएपछि म असाध्यै खुसी भएँ। किनकी पहिलोपटक गर्भवती भएकी जो थिए। श्रीमानलाई पनि सुनाएँ, उहाँ पनि खुसी हुनुभयो।
गर्भवती भएको सुरुको एक/दुई महिना त मलाई केही पनि भएन। पछि चैं मुखबाट तीतो पानी आउने, वाकवाक आउने, खानेकुरा धेरै खान नसक्ने हुन थालें। त्यसबेला केही खाउँ जस्तो पनि नलाग्ने रहेछ। तर, मलाई पुरै गर्भावस्था भर कमजोरी महसुस भएन। काममा जाने-आउने गरिनै राखेको थिएँ।
गर्भवतीको समयमा जम्मा पाँच केजी तौल बढेको थियो। तर, मेरो नानी चैं साढे तीन केजीको जन्मियो। गर्भवतीको समयमा शारीरिक परिवर्तन त खासै पनि भएको थिएन। मानसिक रुपमा पनि मलाई त्यति धेरै गाह्रो भएको होइन। काम गरिनै राखेको भएर तनाव नभएको हुनसक्छ।
त्यसबेला मेरो अफिसको एकजना साथी पनि गर्भवती थिइन्। हामी दुवै जना उस्तै अवस्थामा भएको कारण हाम्रो खूब कुरा मिल्थ्यो। मलाइ के भइरहेको छ, केके हुन्छ भनेर मैले सबै उसलाई भन्थे अनि उसले पनि मलाई सबै सुनाउँथी। अफिसमा पनि एकदम राम्रो माहोल थियो। सहकर्मीहरू सबैले मलाई खूब सहयोग गर्नुभयो।
डाक्टरले दिनुभएको समय भन्दा पछि पनि मलाई प्रसव व्यथा लाग्ने कुनै लक्षण देखिएन। त्यही भएर अस्पताल गयौं। डाक्टरले व्यथा लाग्ने औषधि दिनु भएपनि केही असर भइरहेको थिएन। त्यहिबेला श्रीमान फेरि मुगु जानुपर्ने भएको थियो। यहाँ बस्ने कि जाने भनेर दोधारमा बस्नु भएको थियो, तर मैले जानू भनिदिए।
यता औषधि दिएको लामो समयपछि पनि घर खुलेन भनेर अप्रेशन गर्नुपर्छ भनेर भन्नुभयो, डाक्टरले।
पहिलो अप्रेशन, मलाई त निकै डर लागेको थियो। खलखल पसिना आएर रिँगटा लागेको जस्तो भयो। अप्रेशन कक्षमा लगेर एनेस्थेसिया त दिनुभएको हो। तर, मैले पेट काटेको महसुस गरें। ऐया ऐया भन्न थालेको थिएँ। फेरि अर्को एनेस्थेसिया दिएपछि त एकैचोटी बिहान होसमा आएँ। अनि देखें- छोरीलाई मेरो साइडमा सुताएर राखिएको रहेछ।
होसमा आउने बेला शरीर लठ्ठिने सबै हटिसकेको भएर होला, मलाई त असाध्यै गाह्रो भएको थियो। सहनै नसक्ने भएपछि अब मेरो जिन्दगी सक्कियो भन्ने लागेको थियो। डाक्टरले बिस्तारै हिँड्न भन्नुभयो। म त उठ्न पनि सकिरहेको थिएन। बल्ल, श्रीमान पनि आउनुभयो। उहाँलाई देख्दा मेरो आँसुनै आएको थियो। अप्रेशनको घाउले गर्दा मैले त नानीलाई काखमा राखेर स्तनपान समेत गराउन सकेको थिएन।
अगाडि बाहिरको दूध खुवाएर होला छोरीले मेरो दूध चुस्न पनि जानेन। नानी फेरि एकदम कपासजस्तो नरम थिई। मैले कति धेरै रहर गरेपछि जन्माएको भनेर उसलाई हेर्नेबित्तिकै एकदम माया लागेर आउँथ्यो। एक त उसलाई राम्रोसँग स्तनपान गराउन पाइँन, त्यसमाथि खुवाउन पनि गाह्रो हुन्थ्यो। सानोमा त्यस्तो भएर होला, उसलाई अहिले पनि केही खाना खुवाउन गाह्रो छ। दुब्ली, पातली छे।
मेरो सुत्केरी स्याहार पनि राम्रै भएको थियो। तर, अप्रेशन गरेको भएर पछि पनि धेरै जटिलता आयो। ‘पोस्ट प्रेग्नेन्सी’ गर्दा कब्जियत हुने, कहिले फेरि पखाला लाग्नेसम्म भएको थियो। त्यसले गर्दा खाना पनि बार्नुपर्यो। मैले सुत्केरीमा मीठो मानेर धेरै खान सकिँन।
दिदी, श्रीमान र सासुआमाले सहयोग नगर्नु भएको भए त मलाई झन् धेरै गाह्रो हुने रहेछ। डेलिभरीको टाइममा आमा आउन पाउनु भएको थिएन। त्यो बेलाको अभाव अहिले पनि खड्किन्छ। एउटा छोरी मान्छेलाई घरबाट जति सहयोग भए पनि माइतीको आश भइराख्ने रहेछ। अझ सुत्केरी समयको त कुरानै अलग्गै भयो। सुत्केरीमा त आमा, भाउजू, फुपूहरू सबले राम्रो ख्याल गर्नुभयो। अफिसबाट साढे दुई महिना बिदा थियो। तर, मैले अलि बढी नै समय लिएँ। अनि छोरीसँग राम्रो समय बिताउन पाएँ।
काममा फर्किँदासम्म छोरीलाई सासुआमाले हेर्नुहुन्थ्यो। घरमा हुँदा घरमै अनि काममा हुँदा काममै व्यस्त भएँ। तर, नानी धेरै बिरामी भइराख्दा अलि तनावको माहोल हुन्थ्यो।
मलाई दुइटा बच्चा चाहिन्छ भनेर पहिला देखिनै सोच बनाएको थिएँ। श्रीमानले त एउटा भएपनि हुन्छ भनिराख्नु भएको थियो। तर, मलाई सधैं पहिलो सन्तानकै लागि भए पनि दोस्रो त चाहिन्छ भन्ने लाग्यो।
त्यही अनुसार दोस्रोपटक गर्भवती भएँ। पहिलापटक डर लागेको जस्तो भएर मेरो ‘प्रेसर लो’ नै भएको भएपनि दोस्रोमा त्यतिधेरै डर लागेन। गर्भवती भएको छ महिनासम्म त मैले स्कुटर चलाएकै हो। सानीको समयमा पनि अप्रेशन गर्नुपर्यो तर, म त्यतिधेरै आत्तिएको थिइन।
‘एनेस्थेसिया’ दिँदा पनि सबै हेरिरहें। नानी निकालेको पनि देखिरहेको थियो। तर, त्यसबेला पनि अप्रेशनले गर्दा उठ्न बस्न त सारै गाह्रो भयो। त्यो पीडा पनि पहिलानै महसुस गरेको भएर होला, सहन सक्नेनै थियो। दोस्रोमा पनि मेरो खासै तौल बढेको थिएन। नानी त झन् जन्मिँदा जम्मा साढे दुई केजीको मात्र थिई। उसले त मजाले दूध पनि खाएको छ। दूध भनेको फेरि बच्चाले जति धेरै खायो त्यतिनै धेरै आउने रहेछ। त्यही भएर होला उ अहिले पनि दिदी भन्दा हृष्ट पुष्ट देखिन्छ।
दुवैजना सँगसँगै हुर्किँदा केही अप्ठ्यारो भएपनि हुर्किँदै गएपछि सहज हुने रहेछ। उनीहरू झन् हुर्किँदै गर्दा एकअर्कालाई साथी भए। मैले मेरो ठूली छोरीलाई जति माया गरें, उसले उत्तिकै माया उसको बहिनीलाई गरी। उनीहरू सँगै खेल्छन्, झगडा गर्छन् अनि एकअर्कालाई माया पनि गर्छन्। अनि यसो सोच्छु- एकजना मात्र भएको भए उनीहरुले यो अभाव महसुस गर्थे होला। दुईजना त हुनैपर्छ भन्ने मेरो निर्णयमा म एकदम सन्तुष्ट छु।
सानी छोरी पाए देखिनै अब छोरा पाउने कि नपाउने भन्ने जस्तो कुराहरू आएको थियो। दुइटा छोरी भन्ने बित्तिकै ‘अर्को कहिले पाउने त?’ भनिहाल्थे। तर, मैले छोरा हुनैपर्छ भनेर दोस्रो सन्तानको चाह राखेको पनि होइन। जे होस्, दुइटा होस् भन्ने थियो। भयो। हामी त खुसी छौं। अहिले एउटा छ र अर्को नौमा पढ्छे।
सानी छोरी भएपछि ठूलीलाई त्यति धेरै समय दिन पाइन कि भन्ने लाग्छ। सानैदेखि बहिनी हेर भनेर छोड्दा उ ठुलो मान्छे जस्तै परिपक्व भएकी छे। अहिले पनि बहिनी, घर हेर्नुपर्छ भन्ने गर्छे। कहिलेकहीँ नराम्रो लाग्छ। अनि मैले तिमी पनि सानै छौ भन्ने गर्छु। हामीले नचाहँदा-नचाहँदै पनि हामी आफैंले उसलाई समय भन्दा अगाडि नै ठुलो बनाएछौं भन्ने लाग्छ।
अब दुवैले राम्रोसँग पढ्नु पर्छ भनेर हामीले कुनै पनि कमी हुन दिएका छैनौं। पढाइ सकेपछि उनीहरुले जे गर्छन्, हामी सहयोग गर्छौं। श्रीमान अहिले पनि आर्मीनै हुनुहुन्छ। उहाँ बाहिर जिल्लामै प्राय व्यस्त हुनुहुन्छ। दुवै छोरीले आफ्नो बाबालाई खूब ‘मिस’ गर्छन्। आफ्नो सन्तानहरू जति हुर्कँदै गयो त्यति सहज हुँदै जाने रहेछ।
दुवैजनाले मलाई पनि निकै माया गर्छन्। घरमा एउटा पारिवारिक माहोल बनिरहेको छ। एउटी आमालाई त्यो भन्दा बढी के चाहियो र !
साउन २७, २०८१ आइतबार १३:१०:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।