काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिस्री, आजै राष्ट्रपतिलाई भेट्ने

काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिस्री, आजै राष्ट्रपतिलाई भेट्ने

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौं आइपुगेका छन्। उनी केहीबेर अघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन्।

भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारतीय विदेश मन्त्रालयकाअनुसार विदेश सचिव मिस्रीको भ्रमणले दुई देशबीच नियमित उच्चस्तरीय भेटघाटको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने छ।

भारत सरकारको सहयोगमा नेपालमा ठुला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरू सम्पन्न हुनुका साथै नयाँ परियोजनाहरू अघि बढिरहेको भन्दै भारतीय विदेश मन्त्रालयले यसबाट पछिल्ला वर्षहरूमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको दाबी गरेको छ। 

उनले आज दिउँसो २:४५ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने कार्यक्रम छ। 

त्यसपछि उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।  

उनी सोमबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

साउन २६, २०८१ आइतबार १०:३६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।