जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै, यी एजेन्डामाथि छलफल हुने

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै, यी एजेन्डामाथि छलफल हुने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आजबाट सुरू हुँदैछ। ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा साउन ३० सम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपाले जनाएको छ।

बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक, अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल हुने छ। वर्तमान भूराजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध बैठकको कार्यसूची छ।

यस्तै, पहिचान र राष्ट्रिय–जातीय मुक्तिको सवाल, समाजवादसम्बन्धी अवधारणा जसपा नेपालको आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारणा तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ।

स्थानीय तह, प्रदेशसभा र संसद्मा पार्टीको भूमिका, पार्टी विस्तार तथा सुदृढीकरण कार्ययोजना सम्बन्धमा पनि छलफल हुने जनाइएको छ। 

देशव्यापी रूपमा जनपरिचालन अभियान (सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रमहरू) का सम्बन्धमा कार्ययोजना तथा कार्यक्रम निर्माणलगायत विषयमा बैठकमा विचारविमर्श हुनेछ।

बैठकले अभियानसम्बन्धी कार्यक्रम सम्पन्न गर्न समयावधि निर्धारण गर्ने र केन्द्रीय सदस्यहरूलाई जिल्ला/महानगरनगरलगायत स्थानीय तहहरूको अभियन्ताको रूपमा जिम्मेवारी दिइने जनाइएको छ।

साउन २६, २०८१ आइतबार ०७:३८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।