कृष्ण दमाई महाराजज्यू, तपाईँलाई, तपाईँकै शास्त्रले 'दमाई' बनाएको हो

कृष्ण दमाई महाराजज्यू, तपाईँलाई, तपाईँकै शास्त्रले 'दमाई' बनाएको हो

आचार्य भनिएका कृष्ण दमाईले पशुपतिमा जारी कोटीहोममा प्रवचन दिए। हाम्रो सामाजिक सञ्जाल रङ्गियो। मिडियाहरूमा ब्यानर न्युज बने, कभर स्टोरी बनाइदिए। अनि बौद्धिक र प्रगतिशील तप्काहरूमा उहीँ छुवाछूत विरुद्धको ऐतिहासिक क्रान्ति करार गराइए।

देशमा आज पनि कोही व्यक्ति 'दमाई' हुन्छ। उसले छोएको पानी चल्दैन, मठ-मन्दिरमा उ बिटुलो हुन्छ, उसलाई शास्त्रले पुरोहित बन्न दिँदैन।

अनि कोही शूद्र झुक्किएर पुरोहित बनेर प्रवचन दिने ठाउँमा पुग्यो भने यसरी खुसी हुनुपर्छ। उत्सव मनाउनुपर्छ। र, लेख्नुपर्छ-छुवाछूत विरुद्धको ऐतिहासिक क्रान्ति!

यसले मेरो मनमा केही जिज्ञासा उम्रिए :

-माँने, कृष्ण दमाईले कोटीहोममा प्रवचन दिए। अब के हुन्छ? ६० लाख दलितहरूको मुक्तिको बाटो खुल्छ?

-कृष्ण दमाई एक अपवादले 'शास्त्र पढ्न पाए। तर, आज पनि गुरुकुलहरूमा दलितलाई भर्ना लिइँदैन। अब लिइन्छ त?

-कृष्ण दमाई आज पनि 'दमाई' नै हुन्। कोटीहोममा प्रवचन दिएपछि उनी तथाकथित आचार्य भए त?

अहिले एकथरी मान्छे गम्भीर भ्रम फिँजाउन लागेका छन्। उनीहरू भनिरहेछन्, 'जन्मँदै कोही पनि ब्राह्मण हुँदैन। जसले अध्ययन गर्छ, सत्कर्म गर्छ, त्यही ब्राह्मण हुने कुरा शास्त्रमा लेखिएको छ।'

अझ कतिपयले त यसलाई स्थापित गर्न शास्त्रकै हवाला दिइरहेछन्। हिजो कोटीहोममा प्रवचन दिँदै गर्दा कृष्ण दमाई स्वयम्ले यही कुरा भने। तर यसमा मेरो गहिरो विमति छ।

शास्त्रको कुरा आइहाल्यो, त्यहीबाट सुरु गरौँ।

हिन्दु धर्मको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेद हो, जसको आयु ३५ सय वर्ष मानिएको छ।

त्यही ऋग्वेदको दशौँ मण्डलमा भनिएको छ- प्रजापतिको मुखबाट ब्राह्मण, बाहुबाट क्षत्रीय, कम्मरबाट वैश्य र पैतालाबाट शूद्र उत्पन्न भएका हुन्।

त्यसपछि अथर्ववेदले सामाजिक संरचनामा ब्राह्मण, क्षेत्री, वैश्य र शूद्रमा स्पष्टसँग व्याख्या गरेको छ। शूद्र अर्थात् आजका दलितलाई यो स्थितिमा पुर्याउने ग्रन्थ नै अथर्ववेद हो, यो मेरो दाबी हो।

एकजना कृष्ण दमाई तथाकथित आचार्य बनेर छुवाछूत विरुद्धको ऐतिहासिक कदम भन्दै दलितहरूलाई जे लाद्न खोजिँदै छ, यसको मनोवैज्ञानिक पक्ष निकै डरलाग्दो छ।

'शूद्र ज्ञानरहित र आर्य ज्ञानवान् हुन्छन्। जसरी मसानघाटमा वेद पढ्नु हुँदैन त्यसैगरी शूद्रको नजिक पनि वेद पढ्नुहुँदैन, भनेर लेखेको छ। यो त सामान्य शास्त्र बुझेकाहरूलाई थाहै छ।

कृष्ण दमाई'हरूले भनेजस्तै के साँच्चिकै शास्त्रले जन्मिँदै कोही ब्राह्मण (बाहुन) हुँदैन, कर्मले हुन्छ भनेको छ त? विल्कुल छैन। बरु ब्राह्मण जाति वंश, परम्पराबाट वा जन्मबाट नै मुख्य रूपमा उत्पत्ति हुन्छ भनेको छ शास्त्रमा।

ऋग्वेदका पुरुष सूक्तमा 'ब्राह्मणोऽस्य मुखमासीत्' लेखिएकै छ। शूद्रको लागि चैँ (१०।९०।१२) ऋचामा 'पद्भ्यां शूद्रो अजायत' भनिएको छ। यही कुरा ऋचा शुक्लयजुर्वेदसंहितामा (३१।११) पनि छ। तैत्तिरीय–कृष्णयजुर्वेदसंहिताका 'प्रजापतिरकामयत प्रजायेयेति' (७।१।१।४–६) ले पनि ब्राह्मण जन्मिँदै ब्राह्मण अनि शूद्र जन्मिँदै शूद्र भएर जन्मिन्छ भनेर बुझाउँछ।

यत्ति लेखेपछि कृष्ण दमाईलाई भन्नैपर्छ,

गुरु महाराजज्यू, तपाईँलाई तपाईँकै शास्त्रले 'दमाई' बनाएको हो। दिउँसै रात पार्ने गरी 'शास्त्रमा विभेद छैन, शास्त्र पढे जो पनि ब्राह्मण हुन्छ' भनेर नझुक्क्याउनुस् न महाराज!

तपाईँको यही भ्रममा लागेर ६० लाख दलितले शास्त्र पढ्न थाले भने के होला? किनभने तपाईँको शास्त्रले त दलित पनि स्विकार्दैन। स्विकार्छ त केवल, शूद्र अर्थात् पाऊ। तपाईँले जस्तै शास्त्र पढेर सबै दलितहरू सधैँ शूद्र भइरहनु त भएन नि।

त्यतिले पनि पुगेन भने अझै शास्त्रकै कुरा गरौँ। कोही व्यक्ति जन्मिँदै ब्राह्मण-क्षत्री हुने कुरा मनुस्मृतिका 'लोकानान्तु विवृद्ध्यर्थम्..' (१।३१) मा छ।

यो भन्दा पनि स्पष्ट 'ब्राह्मणो जायमानोहि पृथिव्या मधिजायते। ईश्वरस् सर्वभुतानां धर्म्मकोशस्य गुप्तये।।' भनेर मनुस्मृतिकै (१र९९) मा लेखिएको छ।

यो भनेको बाहुन जन्मँदै पृथ्वीको सम्पूर्ण जीव मध्ये सर्वश्रेष्ठ हुन्छ। बाहुन सबै प्राणीहरूको ईश्वर हो र बाहुन नै धर्मको खजानाको मालिक हो भनेको हो।

न शुद्राय मति दध्दान नोच्छिष्टं न हविष्कृतं। ना चास्योपदिशेध्दर्म्म न चास्य व्रतमादिशेत्।।

अर्थात् शूद्रलाई बुद्धि दिनु हुँदैन, आफ्नो सेवामा लागेको नोकरबाहेक अन्य शूद्रलाई आफ्नो जुठोपुरो तथा यज्ञ हवनको बाँकी रहेको भाग पनि नदिनू। शूद्रलाई धर्मको उपदेश पनि कहिल्यै नदिनू, बुद्धिजीवीले बाहुनलाई दुःख दिन सक्छ।' यो मैले भनेको हैन, मनुस्मृतिको ८ र २७० मा उल्लेख छ।

यसैको कारणले हजारौँ वर्षदेखि शूद्र अर्थात् आजका दलितहरू शिक्षाबाट वञ्चित हुँदै आएका थिए र छन्।

जनयुद्धकालमा भएका अधिकांश अन्तर्जातीय विवाहहरू जनयुद्ध सकिएपछि डिभोर्समा पुगेर टुङ्गिए। त्यसरी नै कृष्ण दमाइले कोटीहोममा स्थान पाउँदा क्रान्ति भएको दाबी पनि दुखद मोडमै गएर टुङ्गिने छ।

दलितहरू भूमिहीन बने, सुकुम्वासी बने, व्यापारमा बन्देज लगाइयो अनि आज ४३ प्रतिशत दलित गरिबीको रेखामुनि परे। 

३५ सय वर्षदेखि शूद्रका नाममा एउटा समुदायको मान्छेले अर्कोमाथि निरन्तर अत्याचार गरिराखेकै छ। शोषणको सबैभन्दा तल परेको समुदाय मनोवैज्ञानिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा सदा कमजोर छ। यति सामान्य तथ्य पनि कृष्ण दमाईहरूले बुझेनन् होला त!

धेरैले प्रगतिशील भनेका शास्त्रमा हेरौँ। भागवतमै पनि 'जन्मना ब्राह्मणो गुरु: (१०।८।६) लेखेको छ नि।

रामायणमा 'न द्विजातिरहं राजन् मा ते भून् मनसो व्यथा। शूद्रायामस्मि वैश्येन जातो नरवराधिप' (२।६३।५०) लेखेको कुरा त सबैलाई थाहै छ। उता, महाभारतको कुरा त झन् छर्लङ्ग छ। अनि मलाई कृष्ण दमाईहरूले बुझाइदिए हुन्थ्यो, कुन चाहिँ शास्त्रले शूद्रको मुक्ति गरेको छ?

महाचेतन तत्त्व (ब्रह्म) ज्ञान भएको वा वेद जान्ने व्यक्ति नै ब्राह्मण हो भनी नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशमै लेखिएको छ। अनि शूद्रले वेद पढ्न पाउँदैन भनेर पनि शास्त्रमै लेखिएको छ।

अन्तिम सत्य त यही हो- नेपाल, भारतलगायतका दक्षिण एसियाली मुलुकहरूमा भएका आजका दलितहरू जसरी शिक्षा, स्वास्थ्य, अर्थ सत्ता, सेना, प्रहरी, कर्मचारीतन्त्र, राज्यसत्तामा पछाडि छन्, त्यसको प्रमुख र उद्गम कारण कृष्ण दमाईहरूले अपनाएको शास्त्र हो।

३५ सय वर्षदेखि चल्दै आएको जातव्यबस्था आज एकजना दलितलाई आचार्य बनाएपछि उन्मूलन हुन्छ भन्नू 'विमानस्थलमा बसेर पानीजहाजको प्रतीक्षा' गर्नुजस्तै हो। विल्कुलै काइते कुरा।

८ कक्षा पास गरेका केपी ओलीहरू प्रधानमन्त्री बन्दैगर्दा पिएचडीको तयारी गर्दै गरेका जीवन परियारहरू मन्त्रीको लागिसमेत अयोग्य कसले बनायो, जात व्यवस्थाले हैन? युवा, पढे-लेखेका, विद्वान पत्रकार गणेश लम्सालहरूलाई तथाकथित अन्तर्जातीय बिहे गरेकै कारण जेल कसले पठायो, जात व्यवस्थाले हैन?

४ वर्षअघि रुकुममा नवराज विक अनि ८ वर्षअघि काभ्रेमा अजित मिजारले अन्तर्जातीय प्रेम गरेका कारण, ४ वर्षअघि चितवनमा भीमबहादुर विश्वकर्माले मन्दिर पसेकै कारण किन मारिनुपर्यो, जात व्यवस्थाले हैन?

आजसम्म पनि देशको राज्यसत्ता, राजनीतिक दल, कर्मचारीतन्त्र, सेना, पुलिस जताततै एउटै जात विशेष मान्छेहरूको बाहुल्यता कसरी हुनसक्छ, जात व्यवस्थाले हैन?

अनि यो सबैको कारक जात व्यवस्था, कृष्ण दमाईहरूले अवलम्बन गरेकै धर्मको देन हैन?

जात व्यवस्थाको अर्को कुरूप पाटो पनि हेरौँ। धेरैलाई परेको छ कि, जात व्यवस्था खास गरी हिन्दु वर्णव्यवस्थाले दलितलाई मात्र पिरेको छ, यो दलितको मात्रै समस्या हो। तर, यथार्थ त्यस्तो छैन। जात व्यवस्था तहगत समस्या हो। यतिसम्म तहगत कि, जात व्यवस्थाले सबैभन्दा सिरानमा राखेको बाहुनभित्र पनि विभेद छ।

नेपालका ब्राह्मण (वंशीय बाहुन) को रगत पुजारी हुनका लागि योग्य छैन भन्ने ठानेर नेपालको सबैभन्दा ठुलो हिन्दु तीर्थ पशुपतिमा भारतबाट मूल पुजारी ल्याइएको छ।

बाहुनमा उपाध्याय बाहुन र पुर्वीया बाहुन छन्। ठुलो बाहुन को भन्ने विषयमा यी दुईबीच पनि द्वन्द्व छ।

यता कुमाईं बाहुन आफूलाई शुद्ध ठान्छन्। जैसी बाहुनले भने आफूलाई दोस्रो बाहुनका रूपमा स्विकारेको छ। उल्लेखित सबै कथित ठुला बाहुनले जैसी बाहुनलाई अशुद्ध ठान्छन्। अझै पनि प्राय: बुढापाका ठुला बाहुनहरू जैसीले छोएको खाँदैनन्। बिहेबारी बार्छन्, कर्मकाण्ड र श्राद्ध गर्दैनन्। यो पनि शास्त्र'बाटै उद्वेलित छ।

त्यसैले एकजना कृष्ण दमाई तथाकथित आचार्य बनेर छुवाछूत विरुद्धको ऐतिहासिक कदम भन्दै दलितहरूलाई जे लाद्न खोजिँदै छ, यसको मनोवैज्ञानिक पक्ष निकै डरलाग्दो छ।

समस्या सिङ्गो धर्मशास्त्रमा छ, चौतर्फी दबाबपछि फेस सेभिङका लागि एकाध मान्छेहरूलाई कोटीहोममा लगेर केही तात्त्विक भिन्नता आउनेवाला छैन।

२००९ सालमै धनमानसिंह परियारलाई महामन्त्री बनाएको कांग्रेसभित्र अहिले दलितको स्थिति निकै नाजुक छ, ०५२ मा सबैभन्दा उत्कृष्ट दलितमैत्री देखिएको माओवादी अहिले आफ्नै नेतृत्वमा सरकार बन्दा एकजना दलितलाई मन्त्री नबनाउने स्थितिमा छ।

जनयुद्धकालमा भएका अधिकांश अन्तर्जातीय विवाहहरू जनयुद्ध सकिएपछि डिभोर्समा पुगेर टुङ्गिए। त्यसरी नै कृष्ण दमाइले कोटीहोममा स्थान पाउँदा क्रान्ति भएको दाबी पनि दुखद मोडमै गएर टुङ्गिने छ।

त्यसो त पञ्चायतले नै पनि हिरालाल विश्वकर्माहरूलाई मन्त्री बनाएर फेस सेभिङ गरेकै हो नि। तर, यी सबै फेहरिस्तले दलित मुक्ति भयो र?

त्यसैले आजको आवश्यकता दलितलाई कोटीहोममा स्विकारेर ;दमाईले आचार्यको पद पायो’ भनेर सामाजिक हैसियत समान बनेको गलत तथ्य फैलाउनुको साटो दलितलाई राज्यका हरेक तहमा समानुपातिक अधिकारको प्रत्याभूति गराइनु महत्त्वपूर्ण हो।

आरक्षण मात्र हैन, राज्यका हरेक तहमा अनिवार्य समानुपातिक प्रतिनिधित्व गर्ने व्यवस्था गराउनु महत्त्वपूर्ण हो।

बजेटमा दलित सशक्तीकरणको कार्यक्रमलाई समेट्नु हो। जातीय विभेद विरुद्ध अनि दलितको हकका सम्बन्धमा संविधानमा लेखिएको कुरा अक्षरशः पालना गराउनु हो। दलितको मुद्दा राज्यको मुद्दा बनाउनु हो।

केही दलितले संस्कृत पढेर, उपनिषद्, वेद र पुराणका ऋचा वाचन गरेर दलितको मुद्दा समाधान हुँदैन।

एकाध मान्छेहरूलाई दया देखाएर कहिँकतै उपस्थिति गराउने कुराले दलित मुद्दाको समाधान हुँदैन भनेर इतिहासले प्रमाणित गरिसक्यो।

फेरि कतिसम्मको मीठो झुट वकालेको होला- जन्मका आधारमा नभई कर्मका आधारमा बाहुन भइन्छ पनि भन्ने अनि दलित समुदायमा जन्मेको कृष्ण दमाई पनि भन्ने। दलित समुदायबाट भएर आचार्य बनेको कृष्ण दमाईले प्रवचन दिनु असामान्य जस्तै गरी किन प्रचार गरियो भनेर यसैबाट बुझ्न सकिँदैन र !

असलमा, अब हिन्दु धर्म परम्परागत आडम्बरमा बाँच्नै नसक्ने गरी थला पर्यो भन्ने बुझेपछि शास्त्रले अछुत ठानिएका कृष्ण दमाईलाई ब्यासासनमा राखेर हिन्दु सनातन धर्मको प्रचार गर्न लगाइएको हो।

नेपालका ९० प्रतिशत मन्दिरहरूमा आज पनि बाहुन नै पुजारी छन्। त्यसबाट उनीहरूको घरपरिवार चलेको छ। उनीहरूलाई त्यो अधिकार शास्त्रले दिएको हो। त्यही ठाउँमा दलितले पूजासम्म गर्न पाएका छैनन्। हिन्दु धर्मले दलित मुक्ति गर्छ भने ती मन्दिरहरूमा दलित पुजारी राख्नु पर्थ्यो/पर्छ। किन नराखेको?, पुजारीको खुल्ला आवेदन मागेर जातका आधारमा हैन क्षमताको आधारमा पुजारी राख्ने व्यवस्था गर्न सकिन्छ?

त्यसैले कृष्ण दमाईलाई कोटीहोममा प्रवचन गर्न दिइयो भनेर वाहवाही गर्नुको अर्थ छैन, बरु उनले प्रतिनिधित्व गर्ने धर्मले उनी स्वयम्लाई दमाई बनाएर वर्षौँदेखि विभेद गरिरहेको छ भन्ने बुझ्नतिर लागौँ। समस्या छ भन्ने बुझे वास्तविक समाधान पनि निस्कन्छ। नबुझे यस्तै वाहियात घटनाले वाहवाही पाउँछ।

साउन २६, २०८१ शनिबार २२:१२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।