देश मक्किइसक्यो, भत्किइसक्यो भनेर विदेशिएको मान्छे फेरि फर्किँदैन : गगन थापा

देश मक्किइसक्यो, भत्किइसक्यो भनेर विदेशिएको मान्छे फेरि फर्किँदैन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली समाजमा राम्रो केही नभएजसरी समाजमा निराशा फैलाउने गरि गरिएका प्रचारबाजीले देश थप समस्यामा परेको बताएका छन्।

स्वर्गीय श्यामबहादुर कार्कीको १७ औं स्मृति दिवसका अवसरमा शनिबार भक्तपुरको बालकोटमा सम्पन्न कार्यक्रममा उनले देशभित्र राम्रा मानिस र राम्रा काम पनि पर्याप्त भएको जिकिर गरे।

'पक्कै पनि हाम्रो देशमा, हाम्रो समाजमा कमजोरी धेरै छन्। हामीले गर्नुपर्ने र गर्न नसकिरहेका धेरै कुरा छन्,' महामन्त्री थापाले भने, 'तर केही नभएको भन्ने होइन। केही भएन भन्ने मात्र प्रचार गरिरहने हो भने त्यसले निराशा पैदा गर्छ। समाजमा असल कुरा पनि छन्, असल मानिस पनि छन्। यस्ता सकारात्मक सन्देश फैलाउनुपर्छ।'

उनले विदेश गएपनि फर्किने उद्देश्य लिएर जानुपर्ने तर्क गरे। 

'अचेल प्रत्येक दिन मानिसहरू विदेसिइरहेका छन्। त्यहाँ गएर पाएका अवसर लिइसकेपछि देश फर्किन्छु भन्ने भयो भने त्यो समस्या होइन। तर, देश मक्किइसक्यो, भत्किइसक्यो भन्ने ठानेर गयो भने त्यो मानिस फर्किँदैन,' उनले भने। 

उनले नेपाली कांग्रेसले देशैभरका प्रजातन्त्र सेनानी तथा ‘माओवादी ज्यादतीबाट मारिएका’ कांग्रेसहितको अभिलेख तयार गरिरहेको जानकारी गराए।  

साउन २५, २०८१ शनिबार २२:०१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।