डा. प्रकाशको उपचार अनुभव : ...अनि सगरमाथा चढ्न गएकी अमेरिकन युवती मस्तिष्कको शल्यक्रियापछि बाँचेर रुन थालिन्

डा. प्रकाशको उपचार अनुभव : ...अनि सगरमाथा चढ्न गएकी अमेरिकन युवती मस्तिष्कको शल्यक्रियापछि बाँचेर रुन थालिन्

डा. प्रकाश पौडेल कन्सल्टेण्ट न्यूरो सर्जन तथा स्पाइनल सर्जन हुन्। उनले औषधि उपचार तथा शल्यक्रिया गरी हजारौं बिरामीलाई बचाएका छन्। उनै डा. प्रकाशले उपचारको शिलशिलामा देखे भागेका अनुभव उकेरासँग साटेका छन् :

000

सगरमाथा चढ्न गएकी अमेरिकन युवती मस्तिष्कको शल्यक्रियापछि जब बाँचेर रुन थालिन्...
उपचार गरेकामध्ये हिमाल चढ्न जाँदा मस्तिष्क घात भएकी एक जना अमेरिकन युवतीलाई उपचार गरेको प्रसंग डा. प्रकाश कहिल्यै भुल्दैनन्। प्रसंग केही महिनाअघिको हो। करिब २९ वर्षकी युवती हिमाल चढ्न नेपाल आएकी रहिछन्। 

तर, हिमाल चढ्ने क्रममा ती युवती अस्वस्थ भइन्। बिस्तारै उनको होस् गुम्दै जान थाल्यो। त्यसपछि उनका साथी, सहयोगी लगायतले ‘बेस क्याम्पसम्म’ झारे। अनि ती युवतीलाई अस्पतालसँग समन्वय गरेर हेलिकप्टरमार्फत ललितपुरको भैंसेपाटीमा रहेको मेडिसिटीमा अस्पताल ल्याइयो। 

मेडिसिटी अस्पतालमा ल्याउँदा ती युवती अर्धचेतन अवस्थामा थिइन्। अस्पतालमा उपचार सुरू भयो। डा. प्रकाशले ती युवतीको स्वास्थ्य परीक्षण गर्दा पक्षघात (स्ट्रोक) भएको थाहा भयो। त्यसैले तुरुन्तै मस्तिष्कको शल्यक्रिया गरी उपचार गर्नुपर्ने भयो। डा. प्रकाशले कत्ति पनि ढिला नगरी ती युवतीको मस्तिष्कको शल्यक्रिया गरे। शल्यक्रिया सफल भयो। युवतीलाई पोष्ट अपरेटिभ वार्डमा सारियो। सफल उनको विस्तारै होस खुल्दै गयो। 

भोलिपल्ट बिहान ती युवती करिब सामान्य अवस्थामा फर्किइन्। अस्पतालको बेडमा आफूलाई पाउँदा युवती आत्तिइन्। अचम्मित भइन्। त्यसपछि ती युवतीले आफ्नो शल्यक्रिया गरिदिने डाक्टर को हो? भनेर सोधखोज गरिन्। डा. प्रकाशले ‘मैले शल्यक्रिया गरेको हो’ भनेर ती युवतीलाई चिनाए। 

त्यसपछि त ती युवती आफ्नो ज्यान बचाइदिएको भन्दै डा. प्रकाशलाई देखेर रुन थालिन्। अनि ‘अब चिन्ता लिनु पर्दैन, तिमी खतरामुक्त भइसक्यौ’ भनेर डा. प्रकाशले ती युवतीलाई सम्झाए। 

केहीदिनपछि उपचारकै क्रममा ती युवतीका बुवा पनि अस्पताल आइपुगेका थिए। उनका बुवालाई सुरुमा नेपालमा छोरीको उपचार होलाकी नहोला भन्ने चिन्ता लागेको रहेछ। तर, नेपालमा छोरीको सफल उपचार भएको देख्दा उनका बुवा पनि छक्क पर्दै खुसी व्यक्त गरेको डा. प्रकाशले सुनाए। करिब दश दिनको अस्पताल बसाइपछि ती युवती अस्पतालबाट डिस्चार्ज भइन्।

उपचारपछि डा. प्रकाशप्रति खुसी भएर ती युवतीले फेसबुकमा स्टाटस समेत लेखिछन्। 

‘...आई जम्प्ट अन टु लेट यु अल नो आई अलमस्ट डाइड अफ अ म्यासिभ स्ट्रोक अन माउन्ट एभरेष्ट। अपडेटः आइएम अलाइभ।...डा. प्रकाश पौडेल डिड सर्जरी अन माइ ब्रेन एण्ड सेभ्ड माइ लाइफ! हिज् दी बेष्ट,’ उनले फेसबुक स्टाटसमा लेखेकी थिइन्। 

सफल उपचार भएपछि ती अमेरिकी युवती अनि उनका साथी र परिवारको नेपालमा पनि यस्तो राम्रो उपचार हुँदो रहेछ भनेर धारणा नै परिवर्तन भएको डा. प्रकाशले महसुस गरे। अहिले पनि ती युवती सम्पर्कमा नै रहेको डा. प्रकाशले सुनाए।

समस्या ठिक भइरहँदा समेत अविश्वास गर्दै भारत गएर बिरामी फर्केपछि...
मेरुदण्ड सम्बन्धी समस्याका कारण घाँटीमा (स्पाइन सम्बन्धी) समस्या भएका एक जना बिरामीलाई उपचार गरेको प्रसंग पनि डा. प्रकाश सम्झिनै रहन्छन्। 

करिब ४३ वर्षका ती पुरुषको घाँटी दुख्ने समस्या थियो। उनी पेशाले स्वास्थ्यकर्मी (एचए) रहेछन्। अस्पताल पुगेपछि डा. प्रकाशले उनको स्वास्थ्य परीक्षण गरे। समस्या पहिचान भएपछि शल्यक्रिया नगरी नै ती पुरुषको घाँटीको समस्या ठिक हुने निष्कर्षमा पुगे उनी। 

डा. प्रकाशले ती पुरुषलाई ‘तपाईंको शल्यक्रिया नगरी फिजियोथेरापी तथा व्यायाम र औषधिले नै घाँटीको समस्या ठिक हुन्छ’ भन्ने सल्लाह दिए। त्यसपछि ती बिरामीले औषधि उपचार सुरू गराए। उनको समस्या ठिक हुँदै गयो। करिब तीन महिनासम्म ती बिरामी फलोअपमा आइनै रहेका थिए। 

एकदिन भने के सोच आए छ कुन्नी। ती पुरुषले फलोअपमा पुगेको बेला डाक्टर प्रकाशलाई भनेछन्, ‘म त एकपटक भारतको मेदान्त अस्पतालमा गएर यो रोग देखाएर आउनुपर्यो, तपाईंले सिफारिस गरिदिनुपर्यो डाक्टरसाप।’

ठिक भइरहेको बिरामी भारत गएर रोग देखाउनुपर्यो भन्दा डा. प्रकाशलाई अनौठो लाग्यो। त्यसपछि उनले ती बिरामीलाई शिष्ट भाषामा भनेछन्, ‘तपाईं मेरो उपचारले ठिक भइनै रहनुभएको छ, त्यसैले मैले उता जान सिफारिस त गर्न मिलेन।’

बिरामी ठिक हुँदाहुँदै पनि बिरामीले विश्वास नगरेको देख्दा उनलाई अनौठो त लाग्यो नै। तर, डा. प्रकाशले ती बिरामीको भइरहेको उपचारको  अवस्थाबारे भने  पूर्जामा लेखिदिए। अनि ‘ठिकै छ तपाईंलाई भारत नै जाने इच्छा लाग्यो भने एकपटक सल्लाह लिएर आउनु न त’ भन्दै मौखिक रुपमा सल्लाह दिए। 

बिरामीले भारतमा पुगेर मेदान्त अस्पतालमा स्पाइनल सर्जनलाई आफ्नो देखाएछन्। तर, त्यहाँ पनि चिकित्सकले ती बिरामीलाई बिना शल्यक्रिया औषधी र फिजियोथेरापी तथा व्यायामले नै समस्या ठिक हुने सल्लाह दिएछन्। मेदान्तका चिकित्सकले पनि डा. प्रकाशले जे सल्लाह दिएका थिए त्यही सल्लाह दिएपछि ती बिरामी फर्किएर डा. प्रकाशकहाँ नै आइपुगे। उनले पनि ती बिरामी भारतमा पुगेर आएको विषयलाई सामान्य रुपमा लिँदै ‘ठिक छ नि त, नियमित उपचार गरौं, ठिक भइहाल्न नी’ भन्दै भद्र व्यवहार र शिष्ट भाषा प्रयोग गरेर औषधि उपचारलाई निरन्तरता दिए। 

केही समयको औषधि उपचारपछि पेशाले स्वास्थ्यकर्मी रहेका ती पुरुषको स्वास्थ्य समस्या ठिक भयो। आफू ठिक भएपछि अहिले पनि ती व्यक्तिले अन्य बिरामीलाई पनि उपचारका लागि आफूकहाँ पठाइदिने गरेको डा. प्रकाशले सुनाए। त्यसैले डाक्टर र बिरामी बीचको  सम्बन्ध सुमधुर हुनुपर्ने उनको सुझाव छ। 

ती उपचार गरिरहेका बिरामीप्रति डा. प्रकाशले झर्कोफर्को व्यवहार गरेका भए उनी र ती बिरामीबीचको सम्बन्ध पक्कै सुमधुर हुने थिएन। उपचारमा पनि ती स्वास्थ्यकर्मी बिरामीले दुःख पाउन सक्थे। तर, डा. प्रकाशले भद्र र शिष्ट  व्यवहार गरेकैले ती बिरामीको उपचारमा पनि सहजता भयो। बिरामी ठिक पनि भए। 

ह्वीलचेयरमा अस्पताल पुगेका युवा शल्यक्रिया गरेको तीन महिनामा मोटरसाइकल हाँक्न थाले
करिब २१ वर्षका काठमाडौंको सुन्दरीजलका एक युवाको ढाड दुखेपछि फिजियोथेरापी गर्ने ठाउँमा फिजियोथेरापी गराएछन्। एकदिन फिजियोथेरापी गर्दागर्दै अचानक उनको दुवै खुट्टा चल्न छाडेछन्। यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘फुट ड्रप’ भनिन्छ। दुवै खुट्टा नचलेपछि ती युवालाई औषधि उपचारका लागि अस्पताल पुर्याइयो। ती युवाको खुट्टा नचल्नुको एकिन कारण पत्ता लगाउनका लागि एमआरआई गरियो। एमआरआई गरेर खुट्टा नचल्नुको एकिन कारण पत्ता लाग्यो। 

ती युवालाई ह्वीलचियरमा अस्पताल लगिएको थियो। सहज रुपमा दिसापिसाब गर्नसक्ने अवस्थामा थिएनन्, उनी। उनको मेरुदण्डको नसा च्यापिएकाले दुवै खुट्टा चलेका थिएनन्। युवाको खुट्टा सामान्य अवस्थामा फर्काउनसमेत कठिन हुने स्थिति थियो। तर, जोखिम मोलेरै डा. प्रकाशले ती युवाको खुट्टालाई सामान्य अवस्थामा फर्काउनका लागि शल्यक्रिया गर्ने निर्णय गरे। शल्यक्रिया सफल भयो। शल्यक्रिया गरेको करिब एक हप्तामा युवा खुट्टा टेक्न थाले। अस्पतालबाट वैशाखी टेकेर बिस्तारै हिँड्न सक्ने भएर घर फर्के। 

शल्यक्रिया गरेको तीन महिनापछि त ती युवाले श्रीमतीलाई मोटरसाइकलमा पछाडि राखेर फलोअपमा अस्पताल आए। अहिले ती युवाको खुट्टा सामान्य अवस्थामा रहेको र ग्रिल सम्बन्धी काम नै गरिरहेको डा. प्रकाशले सुनाए। 

विशेषगरी स्पाइनसँग सम्बन्धित समस्या भएका बिरामीहरूमा ढाड दुख्ने, खुट्टा नचल्ने लगायतको समस्या भएर कचल्टिएको जिन्दगीले पीडित भएर अस्पताल पुग्ने गरेको उनले सुनाए। 

किसानको छोरो, डाक्टर पढ्ने रहर
प्रकाश २०३५ मा बर्दियाको सिताला बजारमा जन्मिएका हुन्। सामान्य किसान परिवारका उनले गाउँकै सरकारी विद्यालयमा पढे। उनले स्थानीय कण्ठपुरको श्री विद्याज्योति माविबाट २०५२ मा एसएलसी गरे। 

एसएलसीपछि उनी आइएस्सी अध्ययनका लागि नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पस पुगे। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सो क्याम्पसबाट उनले आइएस्सी गरे। प्रकाशलाई डाक्टर बन्ने बडो इच्छा थियो। तर, उनीसँग पैसा खर्च गरेर डाक्टर पढ्ने सामर्थ्य थिएन। त्यसैले आइएस्सी पढेकै महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भएर उनी बीएस्सी पढ्न थाले। डाक्टर बन्ने सपनाकै कारणले बीएस्सी तेस्रो वर्षमा पुगेपछि महेन्द्र बहुमुखी क्याम्पसबाट सरुवा (ट्रान्सफर) भएर उनी त्रिचन्द्र कलेजमा आएर पढ्न थाले।

काठमाडौं आएपछि प्रकाशले बीएस्सी पढ्दै एमबीबीएस अध्ययनका लागि छनोट परीक्षाको तयारी निक्कै मेहनतसाथ गरे। उनले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगञ्ज चिकित्सा क्याम्पसमा एमबीबीएस अध्ययनका लागि प्रकाशले छनोट परीक्षा दिए। 

प्रकाश छनोट परीक्षामार्फत महाराजगञ्ज चिकित्सा क्याम्पसमा छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययनका लागि छनोट भए। त्यसपछि बीएस्सी अध्ययन छाडेर उनी सन् २००३ मा महाराजगञ्ज चिकित्सा क्याम्पसमा भर्ना भएर एमबीबीएस पढ्न थाले। सन् २००९ मा प्रकाशको एमबीबीएस अध्ययन पूरा भयो। प्रकाशको डाक्टर बन्ने सपना पूरा भयो। 

सन् २००९ मा त उनी डाक्टर नै भएर पर्वतको हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा पुगेर करार जागिरेका रुपमा काम गर्न थाले। पर्वतमा करिब ६ महिना काम गरेपछि उनले काठमाडौंको मोडल अस्पतालमा करिब डेढ वर्ष मेडिकल अधिकृतका रुपमा न्यूरो सर्जरी युनिटमा काम गरे। त्यही बीचमा उनले नर्सिङ क्याम्पसमा बीएस्सी नर्सिङ र बीपीएचका विद्यार्थीलाई पढाउने काम समेत गरे। 

न्यूरो सर्जरीमा गोल्ड मेडल
मोडल अस्पतालमा न्युरो सर्जरी विभागमा काम गर्दा नै उनलाई न्युरो सर्जन् बन्ने रहर जाग्न थाल्यो। त्यसैले उनी पाकिस्तानी ‘एफसिपीएस’ कार्यक्रम अन्तर्गत पाकिस्तान सरकारको छात्रवृत्ति कोटामा नै स्नातकोत्तर तह (पोष्ट ग्राजुयट)को न्यूरो सर्जरी विषय पढ्न सन् २०११ मा पाकिस्तान पुगे। त्यहाँ उनले सुरुको दुई वर्ष जनरल सर्जरी अनि तीन वर्ष न्यूरो सर्जरी विषय पढे। उनको पाँच वर्षे न्यूरो सर्जरी (एमएस इन् न्यूरो सर्जरी) अध्ययन सन् २०१६ मा सकियो। उनी न्यूरो सर्जरीको त्यो ब्याचमा गोल्ड मेडलिष्टसमेत बने।

न्यूरो सर्जरी विषयमा स्नातकोत्तर तहको एमएस अध्ययनपछि डा. प्रकाश नेपाल फर्किएर वीर अस्पतालको न्यूरो सर्जरी विभागमा काम गर्न थाले। त्यही बीचमा उनले सन् २०१७ मा जर्मनी पुगेर न्यूरो इण्डोस्कोपी सम्बन्धी तीन महिना ज्ञान तथा सीप सिकेर आए। 

तर, डा. प्रकाशले वीर अस्पतालबाट मासिक करिब २९ हजार तलब पाउँथे। त्यो तलबले उनलाई घर चलाउनै मुस्किल पर्यो। अनि प्रकाशले वीर अस्पतालमा न्यूरो सर्जनका रुपमा करार तथा ज्यालादारीका रुपमा जागिरे भएर सन् २०१८ सम्म करिब डेढ वर्ष काम गरे। त्यसपछि उनी ललितपुरको भैंसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा काम गर्न पुगे। कन्सल्टेण्ट न्यूरो सर्जन तथा स्पाइनल सर्जन डा. प्रकाशले मेडिसिटीमा काम गर्न थालेको ६ वर्ष भयो। 

उनले सन् २०२२ मा क्यानडामा पुगेर स्पाइनल सर्जरी सम्बन्धी विषयमा एक वर्षे फेलोसिप समेत गरेका छन्। त्यहाँ स्पाइनल सर्जरी सम्बन्धी ज्ञान तथा सीप सिके। डा. प्रकाशलाई थाहा भएसम्म यसरी स्पाइनल सर्जरी विषयमा विश्वविद्यालयमा नै पुगेर एक वर्षे फेलोसिप गर्ने उनी नेपालको पहिलो न्यूरो सर्जन चिकित्सक हुन्। हालसम्म उनी मेडिसिटी अस्पतालमा नै कार्यरत छन्।

बेहोसी बाजे र मस्तिष्क निस्केकी बालिकाको उपचारले न्यूरो सर्जरीमा चासो
मोडल अस्पतालमा मेडिकल अधिकृतका रुपमा काम गर्दा करिब ७५ वर्षका बाजेलाई बेहोसी अवस्थामा अस्पताल पुर्याइएको घटना सम्झिन्छन् उनी। बाजेको होस् करिब गुमिसकेको थियो। ती बाजेको एकातर्फको हर पनि नचल्ने भइसकेको थियो। त्यसैले उनको सिटी स्क्यान गरियो। सिटी स्क्यानलगायतको स्वास्थ्य परीक्षण गर्दा उनको मिस्तिस्कमा रगत जमेको थाहा भयो। त्यसरी मस्तिष्कमा रगत जम्ने अवस्थालाई चिकित्सकीय भाषामा ‘क्रोनिक सब ड्युरल हेमाटोमा’ भनिन्छ।

त्यसपछि चिकित्सकको टिमले बेहोस नै नबनाई तुरुन्तै टाउकोमा सानो प्वाल बनाएर जमेको रगत निकाल्यो। त्यसरी प्वाल बनाएर जमेको रगत निकालिसक्नासाथ ती बिरामीको शल्यक्रिया कक्षमा नै होस् खुल्यो। ती बाजेले अप्रेशन थिएटरको टेबलबाटै भने, ‘ओहो! डाक्टरसाप म त ठिक भएँ।’

००० 

उनी काठमाडौं मोडल अस्पतालमा नै काम गर्दा करिब चार वर्षकी घाइते बालिकालाई अस्पताल पुर्याइएको थियो। करिब चार वर्षकी ती बालिका झ्यालबाट भुइँमा खसिछन्। भुइँमा बजारिँदा ती बालिकाको टाउकोको मस्तिष्क नै बाहिर निस्किएछ। बजारिएर ती बालिकाको टाउकाको हड्डी पनि मस्तिष्कमा धसिएको थियो। अस्पताल पुर्याएकी ती बालिकालाई चिकित्सकको टिमले तुरुन्तै शल्यक्रिया गरिहाल्यो। उनको शल्यक्रिया गर्ने त्यो सिनियर न्यूरो सर्जनको टिममा डा. प्रकाश पनि थिए। ती बालिकाको शल्यक्रिया सफल भयो। बालिकाको ज्यान बाँच्यो। 

ती ७५ वर्षे बाजे र ती चार वर्षे बालिकाको टाउकोको शल्यक्रिया गरी बचाउन सफल भएको घटनाले डा. प्रकाशलाई न्यूरो सर्जन नै बन्ने हुटहुटी चल्यो। अन्ततः उनले यही विषय रोजे। यही विषय पढे र न्यूरो तथा स्पाइन सर्जनकै रुपमा डा. प्रकाश काम गरिरहेका छन्। 

डाक्टरको सुख-दुखको पुराना स्टोरी

साउन २६, २०८१ शनिबार १९:२२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।