विद्यार्थीले अदालत घेर्ने चेतावनी दिएपछि बंगलादेशका प्रधानन्यायाधीशले दिए राजीनामा

विद्यार्थीले अदालत घेर्ने चेतावनी दिएपछि बंगलादेशका प्रधानन्यायाधीशले दिए राजीनामा

काठमाडौं : बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले पदबाट राजीनामा दिएका छन्। तर, अरू न्यायाधीशको भने राजीनामा दिइसकेका छैनन्। 

विद्यार्थी आन्दोलनका संयोजक आसिफ महमूदले प्रधानन्यायाधीश हसनको राजीनामा माग गर्दै प्रधानन्यायाधीशलाई कुनै प्रकारकको ‘षड्यन्त्र’ नगर्न चेतावनी पनि दिएका थिए। 

त्यसपछि हसनले राजीनामा दिएको अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले जानकारी दिए। 

‘हाम्रा प्रधानन्यायाधीशले केही मिनेट अगाडि राजीनामा दिनुभएको छ। उहाँको राजीनामा पत्र कानुन मन्त्रालयमा आइसकेको छ। हामी यो पत्र ढिला नगरी राष्ट्रपति समक्ष पठाउनेछौं’, उनले शनिबार दिउँसो फेसबुकमा पोस्ट गरेको भिडिओमा भनेका छन्।

शनिबार बिहान १० बजेतिर प्रदर्शनकारीको एक समूहले बंगलादेशको सर्वोच्च अदालतबाहिर प्रधानन्यायाधीश र ७ जना न्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए। 

अन्तरिम सरकारको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका आन्दोलनका संयोजक महमूदले फेसबुकमा पोस्टमार्फत भनेका थिए, 'फासीवादलाई समर्थन गर्ने र विभिन्न कूकर्ममा संलग्न सर्वोच्च अदालतका प्रधानन्यायाधीशले सरकारसँग परामर्श नगरी अदालतको पूर्ण बैठक बोलाएका छन्। परास्त शक्तिको कुनै पनि षड्यन्त्र सैह्य छैन।'

त्यसअघि आन्दोलनकै अर्को संयोजक हसनत अब्दुल्लाले फेसबुक लाइभमार्फत समर्थकहरूलाई उच्च अदालत घेराउ गर्न आह्वान गरेका थिए। 

साउन २५, २०८१ शनिबार १६:३४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।