विद्यार्थीहरू बाहिरिनुमा विश्वविद्यालयको मात्र गल्ती होइन, रोजगारीको कमी हो : शिक्षामन्त्री

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नीतिले हस्तक्षेप गर्ने ठाउँमा नेतृत्व र दलको व्यक्तिले हस्तक्षेप बढि गरेको बताएकी छन्।
शनिबार त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको ५ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा उनले नीतिमा टेकेर काम गर्ने अवस्था नआए सम्म स्वचालित भन्ने भाषण र भाषा मात्र हुने बताइन्।
उनले भनिन्, ‘हरेक क्षेत्र आफैंमा सबल र स्वचालित हुनुपर्छ भनेर भन्छाैं भने त्यो क्षेत्रका नीति र कानून चाहिन्छ। त्यसलाई परिचालन गर्नका लागि राजनीतिक संयन्त्र र नेतृत्वहरू सशक्त र क्रियाशील हुनुपर्छ। तर, आजसम्म हस्तक्षेपकारीे नीति नहुँदा हाम्रो संस्थाहरू दुर्बल भइरहेका छन्।’
उनले अब सरकार र विश्वविद्यालयलाई जोड्न सक्नुपर्ने पनि बताइन्।
उनले भनिन्, ‘हामीले अब विश्वविद्यालयको अनुसन्धानलाई सरकारले गरेका कामहरूसँग जोड्न सक्नुपर्छ। विश्वविद्यालयको नीति बनाउँदा सबैभन्दा पहिला कुरा भनेको अनुसन्धान नीति कस्तो हुने त्यसले विश्वविद्यालयलाई कसरी निर्देशन गर्ने भन्ने कुरामा गम्भीर हुन आवश्यक छ।’
विद्यार्थीहरू बाहिरिनुमा विश्वविद्यालयको गल्ती होइन, रोजगारीको कमी भएको उनको भनाई छ।
उनले भनिन्, ‘विद्यार्थीहरू बाहिरिनुमा विश्वविद्यालयको मात्र गल्ती होइन, रोजगारीको कमी हो। नेपालको राजनीतिक अस्थिरताका कारण यहाँ केही हुँदैन, राजनीतिक स्थिरता नभएसम्म राम्रो शिक्षा पाउन सकिँदैन भन्ने खालको बहस छलफल हामी जति गर्छौं त्यति नै यहाँ विद्यार्थीहरू बस्न सक्दैनन्। हामी एकातिर विश्वविद्यालयलाई राजनीतिमुक्त गर्ने भनेर भन्छौं, अर्कोतिर हरेक समस्याको कारण राजनीति हो भनेर भन्छौं।’
साउन २६, २०८१ शनिबार १६:०९:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।