हसिनाले बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा नै नदिएको छोरा सजिबको दाबी

हसिनाले बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा नै नदिएको छोरा सजिबको दाबी

एजेन्सी : शेख हसिनाले बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा नै नदिएको छोरा सजिब वाजेदले दाबी गरेका छन्। प्रदर्शनले उग्ररूप लिएपछि हसिनाले राजीनामा दिने योजना बनाएकी थिइन्। तर, प्रदर्शनकारीहरू निवास नै घेराउ गर्न पुगेपछि उनले राजीनामा नै दिन नपाएको सजिबको दाबी छ।

'मेरी आमाले औपचारिकरूपमा राजीनामा दिनुभएको छैन। उहाँले राजीनामा दिने समय नै पाउनुभएन। उहाँ अझै पनि बंगलादेशको प्रधानमन्त्री हुनुहुन्छ,' वाजेदले वासिङ्टनबाट रोयटर्ससँग शनिबार भनेका छन्।

वाजेदका अनुसार हसिनाले एक वक्तव्य दिएर राजीनामा दिने योजना बनाएको भएपनि आन्दोलनकारीहरू प्रधानमन्त्री निवासमा र्याली गर्न थालेपछि उनले समय नै पाइनन्।

'मेरी आमाले सामान प्याक गर्ने समय पनि पाउनुभएन। संविधानअनुसार उहाँ अझै पनि बंगलादेशको प्रधानमन्त्री हो, वाजेदले भने। 

वाजेदले हसिना नेतृत्वको अवामी लिग पार्टीले आउने चुनाव लड्ने पनि बताए। उनका अनुसार चुनाव अबको तीन महिनाभित्रै सम्पन्न गरिसक्नुपर्छ।

'म अवामी लिग सत्तामा आउनेमा विश्वस्त छु। यदि आएन भने पनि हामी प्रतिपक्ष हुनेछौं," उनले भनका छन्।

बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएपछि सोमबार हसिनाले देश छाडेकी थिइन्। उनले हाल भारतको नयाँ दिल्लीमा आश्रय लिइरहेकी छन्। प्रदर्शनका क्रममा ३०० भन्दा धेरैको ज्यान गएको थियो।

अहिले बंगलादेशमा हाल अन्तरिम सरकार गठन गरिएको छ।

साउन २५, २०८१ शनिबार १५:०३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।