टिआरसी विधेयक पीडितमैत्री भएको गृहमन्त्रीको दाबी

टिआरसी विधेयक पीडितमैत्री भएको गृहमन्त्रीको दाबी

काठमाडौं  : गृहमन्त्री रमेश लेखकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक ‘टिआरसी विधेयक’ पीडितमैत्री भएको दाबी गरेका छन्।

शनिबार काठमाडौंमा भएको ‘टिआरसी विधेयक ऐतिहासिक उपलब्धि : ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरुको सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन्।

‘अहिलेको विधेयक पीडितमैत्री छ। सबै पीडितलाई एक ठाउँमा लिएर पीडितको पीडा समाधान गर्नुपर्छ,’ उनले भने, ‘कानून जस्तोसुकै भए पनि कार्यान्वयन गर्ने निकाय सक्षम हुन आवश्यक छ। पीडितको पीडा पीडितले मात्र बुझ्छ।’

यस्तै उनले बलात्कार घटना बढेकाले यसको सजाय कम नहुने बताए। बलात्कार मानवता विरुद्धको अपराध भएको उल्लेख गर्दै पीडितको पीडा बुझेर कानून कार्यान्वयनमा ध्यान दिए यस्ता घटना कम हुनेमा जोड दिए।

‘कारागारमा सबैभन्दा बढी कैदीबन्दी जबरजस्तीकरणीका छन्। रेप भनेको रेप नै हो। बन्दुक बोकेका मान्छेलाई गरे पनि साधारण व्यक्तिलाई गरे पनि,’ उनले भने, ‘बलात्कार भनेको मानवता विरुद्दको अपराध हो। यी पीडाहरुलाई हामीले अलिकति अनुभव गरेर अगाडि बढ्न सक्यौं भने बलात्कारलाई देशमा कम गर्न सक्छौँ।’

साउन २५, २०८१ शनिबार १३:२७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।