पछिल्लो दुई दिनमा ललितपुरका सात जनामा हैजा पुष्टि

पछिल्लो दुई दिनमा ललितपुरका सात जनामा हैजा पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा तीन जनामा हैजा संक्रमण पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार पछिल्लो २४ घण्टामा ललितपुर जिल्लामा तीन जनालाई हैजा संक्रमण पुष्टि भएको हो।

महाशाखाका अनुसार पछिल्लो ४८ घण्टामा ललितपुरमा सात, काठमाडौं र रुपन्देहीमा एक–एक जना गरी नौ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै देशभर हैजा संक्रमितको संख्या ४७ पुगेको छ। यो साउन १ गतेदेखिको तथ्याङ्क हो। अहिलेसम्म ललितपुर, काठमाडौं र रुपन्देहीसहित कैलाली र प्यूठान गरी देशका पाँच जिल्लामा हैजा देखिएको छ।

साउन १ गते यता ललितपुरमा ३४, कैलाली आठ, प्यूठान र काठमाडौं दुई–दुई तथा रुपन्देहीमा एक जना हैजाबाट संक्रमित छन्।

हैजा संक्रमण देखिएको ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४, ललितपुर महानगरपालिका वडा नम्बर ८, महलक्ष्मी नगरपालिकामा रोकथामका उपाय र जनचेतना फैलाउने काम भइरहेको छ।

त्यसैगरी काठमाडौं महानगरपालिका, धनगढी उपमहानगरपालिका, गौमुखी गाउँपालिका र रुपन्देहीको बुटवल उपमहानगरपालिकामा पनि जनचेतनाका कामहरु अघि बढाइएको महाशाखाले जनाएको छ।

भारी वर्षा र त्यसपछि आएको बाढीले पानीका स्रोत दुषित हुँदा हैजा फैलिएको महाशाखाले आफ्नो रिपोर्टमा जनाएको छ।

साउन २६, २०८१ शनिबार ११:१२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।