तनहुँमा ह्वात्तै बढ्यो डेंगी, नौ दिनमा २६२ जना संक्रमित

तनहुँमा ह्वात्तै बढ्यो डेंगी, नौ दिनमा २६२ जना संक्रमित
फाइल तस्बिर

काठमाडौं : तनहुँमा डेंगी सङ्क्रमण ह्वात्तै बढेको छ।

पछिल्लो नौ दिनमा देशभर ५८३ जनामा डेंगी संक्रमण हुँदा तनहुँमा मात्र २६२ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रणमा महाशाखा (इडीसीडी)ले जनाएको छ।

अगस्ट महिना लागेसँगै एकैपटक यति धेरै संक्रमण अन्य जिल्लामा देखिएका छैनन्। इडीसीडीका अनुसार तनहुँपछि कास्कीमा ४७ जनामा डेंगी संक्रमण देखिएको छ।

नौ दिनमा संक्रमण हेर्दा तनहुँमा डेंगी व्यापक रुपमा फैलिएको देखिएको छ। पछिल्लो सात महिनामा जिल्लामा ३२१ जनालाई डेंगी देखिएकोमा अगस्ट महिनाको नौ दिनमा ह्वात्तै संक्रमण बढेको हो।

पछिल्लो सात महिना नौ दिनमा देशका चार जिल्लामात्र डेंगी मुक्त हुन सकेका छन्। जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङमा यस अवधिमा डेंगी देखिएको छैन।

संक्रमणबाट अहिलेसम्म एक जनाको मृत्यु भएको छ। उनमा डेंगीसँगै अन्य रोग समेत रहेको महाशाखाले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ।

साउन २५, २०८१ शनिबार १०:५०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।