बालबालिकाको जनसंख्या वृद्धिदर ऋणात्मक, बालिकाभन्दा बालकको संख्या ३ लाख ६० हजारले बढी

बालबालिकाको जनसंख्या वृद्धिदर ऋणात्मक, बालिकाभन्दा बालकको संख्या ३ लाख ६० हजारले बढी
तस्बिर- सेभ द चिल्ड्रुेन नेपाल

काठमाडौं : देशमा बालबालिको जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार पछिल्लो एक दशकमा बालबालिकाको जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले जानकारी दिए।

उनका अनुसार २०५८ बाट २०६८ मा बालबालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर ०.४६ प्रतिशत रहेकोमा २०६८ बाट २०७८ मा पुग्दा यो ऋणात्मक भएर -१.१ प्रतिशत हुन पुगेको हो।

यस दश वर्षको अवधिमा समग्र जनसङ्ख्या १०.१ प्रतिशतले थपिँदा बालबालिकाको जनसङ्ख्या १०.९ प्रतिशतले घट्न गएको देखिएको छ। जसमध्ये बालकको तुलनामा बालिकाको जनसङ्ख्या करिब ४ प्रतिशतले कमी आएको छ।

बालबालिकाको अनुपात
बालबालिकाको लैङ्गिक अनुपात १०७.६ जना अर्थात प्रति १०० जना बालिकामा १०७.६ जना बालक रहेको छ। समग्र बालबालिकाको जनसङ्ख्यामा बालकको जनसङ्ख्या बालिकाको भन्दा करिव ३.६ लाखले बढी रहेको छ।

देशको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेकोमा बालबालिका (१८ वर्षभन्दा कम उमेरका अर्थात् ० देखि १७ वर्षसम्मका)को जनसंख्या ९८ लाख ६९ हजार ५८३ जना अर्थात ३३.८ प्रतिशत रहेको छ। जसमध्ये बालक ५१.८ प्रतिशत र बालिका ४८.२ प्रतिशत छन्।

देशको जनसंख्याको कुल पुरुषमध्ये बालक ३६ प्रतिशत र कुल महिलामध्ये ३२ प्रतिशत बालिका रहेका छन्।

देशमा सबैभन्दा धेरै २९.५ प्रतिशत बालबालिका १० देखि १४ उमेर समूहका छन्। दोस्रो, तेस्रो र चौथोमा क्रमशः ५ देखि ९ वर्ष, ४ वर्षभन्दा कम र १५ देखि १७ वर्षसम्मका बालबालिका छन्।

बालबालिका भएका घरपरिवार
नेपालका कुल परिवार ६६,६६,९३७ मध्ये ७१.३ प्रतिशत परिवारमा कम्तीमा एक जना १८ वर्षभन्दा मुनिका बालबालिका रहेका छन्। सबैभन्दा बढी तराईका ७६.१ प्रतिशत परिवारमा बालबालिकाको बसोबास रहेको छ भने सबैभन्दा कम पहाडका परिवारमा कम बालबालिका बसोबास रहेको देखिएको छ।

अर्धशहरी र ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा कम बालबालिका छन्। अर्धशहरी क्षेत्रमा ७६.४ प्रतिशत र ग्रामीण ७०.५ प्रतिशत बालबालिका हुँदा शहरी क्षेत्रमा मात्र ६५ प्रतिशत बालबालिका बसोबास गर्छन्।

बालबालिकाको बसोबास बागमती र गण्डकी प्रदेशका परिवारमा अन्य प्रदेशको तुलनामा कम देखिएको छ।

परिवार अन्तर्गत बालबालिकाको उपस्थिति
नेपालका एकल परिवारमा ५४.१ प्रतिशत र ४५.९ प्रतिशत संयुक्त परिवारमा कम्तीमा एक जना बालबालिका छन्। मधेश र सुदूरपश्चिम प्रदेशमा करिव बराबर पारिवारिक संरचना (एकल र संयुक्त)मा बालबालिकाको बसोबास रहेको छ।

मधेश र सुदूरपश्चिमबाहेकका अन्य प्रदेशमा संयुक्त परिवारमा भन्दा एकल परिवारमा बालबालिकाको बसोबास रहेको छ।  यसले परिवारको संरचना एकल परिवारतर्फ उन्मुख भएको देखिएको छ।

परिवारमुलीका रूपमा बालबालिका
नेपालमा ३१ हजार ५१२ जना (कुल परिवारमा ०.४७ प्रतिशत) बालबालिका परिवारमुली रहेको छन्। परिवारमुली बालबालिकामध्ये ५३ प्रतिशत बालक र ४७ प्रतिशत बालिकाले जिम्मेवारी वहन गरिरहेका देखिन्छन्।

प्रदेशहरूबीच तुलना गर्दा बालिका परिवारमुली हुने परिवार सबैभन्दा कम मधेश (२६.९ प्रतिशत) र बागमती (४३.९ प्रतिशत) र अन्य प्रदेशमा सर्वाधिक (५० प्रतिशत भन्दा बढी) रहेको छ।

बालबालिका र विवाह
देशका १० देखि १७ वर्षसम्मका कुल बालबालिकामध्ये १.६ प्रतिशतको विवाह भएको देखिन्छ। विवाहित बालवालिका सर्वाधिक (२.६प्रतिशत) कर्णालीमा र सबैभन्दा न्यून (१.१प्रतिशत) बागमतीमा रहेको देखिन्छ।

हिमाल, पहाड र तराईको विश्लेषण गर्दा गणनाको समयमा २० देखि २४ वर्ष उमेर भएका पुरुष र महिलामध्ये १८ वर्ष उमेर पूरा नभई हुने बाल विवाह सर्वाधिक (१५.४प्रतिशत) तराईमा छ भने हिमालमा १४.९ प्रतिशत र पहाडमा १२.२ प्रतिशत मात्र छ। यसबाट बाल विवाहको समस्या तराई र हिमालमा भन्दा पहाडमा न्यून रहेको देखिन्छ।

बालबालिका र साक्षरतादर
५ वर्ष र सोभन्दा माथिल्लो कुल जनसङ्ख्यामध्ये ९४.१ प्रतिशत साक्षर रहेको देखिएको छ।

साक्षर बालबालिकामध्ये ४६.१ प्रतिशतले प्राथमिक तह, ६ प्रतिशतले एसईई वा सोसरह र सोभन्दा माथिको तह उत्तीर्ण गरेका छन्।

नेपालमा अझै पनि ५.४ प्रतिशत बालबालिका कहिल्यै विद्यालय नगएका छन् भने बीचमै पढ्न छाडेका ५.३ प्रतिशत देखिन्छ। विद्यालय नजाने बालबालिका हिमाल र पहाडको तुलनामा तराईमा सर्वाधिक (८.० प्रतिशत) रहेको छ।

पहाडमा यो केवल १.९ प्रतिशत रहेको छ। प्रादेशिक तहमा हेर्दा १४ प्रतिशतसहित मधेस सबैभन्दा उच्च अवस्थामा छ भने गण्डकी १.१ प्रतिशतसहित न्यूनतम अवस्थामा छ।

बालबालिका र आर्थिक कामको वर्गीकरण
नेपालका १० देखि १७ वर्षका बालबालिकामध्ये ३० प्रतिशत कुनै न कुनै आर्थिक काममा संलग्न रहेको अवस्था छ। हिमालमा यो मान ३७ प्रतिशत रहँदा पहाडमा ३३ प्रतिशत र तराईमा सबैभन्दा कम अर्थात् २७ प्रतिशत छ।

आर्थिक काम गर्नेमध्ये ५३.५ प्रतिशत घरको सरसफाइ, भान्साको काम, कृषि तथा वनजन्य हातैले गरिने काम, खानीसँग सम्बन्धित काम आदि प्राथमिक पेशामा संलग्न छन्। आर्थिक काम गरिरहेकामध्ये नेपालका १३.७ प्रतिशत बालबालिकाले अरूको काम गरेको देखियो।

१८ वर्षभन्दा मुनिका घरेलु कामदारको हैसियतमा परिवारभित्र रहेका बालबालिका नेपालमा ०.०३ प्रतिशत रहेको देखिन्छ।

देशका कुल बालबालिकामध्ये ७८ प्रतिशत आमाबाबु दुवैसँग र १७ प्रतिशत आमासँग मात्र बसोबास गरिरहेको देखिन्छ भने करिव ५ प्रतिशत बालबालिका आमा, बावु वा दुवैसँग बसोबास नगरेको देखिएको छ।

किशोरी आमाको संख्या
बालबालिकाको उमेर समूहभित्र पर्ने किशोरी आमा (१३ देखि १७ वर्षसम्म) १५ हजार १२५ जना रहेका छन्। किशोरी आमामध्ये सर्वाधिक (४८.४ प्रतिशत) तराईमा छन् भने हिमालमा ७.६६ प्रतिशत रहेका छन्। शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा किशोरी आमा बढी छन्।

साउन २५, २०८१ शनिबार १०:१६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।