कविता- ट्रेडिसनल बालापन
मोबाइलको विकल्पमा होक्रेन, गुच्चा अनि चुङ्गी,
जोन सिनादेखि ग्रेट खलीसम्म
कुन कति किलोको थियो सबै कण्ठै,
इलास्टिकको पाइन्ट अनि खोजी भरी गुच्चा,
पाइन्ट कम्मरबाट उँधो झरेको पत्तै नहुने,
नाकभरी सिँगान अनि हातभरी होक्रेन खन्दाको माटो,
माया स्नेहले नितान्त कर्तव्यबोध बिर्सायो
गर्छु भन्दा पनि गर्दिन्छु भन्ने उत्तरधारीको जमात बढ्यो,
अबको पुस्ताले त्यो अनुभवबाट बञ्चित नै होलान्,
मोडर्निजमलाई हिलो मन पर्दैन,
किनकी ऊ सफा छ, ऊ सुगर छ,
डन्डिबियोको खोपी खन्ने ठाउँ छैन यहाँ,
माटो पूरेर लपक्क ढलान र पिचले मोरेका छन्
जमिनमा पानी सोस्ने ठाउँ छैन, अनि घरैपिच्छे बोरिङ चाहिया छ,
जमिनलाई पानी सोस्नेबाट बञ्चित गराउने हामी मानव
अनि खोलाले आतङ्क मचायो भनेर पीडा पोख्ने पनि हामी नै,
हाम्रो कार्यशैली नै गलत,
उँधाे बगाएर उमो खोज्ने प्रकारको पुस्ता हामी,
छिमेकीसँगको सहकार्यमा बिहे गाउँलेले टार्थे, अहिले पार्टी प्यालेसलाई हस्तान्तरण गरियो,
बिहेको रौनक रत्यौलीको ठेट चलनलाई परिमार्जन गर्दै स्पिकर जमाना स्वीकारियो,
पुरानो शैली नकार्दै, ज्ञानधारी शैली अपनाइयो,
भनिन्छ, ३६ वर्षे पिएचडीधारी भन्दा ७१ वर्षीय बा सँगको अनुभवले कार्यमा तिखारता आउँछ
ट्रेडिसनल बालापनको मोह बिर्साउने विदेशीपनको झझल्कोले भरिएको समाज,
आज चिउरा खाँदैन, बिटन राइस खान्छ,
आलु खाँदैन फ्रेन्स फ्राइ खान्छ,
मकैलाई पपकर्नमा परिणत गरे,
चौर मासिए, गेम सेन्टर उत्पन्न भए,
अब पुरानै शैलीको जस्तो रौनक कहाँ पाइएला र खै?
साउन २६, २०८१ शनिबार ०९:३७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।