‘मन्दिर बन्नु विकास होइन’

‘मन्दिर बन्नु विकास होइन’

हामीले ‘फुपू’ भनेनौँ; ‘दिदी’ भन्यौँ। त्यसैले हाम्रा फुपाजू पनि कोही भएनन्, भिनाजु भए। यिनै भिनाजुमध्ये एक- पाण्डव भिनाजु।

तीनपाटन फाँटको सिरानको गाउँ शाखामाढी। शाखामाढीभन्दा तल्लो गाउँ- शाखाजोर। गाउँबाट अलि हटेर थुम्को परेको ठाउँमा एउटा घर। यसैको आधारमा गाउँलेहरू डाँडाघरे भन्दा रहेछन्। थुम्को सानै भए पनि ठाडो। उक्लिदा खुट्टा गल्ने। पसिना आउने। थुम्को वरिपरि आँप, कटहर, अम्बा, आरुबखडा आदिका बोट। केही बाँसका झ्याङ पनि र भुँइमा छपक्कै भुँइकटहर।

हाम्रो बगैचामा आँपका बोट धेरै थिए, रुखकटहर, आरुबखडा र भुँइकटहर थिएनन्। तर, सिजनमा यिनको खाँचो हामीलाई कहिल्यै लाग्न पाएन। तरकारी खाने अवस्थादेखि पाकेको खाने अवस्थासम्म पटकौंपटक रुखकटहर पठाइन्थ्यो- शाखाजोरबाट। हजुरआमा पाककलामा निपुण। हजुरबा विशिष्ट स्वादको पारखी। हजुरबा आफैँ पनि पकाउनु हुन्थ्यो। बा पनि पकाउनु हुन्थ्यो। हजुरबाबाट बामा सरेको होला- त्यो गुण।

हजुरआमा बालाई ‘नानी’ भनेर सम्बोधन गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो- ‘नानी मिठो पार्छ खानेकुरा, नमिठो खानै सक्दैन आफू पनि।’

हामी बाको पाककलाले हजुरआमाको सीपलाई पछ्याएको अनुभव गर्दथ्यौँ। कलिलो तामा, झिँगनी र रुखकटहरको तरकारीको पाककलामा हाम्री हजुरआमालाई उछिन्ने व्यक्ति मैले भेटेको छुइनँ। सिजनमा केही रुखकटहर बेलघारीको सामुदायिक बोटको कटहर झारेको दिन पठाइ दिनुहुन्थ्यो- साहिँली दिदीले पनि। तर, शाखाजोरबाट धेरै आउँथ्यो।

ती दिन तीनपाटनमा फलफूल बेच्ने चलन थिएन। कसैकहाँ केही फलफूल पाकेको छ भने त्यो बाँड्ने गरिन्थ्यो। हामी आँप बाड्थ्यौँ। त्यही थियो धेरै। भुँइकटहर चैँ माथ्लाघरे ठूलाबाको घरबाट र शाखाजोरबाट बाक्लै आउँथ्यो। मलाई चै यो अमिलो पनि लाग्ने, खिर्याए जस्तो पनि लाग्ने।

अझै पनि मेरो मनपर्ने फलफूलमा पर्दैन- भुँइकटहर। बेलघारीमा गाउँको सिरानमा आँप र गाउँको बीचमा कटहरका अग्ला-अग्ला रुख थिए। यी रुखबाट आँप र कटहर झार्ने दिन गाउँका सबैलाई खबर हुन्थ्यो र झारिसकेपछि सबै घरलाई दामासाहीले बाँड्ने गरिन्थ्यो। जुन घरपरिवारको उपस्थिति हुँदैनथ्यो, उसको घरमा पठाइन्थ्यो। बेलघारीको सामुदायिकताको यस्तो नमूना तीनपाटन फाँटका अन्य गाउँमा देखिएन।

कटहरबाहेक शाखाजोरबाट आउने गर्दथ्यो- बाँसको मुना। हाम्रोतिर बाँसको कलिला मुना खोज्न जंगल जानु पर्दथ्यो। खोज्न जाने मानिसहरू मुना पलाउने समयताका बाँसको झ्याङमा भालु बसेको हुन्छ भन्थे, डराउँथे।

पाण्डव भिनाजुले भने घरको तल खोल्सानेर तामेबाँस लगाउनु नै भएको थियो। त्यसैले सिजनमा तामाको मुना खोज्नका लागि हाम्रो जस्तो जंगल जानु पर्थेन।

भिनाजु अग्लो र गोरो। उचो निधार, उच्च नाक। ती दिनमा धोती लगाउनु हुन्थ्यो। भान्सामा पनि पछिसम्म धोती फेरेरै बस्नु हुन्थ्यो। पुरुषको शारीरिक विशिष्टतालाई उति ख्याल गरिन्नथ्यो ती दिन। शारीरिक टिकाटिप्पणी बढी महिलाको हकमा हुने गर्दथ्यो।

पाण्डव भिनाजु शारीरिक बनावटमा सुन्दर हुनुहुन्थ्यो। र, सुस्पष्ट थियो- उहाँको जीवन र जगतका बारेको दृष्टिकोण पनि। आफ्नो विवेकले देखेको कुरामा कुनै काँटछाँट अनि सम्झौता नगरी स्पष्ट भन्न सक्ने मान्छे।

‘मिलाएर भन्नु पर्ने भए अरुले भन्नु। म देखेको कुरा भन्छु’, सामान्यतया सामाजिक जमघटमा भिनाजु यसै गरी भन्नुहुन्थ्यो। यो जन्मजात स्वभावमा उहाँले अन्त्यसम्म सम्झौता गर्नुभएन।

शाखाजोर जाँदा भिनाजुलाई जहिले पनि महाभारतको चाक्लो किताबसँग भेटिन्थ्यो। महाभारतको कथासँग उहाँको कति गहिरो लगाब रहेछ भन्ने कुरा तीनपाटनबाट बारा जिल्लाको मनहर्वासम्मको पैदल सहयात्राका क्रममा महसुस गर्न पाएँ मैले।

यस यात्रामा बा, पाण्डव भिनाजु र म गरी जम्मा तीन जना थियौँ। भिनाजुलाई महाभारतको मूल कथा होइन, मूल कथामा गाँसिन आएका उपकथा मात्र पनि होइन, महाभारतका कतिपय श्लोकहरू नै कण्ठस्थ थिए। हाम्रो घरमा महाभारत थिएन, रामायण थियो।

‘भानुभक्तीय रामायण’ र ‘गुणरत्नमाला’ हजुरआमाका प्रिय कृति। त्यसैले भानुभक्तीय रामायणका सबैजसो प्रसङ्ग मात्र होइन, कतिपय श्लोक पनि मलाई कण्ठ थिए। महाभारतको कथासँग भने म परिचित थिइनँ। भिनाजुले महाभारतको मूलकथा र उपकथा भन्दा म कतै अल्मलिए भने भिनाजु फेरि दोहोर्याएर त्यसलाई स्पष्ट पार्नुहुन्थ्यो।

यस यात्रामा मैले बुझें, महाभारत कथाको चर्चा परिचर्चा भिनाजुको सबैभन्दा प्रिय सन्दर्भ रहेछ। जीवन र जगतका अनेक प्रसङ्गलाई उहाँ महाभारतका कथाको उदाहरणसहित व्याख्या गर्नुहुन्थ्यो। अर्जुन महाभारतका पात्रहरूमध्ये सबैभन्दा प्रिय पात्र थियो उहाँको।

कृष्ण, अर्जुन र अभिमन्यूको सम्बन्धसूत्रको चर्चामा भिनाजु बढी रस लिनुहुन्थ्यो। सन्तानको नाम राख्ने सवालमा उहाँले खासै चासो राख्नु भएन। जेठो नातिको नाम राख्ने सन्दर्भमा भने उहाँले हस्तक्षेप गरेरै अर्जुन राख्नु भयो।

महाभारतको पात्रको रूपमा अर्जुनको चारित्रिक विशेषताप्रति भिनाजुको यति गहिरो आकर्षण थियो। भिनाजुको नाम रेवती प्रसाद अधिकारी। तर, उहाँ रेवती नामले होइन, पाण्डव नामबाट चिनिनु हुन्थ्यो। नामका रूपमा भए पनि उहाँलाई पाण्डव शब्द प्रिय थियो।

दुई सम्मानित व्यक्तिहरुका बीच हिँड्नु परेकाले तीनपाटन-मनहर्वा यात्रामा मेरो चुरोट/बिडीको तलतल संकटमा परेको थियो। छेलिएर वा कुनै बहानाले पछाडि रहेर मैले यसलाई जोगाउँदै आएको थिएँ। भिनाजुले देखिसक्नु भएको रहेछ। हामी घारीबथाननेर पुगेका थियौं, बा कतै जानु भएको थियो।

सिमलको सिँयालमा बसेको समयमा भिनाजुले भन्नु भो- ‘तिमी चुरोट बिँडी खाँदा रहेछौं। यो थाहा पाएपछि म एकप्रकारले अप्ठ्यारोमा परेको छु। तिमी यो लतमा परेकोमा मलाई दुःख छ। किनभने तिमीभन्दा पहिलेदेखि खाँदै आएकाले यसको असरसँग म तिमीभन्दा बढी परिचित छु। यो कति खराब चिज हो भन्ने कुरा मलाई तिमीलाईभन्दा बढी थाहा छ। म यसको खराबी झेल्दैछु। त्यो खराबी तिमीले पनि झेल्नु पर्ने भयो भनेर मलाई दुःख लागेको छ। यति हुँदाहुँदै पनि म तिमीलाई नखाऊ भन्न सक्दिनँ। किनभने म यो लतमा छु। यो लतबाट मुक्त नभएकाले अर्को कसैलाई तैले खानु हुँदैन भन्ने नैतिक शक्ति मसँग छैन।’

माछामासु खाए पनि ब्राह्मणको आर्यसंस्कारको परिपालनामा उहाँ कहिल्यै चुक्नु भएन। पछि वैष्णव नै हुनुभयो। उहाँ वैष्णव भएपछिको एउटा घटना म पटक-पटक सम्झिने गर्दछु। भिनाजु कदमे आउनुभएको छ। हामी दुवै खाटमा बसेका छौँ। नजिकै रेडियो छ। रेडियोमा जिल्ला समाचार प्रसारण हुँदैछ। कतै मन्दिर निर्माण भएको प्रसङ्ग छ र त्यसलाई त्यो रेडियो प्रसारणमा विकासका रूपमा चित्रण गरिएको छ।

यो प्रसङ्ग सुनेपछि भिनाजु गम्भीर देखिनुभयो र भन्नुभयो- ‘यतिबेला विद्यालय बन्नु अस्पताल बन्नु विकास हो। यतिबेला मन्दिर बन्नुलाई विकास भनेको मलाई पटक्कै चित्त बुझेको छैन। यो अहिलेको चेतना र सामाजिक आवश्यकता अनुकूल व्याख्या भएन; यो विकास होइन।’

समसामयिक चेतना यो स्तरको थियो- पाण्डव भिनाजुको।

साउन २६, २०८१ शनिबार ०७:४९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।