छ प्रदेशमा दिउँसो मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

छ प्रदेशमा दिउँसो मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज देशभर आंशिकदेखि साधारणतया मौसम बदली रहने छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षाको सम्भावना छ।

आज राति देशभर आंशिकदेखि साधारणतया मौसम बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा कोशी प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले सबैमा अनुरोध गरेको छ।

साउन २५, २०८१ शनिबार ०७:०८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।