‘शक्तिशाली’ चूडामणि पुगे डिल्लीबजार जेल

‘शक्तिशाली’ चूडामणि पुगे डिल्लीबजार जेल

काठमाडौँ : भ्रष्टाचार मुद्दामा विशेष अदालतले तोकेको ४ अर्ब १० करोड ४६ लाख बिगो बुझाउन नसक्दा सहसचिव चूडामणि शर्मा डिल्लीबजार कारागार चलान भए। उनी आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक समेत हुन्।

विशेषको फैसलाविरुद्ध उनी पुनरावेदनका लागि सर्वोच्च अदालतमा उपस्थित भएका थिए। तर उनले बिगो बराबरको बुझाउन सकेनन्। अनि कारागार चलान भए। उनी बुधवारबाट कारागारमा रहेको कारागार स्रोतले उकेरालाई बतायो।

दिएको अधिकार क्षेत्रभन्दा बाहिर गई बदनियतपूर्वक रकम चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा कर फर्स्यौट आयोग–२०७१ का पदाधिकारी तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्मालाई विशेषले दोषी ठहर गरेको थियो।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले सजाय निर्धारण गर्दै तिनै जना प्रतिवादीसँग दामासाही रूपमा बिगो भराउने फैसला गरेको थियो।

बिगो दामासाहीले भाग लगाउँदा हरेकको भागमा २ अर्ब ५ करोड ४६ लाख पर्छ। बिगोको दोब्बर सजायहुँदा रकम प्रतिव्यक्ति ४ अर्ब १० करोड पुगेको थियो।

विशेषले कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष महतलाई ९ वर्ष १ महिना र सदस्य ढकाल र विभागका पूर्व महानिर्देशक शर्मालाई नौ-नौ वर्ष जेल सजाय तोकेको थियो।

उनीहरू विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ साउन १ र २०७८ असार ९ गते दुई वटा मुद्दा दर्ता गराएकोमा पहिलो मुद्दामा १ अर्ब ३३ लाख रुपैयाँ माग दाबी गरेको थियो।

राजस्व चुहावट सम्बन्धी सो मुद्दामा तीनै जना धरौटीमा छुटेका थिए। आयोगले क्षेत्राधिकार नाघेर कर मिनाहा गरेको भन्दै १० अर्ब २ करोड बिगो कायम गरेर दोस्रो मुद्दा लागेको थियो।

अख्तियारले तत्कालीन कर फर्स्योट आयोगका पदाधिकारीले असल नियतले कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानि नोक्सानी पुर्याइ बदनियतपूर्ण काम गरेको दाबी गरेको थियो। यसमा उनीहरू दोषी ठहर भए। पुनरावेदनका लागि फैसला कार्यान्वयनको चरणमा प्रवेश गर्नुपर्ने भएपछि शर्मा आफैँ कारागारमा हाजिर भएर अदालत गएर पुनरावेदन दिए। उनले बिगो रकम तिरेको खण्डमा कारागार बाहिर बसेर पुनरावेदन गर्न सक्थे तर बिगो रकम बुझाउन नसकेपछि उनी कारागारमै फर्किए।

साउन २४, २०८१ शुक्रबार २३:२४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।