जम्बो मन्त्रीपरिषद्ले आलोचना बढाएपछि सिकेले आफ्नै पार्टीका मुख्यमन्त्रीलाई स्पष्टीकरण सोधे

जम्बो मन्त्रीपरिषद्ले आलोचना बढाएपछि सिकेले आफ्नै पार्टीका मुख्यमन्त्रीलाई स्पष्टीकरण सोधे

जनकपुर : जम्बो मन्त्रीपरिषद् गठन गरेसँगै आलोचना बढेपछि जनमत पार्टीले आफ्नै पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ।

मधेस प्रदेशमा २० सदस्यीय मन्त्रीपरिषद् पुर्याएसँगै जनमतको तीव्र आलोचना भएपछि पार्टी अध्यक्ष सिके राउतले सामाजिक सञ्जालमा गठबन्धनमा रहेका दलहरूका कारण मन्त्रिपरिषद्को सङ्ख्या बढेको भन्दै निर्णयको प्रतिरक्षाको प्रयास गरेका थिए।

तर सरकारको नेतृत्वकर्ता आफैँ भएकाले उनको बहानाको प्रभाव परेन। सुशासनको चर्का कुरा गर्ने तर आफ्नो नेतृत्वमा बनेको सरकार जोगाउन जस्तोसुकै सहमति गर्न पछि नपरेको भन्दै आलोचना बढेपछि अन्ततः शुक्रवार पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको हो।

१५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकोमा पछि पाँच जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद्को सङ्ख्या २० पूर्याएपछि प्रदेश सभाबारे भइरहेको आलोचना थप बढेको थियो।

जनमतको निर्णयको विरोधमा मधेसमा उसको प्रतिस्पर्धी दल जनता समाजवादी पार्टी नेपालको विद्यार्थी सङ्गठन आन्दोलनमा उत्रिएको थियो। जनता समाजवादी पार्टी नेपाललाई सरकारबाट हटाएर जनमत पार्टी मधेसको नेतृत्वमा पुगेको थियो।

जनमत पार्टीको जन्मसँगै यी दुवै दलबिचको सम्बन्ध शत्रुतापूर्ण बन्दै गएको बेलामा आफ्नो नेतृत्वको सरकारको आलोचना सुरु भएपछि अन्तमा जनमत आफ्नै मुख्यमन्त्रीलाई स्पष्टीकरण सोध्ने चरणमा पुगेको देखिन्छ।

यस अगाडि नै जनमत बजेटमा भएको त्रुटिमा विवादमा परेको थियो। पछि मुख्यमन्त्री सिंहले बजेटमा त्रुटि भएको स्वीकार गर्न बाध्य भएका थिए। त्यसमा राज्यमन्त्री बढाएपछि जनता समाजवादीले थप नयाँ राजनीतिक विषय पायो।

उता सामाजिक सञ्जालमा समेत जनमतको तीव्र आलोचना भयो। सिके राउत आलोचनाको केन्द्रमा परेपछि अन्तमा पार्टीसँग समन्वय नगरेको र पार्टीको निर्देशनको पालना नगरेको भन्दै शुक्रवार पार्टीको अनुशासन समितिले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गर्यो।

प्रदेशको संसदीय दलको नेतालाई छाडेर सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय सिकेले गरेका थिए। पार्टी स्रोतका अनुसार सरकारबारे सामान्य निर्णय गर्दा पनि मुख्यमन्त्री सिंहले सिकेसँग परामर्श गर्ने गरेका छन्। राज्यमन्त्री बढाउने निर्णयमा पनि उनको सहमति लिइएको थियो। तर सार्वजनिक रूपमा उनी आलोचित भएपछि आफू जोगिन सिंहलाई दोष दिँदै अन्तमा स्पष्टीकरण सोध्ने नाटक मञ्चन गरे।

मुख्यमन्त्रीलाई स्पष्टीकरण सोध्ने रणनीति पार्टीको बढ्दो आलोचना मत्थर बनाउने प्रयास मात्र देखिन्छ।

‘सबै निर्णय पार्टी अध्यक्षको सहमतिमा भएकाले अहिले मुख्यमन्त्रीलाई स्पष्टीकरण सोध्नु आलोचना मत्थर बनाउने प्रयास मात्र हो,’ जनमतका एक केन्द्रीय नेताले उकेरासँग भने।

साउन २५, २०८१ शुक्रबार २२:५७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।