कांग्रेसमा महामन्त्री वा उपसभापतिमा महिला अनिवार्य गर्न केन्द्रीय सदस्य उर्मिलाको प्रस्ताव

कांग्रेसमा महामन्त्री वा उपसभापतिमा महिला अनिवार्य गर्न केन्द्रीय सदस्य उर्मिलाको प्रस्ताव

काठमाडौँ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले पार्टी विधानमा एक महामन्त्री वा एक उपसभापति अनिवार्य महिला निर्वाचित गर्ने व्यवस्था गर्न प्रस्ताव गरेकी छिन्।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा थपलियाले पार्टी तल्लो संरचनादेखि केन्द्रीय समितिमा महामन्त्री वा उपसभापति पदमा अनिवार्य महिला निर्वाचित हुनुपर्ने प्रस्ताव अघि सारेकी हुन्।

‘राजनीतिमा महिलाहरूको उल्लेख्य सहभागिता र आकर्षण बढे पनि ‘उप’ मै सीमित राख्ने परिपाटी तोड्न जरुरी छ। संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा पनि प्रमुख-उपप्रमुखमा एक जना महिला अनिवार्य त गरियो तर प्रमुखमा महिलाहरूको सहभागिता दुई प्रतिशत पनि छैन। तर अब कांग्रेसले विधान संशोधन गरेर नयाँ अभ्यास सुरु गर्नुपर्छ। पार्टीका सबै संरचनामा एक महामन्त्री वा उपसभापति अनिवार्य निर्वाचित गर्ने व्यवस्था राखौँ,’उनले भनिन्।

उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग प्रमुख समेत रहेकी थपलियाले भ्रातृ एव शुभेच्छुक संस्थाहरूले समयमै अधिवेशन गर्न नसक्दा सङ्गठनको गतिविधिमा सुस्तता आएको उल्लेख गर्दै प्रत्येक दुई-दुई वर्षमा अधिवेशन गर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने सुझाव दिइन्।

उनले भनिन्,‘भ्रातृ एव शुभेच्छुक संस्था आफूले अधिवेशन गर्न सक्दैनन् भने सम्बन्धित जिल्ला, क्षेत्र, प्रदेश वा केन्द्रका सभापतिले आफैँ तोक्न सक्नुपर्छ र सङ्गठनलाई चलायमान बनाउनुपर्छ।’ 

साउन २३ देखि चलेको केन्द्रीय समितिको बैठकमा सुरुको दिनमा पदाधिकारीहरुको तर्फबाट परिमार्जनसहति पास गर्नुपर्ने महासमितिका प्रस्तावहरु प्रस्तुत भएको थियो। अन्य समसामयिक विषयवस्तु र संगठन परिचालन सम्बन्धी धारणा राख्ने क्रम जारी रहेको र तर बैठक साउन २८ गतेसम्ममा सकाउने तयारी रहेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।  

साउन २४, २०८१ शुक्रबार १८:२७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।