संविधान संशोधन अधिकार खोस्न हैन दिन हो : मन्त्री सिंह

संविधान संशोधन अधिकार खोस्न हैन दिन हो : मन्त्री सिंह

काठमाडौँ : उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अधिकार दिने विषयमा भएका कमजोरी हटाउन संविधान संशोधनको तयारी गरेको बताए।

शुक्रवार काठमाडौँमा आयोजित विश्व आदिवासी जनजाति दिवस मूल समारोहमा बोल्दै उनले अधिकारका विषयमा उठेका सवाल र कमी कमजोरीहरूलाई सम्बोधन गरेर सुधार गर्न संविधान संशोधनको तयारी गरिएको बताए।

‘अधिकार दिने विषयमा जुन कमी कमजोरीहरू भइरहेको छ र समाजमा उठेका असन्तुष्टिका कुराहरू छन्, त्यसलाई समाधान गर्न संविधान संशोधन गरेर समाजमा राम्रो वातावरण बनाउन सरकारले पहल गरेको हो।’

उनले संविधानको पालना गराउन, संविधानमा अपूरो भएका कुराहरूलाई पूरा गर्न र निश्चित विधि र प्रक्रियाबाट संविधान संशोधन गर्न वर्तमान सरकार बनेको दाबी गरे।

उनले प्राप्त भएको अधिकार सुरक्षित गर्दै यसलाई कार्यान्वयन गर्ने बाटोमा अगाडि बढ्नुपर्ने बताए।

‘प्राप्त भएको अधिकार सुरक्षित गर्दै यसलाई कार्यान्वयन गर्ने बाटोमा अगाडि बढ्नुपर्छ। अधिकार दिलाउने र दिलाएको कुरालाई बिर्सिने काम गर्नु हुँदैन। नयाँ संविधान जारी भएको छ, संविधानको भावना र मर्म अनुरूप शासन व्यवस्थामा पनि पालना गर्ने र संविधानले दिएको अधिकारलाई कुन कुन तहलाई दिने हो त्यो अनुसारको कानुन बनाएर अधिकारहरू दिनुपर्छ’ उनले भने।

साउन २४, २०८१ शुक्रबार १६:५८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।