टुकुचालाई भूमिगत मुक्त बनाउन बालेनलाई अदालतले रोक्यो, खोलाले आफैँ बाटो खोल्यो

टुकुचालाई भूमिगत मुक्त बनाउन बालेनलाई अदालतले रोक्यो, खोलाले आफैँ बाटो खोल्यो

काठमाडौँ :  काठमाडौँ महानगरपालिकाको मेयर भएपछि बालेन शाहले जय नेपाल हलदेखि काठमाडौँ प्लाजासम्म छोपिएको टुकुचा खोलालाई  खुलाउने प्रयास गरे।

नारायणहिटीभित्रसम्म बाहिरी सतहमै रहेको खोला त्यहाँबाट बाहिर निस्कँदा पुरै भूमिगत बनाइएको थियो। उनले खोलाको सिमाङ्कन गर्दै पुरिएको खोला खोल्न जय नेपाल हलको परिसरभित्र खोतले। खोलाको सिमाना पनि फेला पर्यो।

त्यसबीचमा टुकुचामाथि बनेका निजी भवन हटाउन अभियान अगाडि बढ्दाबढ्दै सरोकारवालाहरू अदालत गए। कोही टुकुचा छोप्न बनाएको ढलको आकार पुरातात्त्विक भएको भन्दै त्यसको संरक्षणको पक्षमा उभिए। अदालतले तत्काल सरोकारवालाहरूको पक्षमा तत्काल आदेश दियो। उता पुरातत्त्व विभागले पनि टुकुचा लुकाउन बनाएको ढल प्राचीन भएको भन्दै नभत्काउन महानगरलाई आदेश दियो।

अनि खोलालाई भुमिगतमुक्त बनाउने बालेनको प्रयास बिचैमा तुहियो। तर प्रकृतिलाई कति समय नै थुन्न सकिन्छ र। शुक्रवार अहिले काठमाडौँ महानगरपालिकाको कार्यालय बसेको काठमाडौँ प्लाजा नजिकैको सडक भासिएर टुकुचाले आकार लियो। काठमाडौँ प्लाजादेखि उत्तरतर्फको सडकमा भ्वाङ परेर सडक भासिदा यातायात आवागमन अवरुद्ध भयो।

महानगरपालिकाले गरेको अध्ययनमा जयनेपालदेखि प्लाजासम्मको ४ सय ५० मिटर क्षेत्रमा टुकुचालाई भूमिगत बनाएर त्यहाँमाथि निजी भवनहरू बनेका छन्।

महानगरले खोलाको मापदण्ड कायम गरेर पहिला जयनेपालबाट प्लाजासम्मको क्षेत्र खुल्ला गराउने प्रयास गरेका थिए। बालेन मेयरमा निर्वाचित भएसँगै महानगरले २०७९ साउन १२ मा टुकुचा खोलाबारे सूचना निकालेर ‘वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको भवन (काठमाडौँ प्लाजाको उत्तर तर्फ) देखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउनू’ भनेको थियो।

महानगरले सूचना निकाले पनि त्यहाँका स्थानीयले वास्ता गरेनन्। जब महानगर डोजर बोकेर पुगे अनि दौडधुप सुरु भएको थियो। जननेपाल हलमा लुकेको टुकुचा निकाले बालेनले। तर स्थानीयको दौडधुपले यता प्लाजा नजिक खोल्न सकेका थिएनन्। बिहीबार बेलुका प्लाजा नजिक खोला आफैँले आफ्नो बाटो खोल्यो।

साउन २४, २०८१ शुक्रबार १६:३१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।