कुलमानले भने ‘लेखा समितिमा अनावश्यक हैन, अनुसन्धानमा सहयोग हुने थप कागजपत्र पठाएका हौँ’

कुलमानले भने ‘लेखा समितिमा अनावश्यक हैन, अनुसन्धानमा सहयोग हुने थप कागजपत्र पठाएका हौँ’

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सार्वजनिक लेखा समितिमा डेडिकेटेड र ट्रङ्क लाइन सम्बन्धी अनावश्यक कागज पत्र नपठाएको दाबी गरेका छन्।

बिहीबार उनले लेखा समितिमा करिब ४० पोकाभन्दा बढी एक लाख पाना बराबरको कागजपत्र पठाएपछि समितिले अनावश्यक सामाग्री आएको भए फिर्ता पठाउने निर्णय गरेको थियो।

शुक्रवार आयोजित आकस्मिक पत्रकार सम्मेलनमा उनले लेखामा अनावश्यक कुनै कागजपत्र नपठाएको, अनुसन्धानमा सहयोग पुगोस् भनेर अदालतको फैसलादेखि अन्य छानबिनमा सहयोग पुग्न सक्ने कागजपत्रहरू पठाएको बताए।

उनले पत्रकार सम्मेलनमा आफूले कहिल्यै डिओडी डाउनलोड विवरण छैन नभनेको र यसबारे अदालतदेखि जहाँ-जहाँ प्रमाण मागिएको छ त्यहाँ बुझाएको उनले बताए।

‘अदालतमा ९० वटा मुद्दा परेको र त्यहाँ पनि बुझायौँ। सार्वजनिक लेखा समितिमा करिब दुई वर्ष छलफल चल्यो। उपसमितिले नौ महिना छानबिन गर्दा लिखित र मौखिक जवाफ दिएको र प्रमाण पनि दिएको हो,’ उनले भने ‘दुई वटा उच्चस्तरीय समिति गठन भयो। २०७६ र २०८० मा गठन भएको समितिलाई समेत सबै प्रमाण दिएका छौँ।’

उनले अहिले सार्वजनिक लेखा समितिले मागेपछि सबै प्रमाणहरू त्यहाँ पठाएको बताउँदै उनले बजारमा कराएको आधारमा सडकमा बिल दिन नसकिने बताए।

‘प्रमाण प्रस्ट छ। मागेका ठाउँमा दिएका छौँ’ उनले भने।

साउन २४, २०८१ शुक्रबार १४:४१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।