कुलमानले भने- ‘प्राधिकरणको नाफा कागजी होइन, महालेखापरीक्षको अडिटको विवरणलाई गलत कसरी भन्ने?’

कुलमानले भने- ‘प्राधिकरणको नाफा कागजी होइन, महालेखापरीक्षको अडिटको विवरणलाई गलत कसरी भन्ने?’

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणको नाफा कागजी नभएको प्रष्ट पारेका छन्।

शुक्रबार प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्। उनले पछिल्लो आठ वर्षमा विद्युत् प्राधिकरणलाई ८२ अर्ब रुपैयाँ सञ्चित नाफा भएको बताएका हुन्।

‘३५ अर्बको सञ्चित घाटालाई ४७ अर्बको सञ्चित नाफामा पुर्याउँदा ८२ अर्बको नाफा देखिएको छ। ८२ अर्बको नाफा त्यत्तिकै भएको छैन। त्यो नाफा डेडिकेडेट र ट्रंक लाइनको बिलले मात्र भएको हैन। त्यसको पनि केही अंश होला,’ उनले भने, ‘तर ८२ अर्ब नाफा महालेखापरीक्षकबाट तीन जना चार्टड एकाउन्टेन्टको संस्थाले हरेक वर्ष गरेको अडिटबाट देखिएको विवरण हो। महालेखापरीक्षकले गरेको अडिटको विवरणलाई गलत कसरी भन्ने?’

प्राधिकरण र प्रबन्ध निर्देशन घिसिङमाथि डेडिकेडेट र ट्रंक लाइनमा उठ्न बाँकी बक्यौतालाई देखाएर नाफा भएको देखाएको आरोप लाग्दै आएको थियो। त्यसलाई जवाफ दिने क्रमम उनले आज ८२ अर्ब नाफा गरेको बताएका हुन्।

यस अवधिमा विद्युतको महसुल तीन पटक गरी २५ प्रतिशत घटाएको उल्लेख गर्दै उनले यस अवधिमा कुनै पनि कम्पनी वा उत्पादनको मूल्य नघटेको पनि दाबी गरे।

प्राधिकरण टाट पल्टिन लाग्यो भन्ने हल्लाका विषयमा पनि घिसिङले प्राधिकरणको आर्थिक अवस्था सुदृढ रहेको दाबी गरेका छन्। इक्रा नेपालले गरेको सर्वेक्षणले पनि त्यसलाई पुष्टि गर्ने बताउँदै उनले एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम रहेको बताए।

उनले अगाडि भने, ‘विगत आठ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्बन्ध कम्पनीहरूमा ५६ अर्बभन्दा बढी लगानी गरेको छ। यसबाट प्रष्ट छ, संवैधानिक निकायको अन्तिम लेखा परीक्षणबाट देखिएको प्राधिरकणको नाफा कागजी होइन, यो त आन्तरिक लगानीको लागि दह्रो स्रोतका रुपमा देखिएको छ।’

प्रबन्ध निर्देशक घिसिङले विद्युत् निर्यातको परिणाम वर्षैपिच्छ बढिरहेको भन्दै गत वर्षमा आयात भन्दा निर्यात बढी गरिएको बताए।

‘प्राधिकरणले गत आर्थिक मात्र १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको छ,’ उनले अगाडि थपे, ‘१६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात भएको छ। आयातभन्दा १३ करोड रुपैयाँको बढी विद्युत् निर्यात गरेको छ।’

साउन २४, २०८१ शुक्रबार १४:१७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।