इजरायल र हमासलाई युद्ध विराम गराउन अमेरिका, इजिप्ट र कतार सक्रिय, निकाले संयुक्त वक्तव्य

इजरायल र हमासलाई युद्ध विराम गराउन अमेरिका, इजिप्ट र कतार सक्रिय, निकाले संयुक्त वक्तव्य

एजेन्सी : इजरायल र हमासलाई युद्ध विराम र बन्धक रिहाइ सम्झौताको लागि वार्ता पुनः सुरु गर्न अमेरिका, इजिप्ट र कतारले आह्वान गर्दै संयुक्त वक्तव्य जारी गरेका छन्।

वक्तव्यमा अमेरिकी राष्ट्रपति जो बाइडेन, इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल-सिसी र कतारका अमिर शेख तमिम बिन हमद अल थानीले हस्ताक्षर गरेका छन्।

क्षेत्रीय तनावलाई नियन्त्रण बाहिर जानबाट रोक्न तीन देश सक्रिय भएका हुन्। वक्तव्यमा सम्झौताको ड्राफ्ट तयार भएको तर कार्यान्वयनको पक्षबारे निष्कर्षमा पुग्न बाँकी रहेको उल्लेख छ।

दोहा वा काहिरामा अगस्त १५ मा हुने आयोजना हुनसक्ने वार्तामा वार्ताकार पठाउन इजरायल तयार देखिएको छ तर हमास मौन छ।

गत हप्ता हमासका नेता इस्माइल हनियेहको हत्या भएपछि इरानले इजरायललाई दोष दिँदै प्रतिरोध गर्ने चेतावनी दिइरहेको छ।

संयुक्त वक्तव्यमा, तीन देशले इजरायल र हमासलाई अगस्त १५ मा वार्ता पुनः सुरु गर्न आग्रह गरेका छन्। मध्यस्थकर्ताको रूपमा आवश्यक भएमा कार्यान्वयन गर्न बाँकी रहेका मुद्दाहरूको समाधान गर्ने अन्तिम प्रस्ताव प्रस्तुत गर्न तयार रहेको वक्तव्यमा उल्लेख छ।

अमेरिकी रक्षा सचिव लोयड अस्टिनले बिहीबार साँझ इजरायली रक्षा मन्त्री योआव गालान्टसँग क्षेत्रमा अमेरिकी सेनाको परिवर्तनबारे जानकारी दिन र इजरायलको रक्षाका लागि समर्थनबारे छलफल गरेका थिए।

‘मैले गाजामा बन्धकहरूलाई रिहा गर्ने युद्ध विराम सम्झौता निष्कर्षमा पुर्याउनुको महत्त्व पनि जोड दिएँ,’ उनले भनेका थिए 'धेरै चरणका वार्ताहरू भए पनि, युद्ध विराम र बन्धक रिहाइ सम्झौता हुन सकेको छैन।

हमास युद्ध विरामको लागि दबाब दिइरहेको छ, तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमास पराजित गरेपछि मात्र युद्ध विराम हुने दाबी गर्दै आएका छन्। हमासको बन्धनमा नेपाली नागरिक विपिन जोशी समेत छन्।

बिहीबार, इजरायलले गाजा पट्टीमा बमबारी जारी राखेको थियो। इरान वा यसका सहयोगीहरूबाट इजरायलमा आक्रमण हुनसक्ने जोखिम बढिरहेको छ। इजरायलले सुरक्षाको कारण बिहीबार क्याबिनेटको बैठक भूमिगत बङ्करमा राखेको थियो।

साउन २४, २०८१ शुक्रबार १३:२७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।