धावनमार्गबाट फर्कियो श्री एयरलाइन्सको विमान

धावनमार्गबाट फर्कियो श्री एयरलाइन्सको विमान

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ।

उक्त विमान धावनमार्गबाट उड्नै लाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो। आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिइन्।

‘विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो, एक्कासी विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए’, उनले भनिन्।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काएर अहिले सुर्खेत उडानको तयारीमा रहेको बताए।

‘प्राविधिक समस्याका कारण होइन, दुई-चार जना यात्रीबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्,’ उनले भने, ‘नागरिक उड्डयनको मापदण्डअनुरुप यात्रीबीच विवाद भएपछि अर्को प्रक्रिया पुर्याएर यात्रीलाई गन्तव्यमा लैजानुपर्ने हुन्छ।’

उक्त विमान विहान १० बजे त्यसतर्फ उडेको छ।

साउन २४, २०८१ शुक्रबार १०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।