आज ३०औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

आज ३०औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

काठमाडौं : ३०औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

नेपालका आदिवासी जनजातिहरूले पनि सन् १९९३ देखि प्रत्येक वर्ष अगस्त ९ लाई विशेष नारा र कार्यक्रमसहित आदिवासी जनजातिहरूको अधिकारमुखी आन्दोलनको रूपमा मनाउँदै आएका छन्।

दिवसका अवसरमा आज बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ। त्यसैगरी आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि आयोजना गरेको छ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसंघको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो।

संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो।

उक्त दिवसका लागि संयुक्त राष्ट्रसंघको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन्। सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ।

सोही सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले पनि काठमाडौंमा कार्यक्रमको आयोजना गरेको छ।

साउन २४, २०८१ शुक्रबार ०८:३२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।