बंगलादेशको अन्तरिम सरकारका तीन सदस्यले लिएनन् शपथ

बंगलादेशको अन्तरिम सरकारका तीन सदस्यले लिएनन् शपथ

एजेन्सी : नोबल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा बिहीबार राति सवा नौ बजे शपथ ग्रहण गरे।

युनुस बाहेक सरकारमा सामेल हुने १६ मध्ये १३ जनालाई राष्ट्रपतिले सपथ खुवाए। बाँकी तीन सदस्य भने उपस्थित थिएनन्।

सुप्रदीप चक्मा, विधान रञ्जन रोय र फारुक-ए-आजम राजधानी बाहिर रहेकाले उनीहरूको शपथ ग्रहणमा सहभागी हुन नसकेको ढाका ट्रिब्युनले जनाएको छ।

अन्तरिम सरकारमा राजनीतिक दलबाट कसैलाई पनि सहभागी गराइएको छैन। महिला अधिकारकर्मी, प्राध्यापक, अवकाश प्राप्त सैन्य अधिकारी, कानून व्यवसायी लगायत अन्तरिम सरकारमा सहभागी छन्।

सपथ लिनेहरूमा आरक्षण विरोधी विद्यार्थी आन्दोलनका नेतृत्वकर्तामध्ये दुई नाहिद इस्लाम र आसिफ महमूद पनि थिए। समाचारमा बताइए अनुसार शपथ ग्रहण समारोहमा करिब ४०० जना सहभागी थिए।

समारोहमा बेलायत, जापान, चीन, फिलिपिन्स, इरान, अर्जेन्टिना, कतार, नेदरल्याण्ड र युएईका कूटनीतिज्ञहरूको सहभागिता रहेको थियो।

अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनेसँगै मोहम्मद युनुस तत्कालका लागि जमुनास्थित राज्यको गेष्ट हाउसमा बस्नेछन्।

हसिनाले देश छोडेपछि प्रदर्शनकारीहरू प्रधानमन्त्री निवास गणभवनमा तोडफोड र लुटपाट मच्चाएकाले त्यहाँ बस्नसक्ने अवस्था छैन। त्यसकारण युनुसलाई तत्कालका लागि गेष्ट हाउसमा राख्न लागिएको हो।

आरक्षणविरोधी आन्दोलनले हिंसात्मक रुप लिएपछि हसिना भागेर अगस्ट ५ मा दिल्ली पुगेकी थिइन्।

साउन २४, २०८१ शुक्रबार ०७:५९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।