‘सतीदेवी’सँग भिड्दै प्रधानमन्त्रीले अभिनय गरेको ‘नमेटिने घाउ’
काठमाडौं : हलमा दुई वटा नेपाली फिल्म जुध्नु सामान्य नै मानिन्छ। किनभने यसअघिका फिल्महरू ५ वटासम्म भिडेका छन्। मुख्य प्रतिस्पर्धी मानिने हिन्दी र दक्षिण भारतीय फिल्मसँग जुध्नुपर्ने नेपाली फिल्म आफैंआफैंमा जुधेर कमाई गर्न नसकेका थुप्रै उदाहरण छन्। आगामी भदौ ७ मा पनि यस्तै हुँदैछ।
त्यसदिन लक्ष्मण सुवेदीले निर्माण गरेको फिल्म ‘सतीदेवी’सँग प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनय गरेको फिल्म ‘नमेटिने घाउ’भिड्न आइपुगेको छ। एक महिना अघिबाट भदौ ७ लाई सतीदेवी टिमले बुक गरेको थियो। यही मितिमा रमित ढुङ्गानाले निर्माण तथा निर्देशन गरेको फिल्म ‘नमेटिने घाउ’ जुध्न आइपुगेको हो।
फरकफरक कथावस्तुमा निर्माण भएको फिल्म भएपनि बक्स अफिस कलेक्सनमा भने असर पर्ने देखिन्छ। एकै दिन हलमा २ नेपाली फिल्म लाग्दा दर्शक बाँडिने सम्भावना पनि उत्तिकै छ। यसकारण दुवै फिल्मका फिल्ममेकर मर्कामा पर्ने निश्चित छ।
गत साउनमै प्रदर्शन हुने भनिएको ‘सतीदेवी’को प्राविधिक काम नसकिएको भन्दै एकाएक प्रदर्शन मिति परिवर्तन गर्यो। एकलौटी प्रदर्शनमा ल्याउन चाहेका लेखकसमेत रहेका सुवेदीले फिल्मको प्राविधिक काम नसकिएको भन्दै प्रदर्शन मिति भदौ ७ पुर्याए।
सतीदेवीको यसअघि पोस्टर तथा टिजरसहित ट्रेलर रिलिज भइसकेको छ भने ‘नमेटिने घाउ’को बिहीबार काठमाडौंको नयाँबानेश्वरस्थित वान सिनेमाज्मा पत्रकार सम्मेलन गर्दै ट्रेलर रिलिज गरियो। २ मिनेट २४ सेकेण्ड लम्बाइको ट्रेलर सार्वजनिक गर्दै फिल्मको प्रमोसनसमेत थालेको छ।
आफ्नो फिल्म अर्कोसँग जुध्ने भएपछि फिल्मका निर्देशक ढुङ्गानाले फिल्मबाट पैसा कमाउने भन्दा पनि ज्युँदो मान्छेको बायोपिक बनाउन पाउँदा खुसी लागेको बताए। उनको मनसाय फिल्मले कमाई नगरे पनि आत्मसन्तुष्टि हुने कुरामा दिए।
उनले यो फिल्ममा एसिड आक्रमणका पीडितको पीडा र संघर्षलाई समावेश गरेका छन्।
फिल्ममा एसिड आक्रमणमा परेकाहरूले नै अभिनय गरेका छन्। जसमा मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, प्रभात पल ठकुरी, आरती आचार्य, सुरवीर पण्डित, सुनिल कटुवाल, अपेक्षा न्यौपाने, क्रान्ति शाह, आरजु लेखक, एलिसा गुरुङ लगायत ३३ जनाले अभिनय गरेका छन्।
त्यस बाहेक यो फिल्ममा प्रधानमन्त्री ओलीका अलवा पूर्व प्रधानमन्त्री माधव नेपाल,पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अभिनय गरेका छन्।
यो फिल्ममा शिवम् अधिकारीको लेखन तथा पटकथा रहेको छ।
यता सतिदेवीमा मलिका महतका अलावा हर्षिका ओली, मञ्जिला बानियाँ, भोलाराज सापकोटा लगायतका कलाकारहरूले अभिनय गरेका छन्।
यो फिल्मलाई निर्देशक सुवेदीले नै लगानी गरेका छन्।
साउन २४, २०८१ बिहीबार २१:४५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।