बङ्गलादेशमा दुई आन्दोलनकारी विद्यार्थी नेतासहित युनुसको अध्यक्षतामा १६ जनाको सल्लाहकार परिषद् गठन

बङ्गलादेशमा दुई आन्दोलनकारी विद्यार्थी नेतासहित युनुसको अध्यक्षतामा १६ जनाको सल्लाहकार परिषद् गठन

एजेन्सी : बङ्गलादेशमा नोबेल पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनूस नेतृत्वमा १६ सदस्यीय अन्तरिम सरकार गठन भएको छ। युनुससहित अन्तरिम सरकारका सदस्यले बिहीबार बेलुका बङ्गलादेशका राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ लिए।

द डेल्लीस्टारका अनुसार १६ सदस्यमा दुई जना आरक्षण विरोधी आन्दोलनका विद्यार्थी नेता समेत छन्। राष्ट्रपति मोहम्मद शाहबुद्दीनले अन्तरिम सरकारको मुख्य सल्लाहकारको रूपमा युनूसलाई शपथ खुवाए। उनी बिहीबारै पेरिसबाट बङ्गलादेश फर्किएका थिए।

आरक्षण विरोधी आन्दोलनको नेतृत्वमा रहेका दुई प्रमुख संयोजक नहिद इस्लाम र असिफ महमूद पनि अन्तरिम सल्लाहकार परिषद्को सदस्यमा नियुक्त भएका छन्।

सल्लाहकार परिषद्मा राजनीतिक दलका प्रतिनिधि सहभागी छैनन्। महिला अधिकारकर्मी, प्राध्यापक, अवकाश प्राप्त सैन्य अधिकारी, कानुन व्यवसायी लगायत सल्लाहकार परिषद्मा सहभागी भएका छन्।

आरक्षण विरोधी आन्दोलनका क्रममा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत भागेपछि निर्वाचन लगायतका जिम्मेवारी सहित सल्लाहकार परिषद् गठन भएको हो।

साउन २३, २०८१ बिहीबार २१:४०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।