एमालेमा बढ्दैछ गुटबन्दी!, ओलीलाई मनाउन नसक्दा ‘१० भाइ’को बिचल्ली

एमालेमा बढ्दैछ गुटबन्दी!, ओलीलाई मनाउन नसक्दा ‘१० भाइ’को बिचल्ली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली बेलाबेलामा पार्टीभित्र गुटबन्दी बढ्दै गएको भन्दै तर्सिरहन्छन्। पार्टीको ९ औं अधिवेशनबाट नेता माधव नेपाललाई हराएर अध्यक्ष निर्वाचित भएका ओली त्यसयता पार्टीभित्र सर्वेसर्वा जस्ता  छन्। पार्टीमा उनको जायज आलोचना गर्ने नेता समेत भेट्न  मुस्किल छ। पार्टीमा उनको 'एसमेन' बन्ने प्रतिष्पर्धा पार्टीको तलदेखि माथिसम्मै बढ्दै छ। पार्टीमा उनकै गुटको प्रभाव छ। तर उनी नै गुटको विपक्षमा मत राख्छन्।

‘डेमोक्रेसीका नाममा जब पार्टीभित्र गुटबन्दी गरिन्छ, पार्टी उँभो लाग्दैन। संसारमा कुनै पनि पार्टी गुटबन्दीले उँभो लागेका छैनन्। स्थिर रहने पार्टीहरूले गुटबन्दी गर्दैनन्, हुँदैन र सहँदैन। पार्टी ओरालो लाग्नु छ भने गुटबन्दीको बाटो समाउँछ’, ओलीले आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित नयाँ केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहमा भनेका थिए। 

एमालेमा अहिलेसम्म अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमालसहितका नेताहरूको प्रभाव बढी छ। तर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा सक्रियतासँगै पार्टीमा उनको गुटलाई चुनौती दिने समूह बन्दै गएको छ।

भण्डारीले वैशाख १ मा एमालेको सदस्यता नवीकरण गरेसँगै एमालेमा अहिले ओलीसँगै भण्डारी समूहको प्रभाव बढिरहेको देखिन्छ। उनको गुटमा ईश्वर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, गोकुल बास्कोटा, विनोद ढकाल, कर्ण थापा लगायतका नेताहरू छन्। पार्टीबाट सरकारमा एकलौटी प्रतिनिधित्व गराउने ओलीले वर्तमान सरकारमा आफूले चाहेकालाई मात्र मन्त्री बनाउन सकेनन्। मन्त्रिपरिषद्मा भण्डारी समूहका सदस्यलाई पनि सहभागी गराउन बाध्य भए। 

भण्डारीसँगै पार्टीमा उपाध्यक्ष विष्णु पौडेलको पनि छुट्टै समूह छ। पार्टीका विभिन्न जिम्मेवारी बाँडफाँडमा यो गुट सक्रिय देखिन्छ। अर्कोतफ पूर्वमाओवादीबाट एमालेमै रहेका नेताहरूको छुट्टै समूह छ। जसको नेतृत्व उपाध्यक्ष रामबहादुर थापा बादलले गर्ने गरेका छन्। तर, यो समूह एमालेमा अस्तित्व रक्षाकै संघर्षमा छ।

एमालेमा अर्को गुट छ, १० भाइ समूह। भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम आचार्य, अमृत बोहोरा र रघुजी पन्तलाई एमालेमा ‘१० भाइ’ समूह भनेर चिनिन्थ्यो। अहिले भुसाल एकिकृत समाजवादीमा गइसकेका छन्। 

यो समूह तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सत्तारूढ दल नेकपाभित्र अन्तरसंघर्ष चल्दा जन्मिएको थियो। ओली समूहले संसद विघटनको समर्थन गर्दा माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड समूहले त्यसको आलोचना गरेका थिए।

त्यसबेला १० भाइ समूह ओलीको विपक्षमा उभिए। नेकपा विभाजन भएर माओवादी र एमाले पूर्ववत् अवस्थामा फर्किएपछि १० भाइ समूह माधव नेपाल खेमामा उभियो। पछि माधव नेपालले पार्टी विभाजन गरेपछि उनीहरु नेपालसँग गएनन्। एमालेमै बसे। उनीहरुले एमाले अध्यक्ष ओलीसँग १० बुँदे सहमति गरेर एमालेमा बसेका थिए।

 विद्रोह गरेरै भएपनि एमालेमै रहेका उनीहरुमध्ये भीम रावल र घनश्याम भूसालको त राजनीति नै धरापमा पर्यो। १० औं महाधिवेशनमा ओलीसँग अध्यक्ष लडेका रावल एमालेमै छन्। सुदूरपश्चिमका प्रभावशाली मानिने रावलले गएको निर्वाचनमा टिकटसमेत पाएनन्। गएको निर्वाचनमा टिकट नपाएपछि घनश्यामले त्यही बेला विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिए। रावललगायतका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिने आँटसमेत गरेनन्। अन्ततः घनश्यामले एमाले नै परित्याग गरे। अहिले उनी एकीकृत समाजवादीमा छन्। 

अहिले भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञावाली, अमृत बोहोरा निष्क्रिय प्राय : छन्। योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य र रघुजी पन्त सांसद छन्। तर, पार्टीभित्र उनीहरुले उल्लेख्य जिम्मेवारी पाएका छैनन्। सरकार गठनको समयमा योगेशको नाम मन्त्रीमा हुँदाहुँदै अन्तिममा काटियो। गएको हप्ता ओलीले आफूनिकटका गुरुप्रसाद बराललाई पार्टीको उपाध्यक्षलगायत पार्टीको प्रदेश इन्चार्ज तोक्दा पनि यो समूहलाई किनारामा पारियो।

योगेश कोशी प्रदेशको इन्चार्ज बन्न खोजेका थिए। तर, पाएनन्। उनलाई संसदीय विभाग प्रमुख बनाइयो। युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, अमृत बोहरा, रघुजी पन्तहरूलाई जिम्मेवारीमा पाखा लगाइयो। 

उनीहरु गुमाएको ओलीको विश्वास फर्काउन सक्रिय नै देखिन्छन्। गिरीबन्धु टी-स्टेट जग्गा घोटला प्रकरण लगायतमा ओली संकटमा पर्दा  सकडदेखि सदनसम्म जवाफ दिन योगेश भट्टराई, रघुजी पन्त सक्रिय छन्।  

मन्त्रिपरिषद्‌मा सधैं उपेक्षा 
गएको संसदीय निर्वाचनपछि माओवादीका अध्यक्ष प्रचण्डले एमालेसँग मिलेर सरकार बनाए। त्यसबेलाको मन्त्रिपरिषद्मा पनि १० समूहमा सांसद रहेका चारै जनाले अवसर पाएनन्। 

त्यसपछि गत २०८० फागुन २१ मा कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्ड एमालेसँग मिले। एमालेले प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्रीहरू पठाउँदा फेरि उनीहरु उपेक्षामा परे। 

त्यसयता कांग्रेस-एमाले गठबन्धनबाट पछिल्लो ओली नेतृत्वको सरकार बन्दैगर्दा भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्टले मन्त्री बन्न निकै जोडबल गरे। त्यहीअनुरुप नै योगेशलाई संचार मन्त्री बनाउने लगभग निश्चित भए पनि  अन्तिममा उनको नाम काटियो, पृथ्वीसुब्बा गुरुङ मन्त्री भए।

सरकारमा मात्रै हैन संसदीय जिम्मेवारीमा पनि यो समूहले अवसर पाएको छैन। बरु पहिलो पटक सांसद बनेका महेश बर्तौला सबैभन्दा व्यस्त सांसद बनेका छन्। प्रमुख सचेतकदेखि महत्वपूर्ण राजनीतिक संयन्त्रणमा उनी नै सहभागी हुने गरेका छन्। अनुभवी योगेश लगायतका नेताहरुको हैसियत सांसद मात्र छ।

साउन २३, २०८१ बिहीबार २१:१०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।