२८ सय पुग्न नेप्सेको सङ्घर्ष, पूर्व अर्थमन्त्री महतले लगाए इन्साइडर ट्रेडिङको गम्भीर आरोप
काठमाडौँ : यो साताको अन्तिम दिन बिहीबार साढे ११ बजेतिर सेयर बजार २८ सय विन्दुमा पुग्यो। ११ : २३ बजे २ हजार ८ सय ९ विन्दुमा पुगेको बजार धेरै समय टिक्न भने सकेन। १३ मिनेटकै अन्तरालमा २ हजार ७ सय ८८ विन्दुमा झर्यो।
गत बिहीबार नेप्से परिसूचक २ हजार ७ सय ५५. ६२ विन्दुमा बन्द भएको थियो। यो बिचमा सोमबार २८ सय नजिक २ हजार ७ सय ९६.३९ विन्दुमा नेप्से परिसूचक पुगेको थियो। मङ्गलवार बजारमा पहिरो गएर २ हजार ६ सय ५१ मा पुगेको बजार सम्हालिँदै २ हजार ७ सय ५९ हुँदै बिहीबार २ हजार ७ सय ६६ मा पुगेर बन्द भयो।
बिहीबार बजारमा उतारचढाव कायमै रह्यो। १२ बज्न लाग्दा नेप्से परिसूचक पुन २ हजार ८ सय ६ मा पुगेको थियो। तर परिसूचक झरेर २ हजार ७ सय ४५ सम्ममा आइपुगेको बजार ६.७० विन्दुले बढेर २ हजार ७ सय ६६.३८ मा पुगेर बन्द भयो।
नेप्से सूचकमा यो सामान्य सुधार मात्रै हो। तर जुन गतिमा नेप्से परिसूचक बढ्यो त्यो रूपमा कारोबार रकम भने निराशाजनक रहेन। लगभग परिसूचक ७ विन्दुले बढ्दा पनि कारोबार रकम भने २० अर्ब रुपैयाँभन्दा बढी भयो।
बिहीबारको बजारमा १३ मध्ये ६ वटा समूहका सूचक बढ्दा ७ कम्पनीको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भयो।
बिहीबार ३ सय २२ कम्पनीको ५ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भयो। १ अर्ब २० करोड रुपैयाँभन्दा बढी कारोबार भएर शिवम् सिमेन्ट्स अग्रस्थानमा रह्यो। दोस्रोमा हिमालयन रिइन्सुरेन्स र तेस्रोमा निफ्रा उच्च कारोबार हुने सूचीमा परे।
सेयर बजारमा उतार चढाव हुँदा एकै उप समूहले बजार धानेका छैनन्। हरेक दिनको कारोबारमा धेरै कमाउने क्षेत्र बदलिन्छन्। बिहीबार सिमेन्ट उद्योगहरूको धेरै कमाउने कम्पनीको सूचीमा परे।
कर्णाली विकास बैङ्क, शिवम् सिमेन्ट,घोराही सिमेन्ट, मध्य सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स र सर्वोत्तम सिमेन्ट्सको सेयर १० प्रतिशत बढेको थियो।
एनआरएन इन्फास्टक्चर एन्ड डेभलपमेन्ट, सानिमा बैङ्कको डिवेन्चर, लुम्बिनी विकासको डिवेन्चर,आरम्भ चौतारी लघुवित्त र रुरु जलविद्युत परियोजना सबैभन्दा धेरै गुमाउने कम्पनीमा परे।
सांसददेखि धितो पत्र बोर्डसम्मको चासो
यो हप्ता बढ्दो सेयर बजारबारे प्रतिनिधि सभामा राम्रै छलफल भयो। पूर्व अर्थमन्त्री तथा सांसद प्रकाश शरण महतदेखि स्वतन्त्र सांसद अमरेशकुमार सिंहसम्मले सेयर बजारको ट्रेन्डबारे प्रतिनिधि सभाको बैठकमा प्रतिक्रिया दिए।
महतले सेयर बजारमा कतै कृत्रिम कारोबार त भएको छैन भनेर चिन्ता व्यक्त गरेका थिए। उता अमरेशले भने केही लगानीकर्ताहरूको नामै लिएर ती कम्पनीको सेयर कसरी बढिरहेको छ भनेर प्रश्न गरेका थिए।
संयोग हो वा उनीहरूको सम्बोधनको प्रभाव दोस्रो दिन सेयर बजारमा पहिरो आयो। लगानीकर्ताहरूको संस्थाहरूले संयुक्त विज्ञप्ति निकालेर प्रतिनिधि सभामा बोल्नै दुवै सांसदसँग क्षतिपूर्ति समेत मागे।
बिहीबार डा. महतले नेप्सेभित्र काम गर्ने कर्मचारीकै मिलेमतोमा पुँजी बजारमा इन्साइडर ट्रेडिङ हुने गरेको दाबी गरेका थिए। बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा उनले आफू अर्थमन्त्री भएको बेलामा धितो पत्र बोर्डले नेप्सेमा भित्रका सूचना लिएर (इन्साइडर ट्रेडिङ) हुने गरेको बोर्डले जानकारी दिएको खुलासा गरेका थिए।
सोही बैठकमा नेपाल धितो पत्र बोर्डका अध्यक्ष महेश बरालले पछिल्लो समय हल्लाले सेयर बजारको मूल्य निर्धारण भइरहेको बताएका थिए।
उनले कम्पनीको मूल्य उसको वित्तीय कारोबार र प्रतिफलमा हुनुपर्नेमा पछिल्लो समय हल्लाले बजारमा मूल्य निर्धारण भइरहेको तर्क गरेका थिए।
साउन २३, २०८१ बिहीबार २०:२८:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।