प्राधिकरणले लेखा समितिमा पठायो डेटिकेटेड तथा ट्रङ्क लाइनसम्बन्धी ३० पोका कागजपत्र

प्राधिकरणले लेखा समितिमा पठायो डेटिकेटेड तथा ट्रङ्क लाइनसम्बन्धी ३० पोका कागजपत्र

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिले मागेको डेटिकेटेड तथा ट्रङ्क लाइन सम्बन्धी कागजपत्र मिनी टाटामा राखेर पठाएको छ।

लेखाको यस अगाडिको बैठकमा समितिले उद्योगहरूको टीओडी मिटरको विवरण पेस गर्न निर्देशन दिएको थियो। सो निर्देशन अनुसार प्राधिकरणले गाडीमा राखेर  टीओडी मिटरको लगसिट रहेको ३० पोका र २ वटा इन्डेक्स फाइल सेतो कपडामा बेर लेखा समितिमा बुझायो।

बिहीबार प्राधिकरणका कर्मचारीले पोकामा रहेका विवरणसहितको पत्रसहित लेखा समितिको सिंहदरबारमा रहेको कार्यालय पुगेका थिए।

लेखामा बुझाएको पत्रमा डेडिकेटेड ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ६१ उद्योगीको सूची, एमपावर लेजर,सञ्चालक मनोज कुमार मिश्र र सञ्चालक भक्तबहादुर पुनको प्रतिवेदन, टीओडी डेटा डाउनलोड विवरण,लोड प्रोफाइलसहितको टीओडी मिटर डाटा डाउनलोड विवरण, लगसिट,अदालतको फैसला, २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रहेको महसुस सम्बन्धी विल लगायतका विवरणहरू रहेको उल्लेख छ।

लेखा समितिले प्राधिकरणलाई पत्र पठाएर टीओडी मिटरको रेकर्डसहित मनोज मिश्र, भक्तबहादुर पुनको प्रतिवेदन समेत मागेको थियो। सोमबार तीन दिनको म्यादसहित पत्र आएकाले बिहीबार सबै कागजपत्र कार्यालय समय अगाडि बुझाएको हो।

सरकार बदलिएसँगै डेडिकेटेड र ट्रङ्क लाइन महसुल सम्बन्धी विवाद पुन बल्झिएको थियो। बक्यौता उठाउन प्राधिकरणले उध्योगीहरुको लाइन काटेपछि प्रधानमन्त्री केपी ओलीले लाइन जोड्न निर्देशन दिएको थियो।

सार्वजनिक लेखा समितिले यसमा चासो राख्दै प्राधिकरणका अधिकारीलाई छलफलमा बोलाउँदै शुक्रवारकै बैठकबाट कुलमान घिसिङलाई कारबाहीको सिफारिसको प्रतिवेदनको ड्राफ्ट बनाए पनि माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदहरूको असहमतिका कारण निर्णय रोकिएको थियो।

साउन २३, २०८१ बिहीबार १९:३२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।