८ वर्षपछि ‘नरसिंहाः अवतार’बाट कमब्याक गर्दै राजेश हमाल
काठमाडौं : निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’को निर्माण घोषणा गरिएको छ।
सार्वजनिक गरिएको थिम पोस्टरले युद्धको संकेत गरेको छ। थिम पोस्टरमा रातो र नीलो रङ प्रयोग छ। दायाँमा रातो (आगो) र दायाँतर्फ नीलो समुद्रको रङ छ। यसले फिल्मको कथा युद्ध र शान्तिको हुने संकेत गरेको छ। पोस्टरमा नरसिंहाको उग्र अवतार छ।
हिन्दू मान्यताअनुसार नरसिंहाको अर्थ भगवान विष्णुको उग्र अवतार हो। नरसिंह रूप यो दश अवतारमध्ये चौथो अवतार हो। नरसिंह नामका अनुसार यस अवतारमा भगवानको आधा पुरुषको र आधा शरीर सिंहको धारण गरेका थिए।
मान्यता अनुसार दैत्य हिरण्यकश्यपले भगवानसँग तपस्या गरेका थिए र चलाखीपूर्वक वरदान मागेका थिए। त्यसपछि सबै देवताहरूले शिवको शरण लिए र नरसिंहको क्रोध शान्त गर्ने कुरा गर्न थाले। नरसिंहको क्रोध शान्त गर्न शिवले सर्वेश्वरको अवतार लिनुपरेको थियो। दुवैबीच १८ दिनसम्म युद्ध चल्यो र १८ औँ दिनमा भगवान नरसिंहले थाकेर आफ्नो प्राण त्याग गरेका थिए।
शान्तिका लागि द्वन्द्व हुने थिम पोस्टरले संकेत गरेको यसले पनि चलचित्र द्वन्द्वप्रधान हुने प्रष्ट छ। आगो र पानीले आफ्नो अस्तित्व एकै ठाउँमा रहेर जोगाउन सक्दैनन्। त्यसैले यो लडाइमा कसले जित्छ भन्ने हो।
यही फिल्मबाट राजेश हमाल कमब्याक गर्दैछन्। हमाल लामो समयको ब्रेकपछि फिचर फिल्ममा अभिनय गर्ने निर्णयमा पुगेका हुन्। यो फिल्मका लागि आइतबार हमालले निर्माण पक्षसँग कागजी सम्झौता पनि गरेका थिए।
महानायक भनेर चिनिने हमाल सेतो पर्दामा नदेखिएको आठ वर्षभन्दा धेरै भइसकेकाले यो फिल्म उनीसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ। हमाल लामो समय फिल्मबाट अलग हुँदा दर्शकले उनलाई ठूलो पर्दामा खोजिरहेका छन्।
क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने चलचित्रको जनरा खुलाइए पनि निर्माणपक्षले कथाबारे केही जानकारी गराएको छैन।
हमालको अपोजिटमा नायिका को हो, अन्य मुख्य कलाकार को–को हुन्, निर्माता को हो भन्नेबारे पनि निर्देशकले केही खुलाएका छैनन्। थिम पोस्टर पनि यसमा मौन छ।
फिल्मको लगानी भने तीन करोडभन्दा माथि हुने बताइएको छ।
साउन २४, २०८१ बिहीबार १६:१४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।