कानून समितिबाट सर्वसम्मतीले पारित भयो टीआरसी विधेयक

कानून समितिबाट सर्वसम्मतीले पारित भयो टीआरसी विधेयक

काठमाडौं : संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ। 

सिंहदरबारमा आज बसेको समिति बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको हो।

बैठकमा समिति सभापति विमला सुवेदीले प्रतिवेदनको मस्यौदालाई प्रस्तुत गरिएको रुपमा नै पारित भएको घोषणा गरेकी हुन्। 

उनले  भनिन्, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदनको मस्यौदालाई प्रस्तुत भएकै रूपमा पारित भएको घोषणा गर्छु।’   

उनले समितिबाट पारित भएको विधेयकलाई संसद्को अर्को बैठकमा पेस गर्नेगरी पत्राचार गर्ने बताइन्।

संसदको बैठक २९ साउनलाई तोकिएको छ।
   
बैठकमा कानूनमन्त्री अजय कुमार चौरासियाले मानव अधिकार उलंघन गर्ने, पीडितलाई न्याय दिने, गल्ती गर्नेलाई सजाय गर्ने लगायतका विभिन्न सवालमा दलहरुबीचको सहमति महत्वपूर्ण रहेको बताएका थिए। 

साउन २३, २०८१ बिहीबार १५:४६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।