काभा महिला भलिबल उपबिजेता नेपाली टोलीलाई सम्मान गर्दै बालेनले भने 'उत्कृष्ट प्रदर्शन गर्नुभयो'

काभा महिला भलिबल उपबिजेता नेपाली टोलीलाई सम्मान गर्दै बालेनले भने 'उत्कृष्ट प्रदर्शन गर्नुभयो'

काठमाडौं : काठमाडौं महानगरपालिकाले काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपबिजेता नेपाली टिमका सदस्य र प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ।

खेलाडीहरूमा कप्तान अरुणा शाही, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी, पुनम चन्द, संगम महतो, कविता भट्ट, कामना विष्ट, प्रगति नाथ, शान्तिकला तामाङ, साफिया पुन र आरती सुवेदी गरी १४ जनालाई १ लाख रुपैयाँसहित सम्मान गरिएको हो।

त्यस्तै, प्रशिक्षक जगदिश भट्ट, सहायक प्रशिक्षक भरत यादव, फिजियो लोकेन्द्र कँवर र व्यवस्थापक निलम बज्राचार्यलाई जनही ५० हजार रुपैयाँ दिइएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

त्यसक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताए।

उनले खेलाडीहरूसँग भने, ‘तपाईंहरूले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो। खेलमा कुनै कमजोरी थिएन। खेलले सबै नेपालीलाई एउटै ठाउँमा उभ्याएको थियो। यसकारण तपाईंहरूको प्रदर्शनले भलिबल राष्ट्रिय खेल भएको प्रमाणित भएको छ।’ 
 
खेलको प्राविधिक पक्षमा चर्चा गर्दै उपप्रमुख सुनिता डंगोलले उत्साह र जोश लिएर खेल मैदानमा जानु नै जित भएको उल्लेख गरिन्।

सम्मानका क्रममा मुख्य प्रशिक्षक भट्टले, महानगरपालिकाको प्रोत्साहनले आगामी प्रतिस्पर्धामा दक्षिण एसियाली मुलुकहरूमा उत्कृष्ट नतिजा प्राप्त गर्ने हौसला मिलेको बताए। 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सामाजिक समितिका संयोजक रामकुमार केसी., वित्त समितिका संयोजक इश्वरमान डंगोल, राजस्व समितिका संयोजक नवराज पराजुलीसहित पदाधिकारीहरूले खेलाडीहरूलाई सम्मान तथा प्रोत्साहन प्रदान गरेका थिए। 

बुधबार काठमाडौंको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा ३–२ सेटले नेपाल भारतसँग स्तब्ध भएको थियो। 

उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० सोझो सेटमा हराएको थियो। भारतलाई फाइनलमा हराउन सकेको भए नेपाली महिला भलिबल इतिहासमा ठूलो उपाधि हुने थियो। 

साउन २३, २०८१ बिहीबार १५:३३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।