'हवाई दुर्घटना भएपछि जाँचबुझ आयोग बनाएर मात्र हुँदैन, नेपाली आकाशकै अध्ययन गरौं'

'हवाई दुर्घटना भएपछि जाँचबुझ आयोग बनाएर मात्र हुँदैन, नेपाली आकाशकै अध्ययन गरौं'

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे हवाई दुर्घटनाको छानबिन गर्न बनेका आयोगहरूले प्रतिवेदन बुझाउन ढिलो गर्ने अनि बुझाएका प्रतिवेदनसमेत कार्यान्वयनमा नआएका कारण नेपाली आकाश असुरक्षित बनेको बताएका छन्। 

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध एवं पर्यटन समितिको बैठकमा मन्त्री पाण्डेले बुधबार भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे पनि जानकारी गराए। 

मन्त्री पाण्डेले दुर्घटना हुनेबित्तिकै छानबिन समिति बनाएर मात्र दुर्घटनामा न्यूनीकरण गर्न नसकिने उल्लेख गर्दै नेपालको समग्र हवाई प्रक्रियाको अध्ययन गर्न जाँचबुझ आयोग गठन गर्नुपर्ने बताए। 

उनले भने, ‘अब हामीले सधैं छानबिन आयोग, जाँचबुझ आयोग बनाइरहने, आयोगले प्रतिवेदन दिन ढिलाई गर्ने र आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा नजाने हो भने नेपाली आकाश थप जटिलतामा फस्दै गयो भनेर बुझे हुन्छ। अब नेपालको समग्र हवाई सुरक्षाको बारेमा अध्ययन गर्नुपर्दछ। सिस्टममाथि नै अध्ययन गर्नुपर्ने जरुरी देखियो।’

नेपाली आकाश असुरक्षित बन्दै जानुको कारण कानुनी, नीतिगत, संरचनागत के समस्या हो त्यसको अध्ययनका लागि प्राविधिक र जनशक्ति लगायतका विषयमा अध्ययन गर्न समिति गठन गर्नुपर्ने र त्यसका लागि प्रधानमन्त्रीले निर्देशन दिइसकेको उनले बताए। 

बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा बुधबार एयर डाइनोस्टीको हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो। 

साउन २३, २०८१ बिहीबार १५:११:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।