पूर्व सिडिओ ठाकुरप्रसादको हिजोको कुरा : गिरिजाले नौ वर्षअघि नै अवकाश गराए, वीरेन्द्रलाई ‘हुन्न सरकार’ भनेर जवाफ फर्काएँ
ठाकुर प्रसाद कोइराला उमेरले ८५ पुगे। पाल्पाको बगनासकाली गाउँपालिका (साविक दरुङगा)मा जन्मिएका उनले वैदारबाट सुरु गरेको सरकारी जागिर सहसचिवसम्म पुगेर २०४९ सालमा अवकाश पाए।
कोइरालाले थाहा पाउँदा गाउँमै विद्यालय नै थिएन। त्यतिबेला चण्डी, बेद लगायतका किताबहरू पढ्ने गर्थे उनी। घरमा धुलौटे माटोले क ख लेखिन्थ्यो। अलि पछि बाँसको खबेटामा अक्षर लेख्न सिकाइयो। उनी त्यसरी नै अक्षर चिनेका व्यक्ति हुन्।
उनले थाहा पाउने बेलामा पाल्पाको तानसेमा अंग्रेजी विद्यालय खुलेको थियो। पछि उनले त्यहि विद्यालयमा पढे। घरबाट हिँडेर विद्यालय पुग्न दुई घण्टा लाग्ने भएपछि विद्यालय नजिकै डेरा लिए उनले।
शुक्रबार विद्यालय छुट्टी भएपछि घर जान्थे अनि भोलिपल्ट साँझमा डेरा फर्किन्थे। उनी कक्षा १० मा पढ्दा उनकी आमा बितिन्। त्यसपछि टुहुरो भएका उनले त्यहि दुःखलाई शक्तिमा बदले अनि अध्ययनमा नै आफूलाई केन्द्रीत राख्न थाले।
अध्ययनसँगै सरकारी जागिरमा प्रवेश गरेका उनले राजाको प्रत्यक्ष शासनकालदेखि बहुदल अनि प्रजातन्त्र हुँदै गणतन्त्रसम्म देखे। उनले आफूले भोगेका र अनुभव गरेका जीवनका विभिन्न कालखण्डबारे उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा यसरी स्मरण गरेका छन्ः
धुलौटोमा कखरा
मैले थाहा पाउँदा लेख्नलाई कलम हुँदैनथ्यो। कटुसको पात पकाएर मसी बनाइन्थ्यो भने बाँसको खबटाले लेखिन्थ्यो। त्यतिमात्र होइन, बलौटे माटोमा हातको औंलाले पनि लेख्न सिकिन्थ्यो। पछि-पछि पहाडे कागजहरू आउन थाले। त्यतिबेला पकाएको मसीले लेखेको तमसुकहरू कहिल्यै नमेटिने रहेछ।
त्यतिबेला गाउँघरमा बालबच्चलाई पढ्नुपर्छ भन्ने पनि थिएन बुवाआमालाई पढाउनुपर्छ भन्ने पनि चेतना थिएन। घरको काम नगराएर के पढाउनु भन्थे अधिकांशले। घाँस दाउरा पढाउनुपर्छ भन्ने सोचाइ थियो त्यतिबेलाका मानिसहरूमा।
मेरो हजुरबुवा पढेलेखेको हुनाले उहाँले हामीलाई पढाउनुभयो। त्यति बेलाको समयमा उहाँले चैँ कसरी पढ्नुभो, म अहिले पनि सोचमग्न हुन्छु।
पढाइकै क्रममा मैले २०१६ सालमा एसएलसी दिएँ। त्यतिबेला पनि मेरो एकदमै उत्कृष्ट नम्बर आयो। पद्मोदय पाल्पा पब्लिक हाइस्कुल स्कुल भन्थेँ त्यतिबेला। अहिलेको जस्तो क्याल्कुलेटर त्यतिबेला पाइँदैनथ्यो। मुखैले हिसाब गरिन्थ्यो।
पाल्पामा त्यतिबेलाका शिक्षकहरू एकदमै राम्रा थिए। दरबारमा युवराज दीपेन्द्रलाई पढाउने अंग्रेजी शिक्षक नानु प्रसाद श्रेष्ठ र राजेश हमालका बुबा चुँडाबहादुर हमालले हामीलाई पढाउनुहुन्थ्यो। सारै राम्रो अंग्रेजी पढाउने शिक्षक उहाँहरू।
०००
हजुरबाले त्यतिबेला भएका कानूनका किताबहरू पनि घरमा राख्नुभएको थियो। ज्योतिष पनि जान्नुहुन्थ्यो। त्यतिबेला मुलुकी ऐन भन्ने किताब थियो।
मान्छेहरू आएर मुद्दा मामिला भयो भने के गर्ने भनेर छलफल गरेको कुरा अहिले जस्तो लाग्छ। कानूनको बारेमा मेरो हजुरबुबासँग गाउँघरका मान्छेहरू बसेर छलफल गर्थे। उहाँले उचित सल्लाह दिनुहुन्थ्यो। म छेउमा बसेर सुन्थेँ।
बोलेको कुरा पूरा गर्नुपर्थ्यो उहाँलाई। ढाँट्न छल्न पाइदैनथ्यो। त्यतिबेलामा मान्छेहरू समयमा पक्का थिए।
त्यसबेला घुस खायो, पलोभनमा पर्यो भन्ने थाहा हुँदा जागिरसँगै इज्जत पनि जान्थ्यो। जागिरभन्दा बढी इज्जतको डर हुन्थ्यो। त्यसैले पनि कर्मचारीले घुस खाँदैनथे। ठूल्ठूला सचिवहरूको पनि जागिर जान्थ्यो, सानातिनाको के कुरा भयो र! अहिले त खै कसलाई के को डर छ र? त्यतिबेला दरबारको डर थियो।
त्यो समयमा अहिलेको जस्तो एउटा बिहे गरेपछि अर्को नगर्ने भन्ने थिएन। मेरो हजुरबुवाका दुईटी श्रीमती। हामी हामी जेठीतिरका नातिनातिना। मेरो बुवाले पनि दुई विवाह गर्नुभएको। जेठीपट्टि चारजना छोरा-छोरी। मेरो दुई जना दिदी र एक जना दाजु हुनुहुन्छ।
‘भारतको बाटो भएर काठमाडौं आउनुपर्थ्यो’
म वि.सं. २०१३ सालमा पहिलो पटक काठमाडौं आएको। त्यतिबेला काठमाडौं आउन अहिलेको जस्तो सहज थिएन। घरबाट हिँडेर बुटवल पुगेपछि त्यहाँबाट भारतको नौतनवा हुँदै रक्सौलसम्म रेलमा जानुपर्थ्यो।
त्यसपछि नेपाली रेल चढेर अमलेगन्जसम्म आउनुपर्थ्यो। अमलेखगन्ज आउँदा उकालो चढ्नुपर्ने भएकाले रेल एकदमै ढिला हिँड्थ्यो। झरेर पिसाब फेरेर फेरि त्यहि डिब्बा भेट्टाइन्थ्यो। त्यसपछि अमलेखगन्जबाट भिमफेदीसम्म गाडी चढेर आएपछि त्यहाँबाट फेरि हिँड्नुपर्थ्यो।
त्यति बेलाको समयमा नोटको चलन थिएन। चाँदीका सिक्का बोकिन्थ्यो। बुबाले मलाई चाँदीका तीन सय वटा सिक्का दिनुभएको थियो।
काठमाडौं प्रवेश गर्दा मकवानपुर गढीमा कडा चेक हुन्थ्यो। त्यो चेक गर्ने ठाउँमा कमिलाको ताँती जस्तो भरिया र बटुवा हुन्थे। त्यहाँबाट हिँडेपछि एकैचोटी कुलेखानीमा अलि ठूलो होटल थियो।
गढीबाट आउने त्यत्रा बटुवा र भरियालाई खाना पुर्याउथ्यो त्यो होटलले। त्यहाँ बास बसेर भोलिपल्ट थानकोटको चित्लाङ हुँदै काठमाडौं आउनुपर्थ्यो। घरबाट हिँडेको पाँच दिनमा नेपाल-भारत-नेपाल हुँदै बल्ल काठमाडौं टेकिन्थ्यो।
थानकोट आएपछि गाडी चढ्न पाइन्थ्यो। मैले पनि गाडी चढेर ठमेल आएर झरेँ। त्यतिबेलै काठमाडौंमा आफन्तले डेरा लिएका थिए। म त्यहि डेरामा बसेँ।
भारत हुँदै रेल र गाडी चढेर आउँदा पाँच दिन अनि हिँडेर पाल्पा जाँदा सात दिन लाग्थ्यो त्यतिबेला।
सुवेदारबाट सिडियोसम्म
काठमाडौं आएपछि त्रिचन्द्र क्याम्पसमा भर्ना हुने सोच बनाएँ। तर भर्ना साउनमा मात्र लिने रहेछ। त्यसपछि जागिर खाने निधो गरेँ। लोक सेवामा खरिदारको जाँच दिन लागि उमेर पुगेन अनि त्यो भन्दा तल्लो तहको बैदारमा जागिर खान फारम भरेँ।
लोकसेवा पढेर दिएको जाँचमा मैले दुई नम्बरमा नाम निकालेँ। त्यतिबेलाको बैदार त ठूलो नि। म त्यतिबेला कानून मन्त्रालय अन्तर्गतमा परेँ। यता त्रिचन्द्र कलेजमा पनि मेरो पढ्नका लागि नाम निस्कियो।
दश बज्न १५ मिनेट बाँकी हुँदा कक्षा छुट्थ्यो, त्यसपछि १० बजे त सिंहदरबार पुगिसक्नुपर्थ्यो। खाना खाने समयमा नै हुँदैनथ्यो। म बिहानै खाना खाएर कलेज जान्थेँ अनि त्यसैको भरमा अफिस।
त्यतिबेला चन्द्र बहादुर भन्ने न्यूरोडका सबैभन्दा कडा हाकिम थिए। १५ मिनेट ढिला भयो भने ढोकामा बस्थेँ। त्यसैको डरले पनि कर्मचारीहरू समयमा नै पुग्थेँ। म लामो समयसम्म सिंहदरबारमा जागिर खाँदा एक दिन पनि मेरो गयल भएन।
पढाइ र जागिर सँगसँगै गइरहेको थियो। तर, कठिन भने अवश्य थियो। त्यतिबेला एक दिनमा दुई वटा विषयको परीक्षा हुन्थ्यो। बीचमा एक घण्टा खाली समय दिइन्थ्यो। त्यसरी परीक्षा दिएर मैले ब्याचलर पनि राम्रै नम्बर ल्याएर पास गरेँ।
तीन महिनामा जागिर छोड्छु भनेर लोकसेवाको परीक्षा दिएर जागिर सुरु गरेको कसो-कसो गरेर एक वर्ष पुग्यो। मलाई जागिर किन छोड्नु परेन भने घर बिदा, के-के बिदाले गर्दा मलाई सहज भयो। यतिका बिदा पाएपछि के-को जागिर छोड्नु भने छोडिएन।
त्यसपछि मेरो सहकारी विभागमा सरुवा भयो। त्यहाँ मैले प्रशासनतर्फ हेर्थेँ। यसको लागि तालिम समेत लिनुपर्यो। यस विभागको कामका लागि स्वदेशमा मात्र नभएर विदेशमा पनि मैले तालिम लिने मौका पाएँ। कोलम प्लान अन्तर्गतको तालिमका लागि अयोध्या जाने मौका पाएँ।
त्यहाँ तालिम लिएपछि अडिट सेक्सन खुलाउनुपर्यो भन्ने कुरा भयो। त्यो मेरै पालामा पहिलो पटक खुलेको हो। त्यति बेलासम्म म शाखा अधिकृत भइसकेको थिएँ। यो २२ सालतिरको कुरा हो। विस्तारै म अडिट शाखाको प्रमुख पनि भएँ।
त्यो समयको अडिट रिपोर्ट भद्रगोल हुन्थ्यो। अडिट भन्ने चाहिँ खुल्थ्यो तर हिसाब भद्रगोल हुन्थ्यो। त्यति बेलाको अडिट अंग्रेजीमा लेखिएको थियो। मैले नै नेपालीमा उल्था गरेँ। त्यसमा पनि सहभागी भएँ। त्यतिबेला मैले मास्टर डिग्री भर्ना भइसकेको थिएँ।
त्यति नै बेला यसै विषयमा अमेरिका जाने मौका आयो। सरकारले मलाई अमेरिका पठायो मैले त्यहाँ अडिटको कोर्स नै गरेर फर्किए।
नेपालमा गाउँ पञ्चायतमा पनि अडिट नगरेर आर्थिक हिनामिना भयो भन्ने कुरा आयो। त्यसलाई पढाउनका लागि मैले नै कोर्स निकालेँ। त्यहि किताब बेचेको पैसाले मैले काठमाडौंमा एउटा टुक्रो घडेरी जोडेँ।
दुब्ला घोडा कहिल्यै चढिन
त्यतिबेला नेपालको यातायातको साधन भनेकै घोडा थियो। म घोडा चढ्न निकै सौखिन थिए। इसारा गर्दा घोडाले त्यहि अनुसार हिड्नुपर्ने हुन्छ। मैले त्यतिबेला सिंहदरबारका सबै घोडाहरू दौडाएको छु।
३२ सालमा म सिडियो भइसकेको थिएँ। यातायातका साधन नभएकाले सिडियोले घोडा चढ्नुपर्थ्यो। सिंहदरबारमा सिडियोहरूलाई घोडा सिकाउन थालियो।
त्यसको घोडा दौडाउन सिकाउने लिडर मलाई बनाइएको थियो। त्यतिबेला सिडियोहरू नउफ्रने, कुन चाहिँ दुब्लो पातलो छ त्यस्तो छान्थे। तर, म भने बलियो र दौडन सक्ने घोडा रोज्थेँ।
अहिले पनि मलाई सम्झना छ, त्यति बेलाको एउटा काली घोडा भन्ने थियो। हावा उडे जसरी बडकिन्थ्यो। मलाई समाल्न आछ्यु आछ्यु पार्थ्यो। तर, जति दौडिए पनि उसलाई रोक्ने इसारा गरेपछि रोकिन्थ्यो। मनाङमा सिडियो बनेर जाँदा त्यहाँका मानिसहरूसँग प्रतिष्पर्धा गर्थेँ म।
त्यहाँका मसुर घोडासँग मेरो घोडाले हिँड्न र दौडाउनमा प्रतिष्पर्धा गरेर हिड्थेँ। त्यतिबेला अहिलेको जस्तो गाडी सवार गर्नका लागि न गाडी थियो न बाटो। कि हिड्नुपर्ने कि घोडामा जानुपर्ने हुन्थ्यो। मैले लामै समय घोडा चढे।
पाल्पामा घोडा हिड्दा बाटो नपुगेर म चढेको घोडै लडेको थियो। त्यतिबेला म भिरमा अडिएर मात्र बाँचेको हुँ। त्यतिबेला नै मैले सहसचिव भएर अवकाश पाएको हुँ।
त्यतिबेला जलस्रोत मन्त्रालयमा मन्त्री र सचिव कोही नहुँदा सचिवको रूपमा काम गरेको थिएँ मैले। तर, त्यसको नियुक्ति चाहिँ दिएनन्।
सात महिनापछि सचिव हुने पालो थियो मेरो, तर गिरिजा प्रसाद कोइरालाले उनका मान्छे राख्न भन्दै नौ वर्षअघि नै मलाई अवकाश गराए। उमेरको हिसाबले पनि म अवकाश हुने थिइनँ त्यतिबेला।
पशुपतिका मान्छेले थर्काए
म दिपायल, पोखरा, विराटनगरपछि मध्यमाञ्चलको निर्देशक हुने अवसर पाए। मध्यमाञ्चलको निर्देशक भएर आएको भोलिपल्ट सिन्धुपाल्चोकका केही हुल केटाहरू मेरो अफिसमा आए।
उनीहरूले हामीलाई राजाले पठाएको भने। मलाई झनन रिस उठ्यो। कुन राजा भने। मेरो शब्दै यहि थियो। उनीहरूले पशुपति (पशुपतिशम्शेर जबरा) राजा भने।
उनले ‘१२ जनाले भने बमोजिमको सामान (जस्तापाता, पाइप, निर्माणका सामान) दिनु’ भनेर चिठी लेखेका रैछन्। मैले ‘दिन्न’ भने। ‘निर्देशकले दिँदैन रे’ भन्नु भनेर पठाइदिएँ।
पशुपति शम्शेरले पठाएको पत्रमा एउटा पनि दिन मिल्ने खाल्को सामान थिएन। उनीहरूले यसअघिका निर्देशकले सामान दिएको बताए। तर मैले दिन नमिल्ने भन्दै फर्काएपछि उनीहरू रिसाए।
त्यसपछि मैले उनीहरूलाई मन्त्रीलाई गएर सुनाइदिनु भनेँ। उनीहरूले केही प्रतिक्रिया दिएनन्। पछि त्यहि विषयलाई लिएर मन्त्रीले पनि बोलाएनन्।
मनाङको सिडियो हुँदा राजा विरेन्द्रसँग भेट
म मनाङको सिडियो भएर जाँदा धेरै राम्रो काम गर्ने मौका पाएको थिए। भौगोलिक कठिनताका बावजूत त्यहाँ विकास निर्माणका काम पनि भएका थिए। म मनाङमै हुँदा राजा विरेन्द्र वीरेन्द्र वीर बिक्रम शाहदेवको सवारी भयो।
विरेद्र सरकार आउनुअगावै मैले कुन ठाउँमा के गर्ने भनेर विकास निर्माणको योजना तयार पारेको थिएँ। अघिल्ला सिडियोको तुलनामा केही परिवर्तन पाएपछि राजा पनि खुसी हुनुभयो।
राजा आउनु केहि महिनाअघि नै मैले त्यहाँको नार्फु खोलामा स्थानीयलाई चामलको व्यवस्था गरेर बाटो बनाउन लगाए। त्यतिबेला त्यो बाटोको लागि डेढ लाख रूपैयाँ निकासा भएको थियो। जम्मा डेढ लाखले के हुन्थ्यो र? उनीहरूले झन्डै डेढ महिनामा नार्फु खोलामा बाटो बनाउने र २२ वटा पुल हाल्ने काम गरे।
राजाको पुष ६ गते सवारी हुन्छ भन्ने खबर आयो। यो करिब ३३ सालतिरको हो। मैले सबै गाउँलेको घरमा पुगेर कहाँ के आवश्यक छ भनेर बुझेको थिए। राजा आइसकेपछि प्रतिक्षालयबाट उठेर ढोकाबाट बाहिर नियाल्दै भने, ‘सिडियो तिम्रो विचारमा, मनाङको विकासको लागि तिम्रो विचारमा के गर्दा राम्रो हुन्छ?’
उनले ‘तिमीसँग केहि योजना छ त!’ भनेर सोधे। मैले ‘छ सरकार’ भने। मैले ‘सरकार आएपछि भन्छु भनेर अगाडि नै लेखेको थिएँ’ भनेर १० वटा योजना बुझाएँ। उनी निकै फुरुङ्ग भए। म राजाको नजरमा परेको थिएँ। त्यतिबेला श्रमदानको खुब प्रचलन रहेको थियो। राजाले श्रमदानबाट यसो गर्ने उसो गर्ने भनेर मलाई सुनाए।
तर मलाई राजाको कुरा चित्त बुझेन अनि सित्तैमा काम लगाउन नहुने बताए। त्यतिबेला राजाको हुकुम कसैले काट्न सक्दैनथे। मैले ‘भोलिका दिनमा श्रमका काम लगाएर यत्रो बाटो निर्माण त सकिँदैन, सरकारले सजाय दिए भोग्न तयार’ भन्ने हिसाबले जवाफ फर्काए।
‘सरकारले के गर्नुपर्छ त!’, उनले प्रश्न गरे। मैले यति पैसा भए काम अगाडि बढ्न नत्र सकिँदै भन्ने जवाफ दिएँ। मैले यसो भन्दा उनका छेउछाउ र एडिसीले मतिर आँखा फुलाएर हेरिरहेका थिए।
राजाले ‘कति चाहिन्छ’ भनेर सोधे। मैले यति चाहिन्छ भनेपछि फेरि सोधे, ‘किन यत्रो।’ मैले मनाङको ‘यो-यो भिर काट्नुपर्छ’ भने। त्यसपछि राजाले मेरो कुरामा तर्क भेटेछन् कि कसो माने। अनि मात्र मनाङ जाने बाटो बनेको हो।
साउन २४, २०८१ बिहीबार १४:५०:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।