लगानीकर्ताको चर्को आलोचनापछि सेयर बजारबारे दिएको आफ्नो अभिव्यक्ति सच्याए महतले!

लगानीकर्ताको चर्को आलोचनापछि सेयर बजारबारे दिएको आफ्नो अभिव्यक्ति सच्याए महतले!

काठमाडौं : सेयर बजारबारे नकारात्मक अभिव्यक्ति दिएका पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीकर्ताको चर्को आलोचनापछि आफ्नो अभिव्यक्ति सच्याएका छन्। 

बिहीबार संघीय संसदको अर्थ समितिमा नेपाल धितोपत्र बोर्डसँग भएको छलफलमा उनले आफूले सेयर बजार बढ्नहुन्न भन्ने आशय व्यक्त नगरेको भन्दै आफ्नो भनाइलाई तोडमोड गरिएको दाबी गरे।

'संसदमा मैले सेयर बजार बढ्न हुन्न भनेर भनेको होइन। केही संस्थाको सेयर मूल्य धेरै माथि पुगेकोले त्यो जस्टिफाई हुने आधार लगानीकर्ताले हेर्नुपर्छ मात्र भनेको हो,' उनले भने, 'बजारको नियामकले पनि स्वच्छ ढंगले कारोबार भएको छ कि छैन भन्ने विषय हेर्नुपर्छ।' 

गत सोमबार पूर्वअर्थमन्त्री महतले संसद बैठकमा सेयर बजार बढेकोप्रति नकारात्मक अभिव्यक्ति दिएपछि मंगलबार बजारमा भारी गिरावट आएको थियो। 

त्यसपछि उनीसहित सेयर बजारको नकारात्मक प्रतिक्रिया दिने स्वतन्त्र सांसद अमरेशकुमार सिंह र माओवादी सांसद लेखनाथ दाहाल राजनको लगानीकर्ताले आलोचना गरेका थिए। बुधबार जनरल इन्भेष्टमेष्टर एसोसियसन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, साधारण लगानीकर्ता संघ नेपालले संयुक्त विज्ञप्ति नै निकालेर आलोचना गरे।

त्यसपछि डा. महतले आफ्नो कुरा सच्याउँदै सेयर बजारप्रति निकै नरम रुपमा प्रस्तुत भए। 

उनले आफूले लगानीकर्ताको पक्षमा बोलेको र भोलिको दिनमा पनि लगानीकर्ताकै साथमा रहनेसमेत आश्वासन दिए। 

साउन २४, २०८१ बिहीबार १४:४९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।