खेलकुदमन्त्रीको प्रतिबद्धता 'खेल क्षेत्रका सबै विवाद एक महिनाभित्र समाधान हुन्छ'
काठमाडौं : चौथो महिला राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता सुरू भएको छ।
बिहीबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय तेक्वान्दो एकेडेमी हलमा खेलकुद मन्त्री तेजुलाल चौधरीले मन्त्रीले तेक्वान्दो प्रतियोगिताको उद्घाटन गरे।
त्यसक्रममा मन्त्री चौधरीले सरकारले एक महिना भित्रमा सबै खेल क्षेत्रमा रहेका विवादको समाधान गर्ने प्रतिवद्धता जनाए।
उनले भने, ‘तेक्वान्दो खेलकुद क्षेत्रको सबैभन्दा अनुशासित खेल हो। यसमा नियम र कानुन तोडियो भने विवाद सृजना हुन्छ। त्यसैले कानुन तोडिएको छ भने तपाईंहरू ढुक्क हुनुहोस्, केही महिना कुर्नु पर्दैन। कम्तीमा एक महिनाभित्रमा यी कुराहरू समाधान हुनसक्छ।’
प्रतियोगितामा तीनवटै विभागीय टिमलगायत सात वटा प्रदेशका महिला तेक्वान्दो खेलाडीहरूको सहभागिता रहनेछ।
प्रतियोगितामा ग्यरोगी (फाइट) र पुम्से (फर्म) विधा समावेश गरिएको छ, जसमा ४४५ जना खेलाडीहरूले सहभागिताका लागि नाम दर्ता गरेको संघले जनाएको छ। खेलाडीहरूले ५२ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिता शनिबारसम्म चल्नेछ।
साउन २४, २०८१ बिहीबार १४:२६:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।