धितोपत्र बोर्डका अध्यक्षले भने ‘बाठा खेलाडीले चलखेल गर्दा सेयर बजार उग्र’

धितोपत्र बोर्डका अध्यक्षले भने ‘बाठा खेलाडीले चलखेल गर्दा सेयर बजार उग्र’

काठमाडौँ : नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले पछिल्लो समय हल्लाले सेयर बजारको मूल्य निर्धारण भइरहेको बताएका छन्।

बिहीबार अर्थ समिति बैठकमा उनले कम्पनीको मूल्य उसको वित्तीय कारोबार र प्रतिफलमा हुनुपर्नेमा पछिल्लो समय हल्लाले बजारमा मूल्य निर्धारण भइरहेको बताएका हुन्।

नयाँ सरकार गठन भएसँगै सेयर बजार बढेर २८ सय हाराहारी पुगिसकेको छ। तर बजारको अवस्था स्थिर भने छैन। एकै दिन सय बढी बढ्ने अनि डेढ सयसम्म घट्ने भइरहेको छ। निश्चित कारणै नभए पनि कारोबार रकममा नयाँ-नयाँ रेकर्ड बसिरहेका छन्।

वित्तीय ज्ञान नभएका कारण बजारमा अस्थिरता भएको उनको दाबी थियो। देशका सबै क्षेत्रमा पुँजी बजार सम्बन्धी ज्ञान, अनुभव र शिक्षा पुर्याउन नसकिएको उनले स्विकारे।

उनले भने ‘यही कमजोरी केही टाठाबाठा खेलाडीले चलखेल गर्दा बजारले उग्र रूप लिने गरेको छ। धितो पत्र बोर्डले पुँजी बजारसम्बन्धी सूचना तथा जानकारीहरू सार्वजनिक गरिरहेको हुन्छ तर मिडियाको समाचार र बजारको हल्लाको पछि लाग्दा लगानीकर्ता डुब्ने खतरा हुन्छ।’

उनले समितिको बैठकमा कम्पनीको वास्तविक वित्तीय स्थिति हेरेर मात्र लगानी गर्न आग्रह गरेका थिए। 

साउन २३, २०८१ बिहीबार १३:४३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।